विजयपुर । धरानसहित नेपालका १२ ठूला सहरको खानेपानी र फोहोर मैला व्यवस्थापनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले काठमाडौँसहित देशका १२ वटा स्थानीय तहको खानेपानी तथा फोहोर मैला व्यवस्थापन गर्न डीपीआर तयार गर्ने गरी प्रारम्भिक अध्ययन सुरु गरेको हो । त्यसक्रममा विभागका प्रतिनिधिसहित परामर्शदाता कम्पनीका तर्फबाट प्रतिनिधिहरू धरान आइपुगेका छन् । धरान आइपुगेका टोलीहरू सप्तकोसी नदी आसपास पुगेर प्रारम्भिक अध्ययन गरेका छन् । यस टोलीले अध्ययनपश्चात् डीपीआर तयार गर्नेछ ।
विज्ञको समूहसहित आएको टोलीले प्रारम्भिक अध्ययन गरी फर्किएको छ । सोमबार खानेपानी तथा ढल व्यवस्थापन विभागका आयोजना प्रमुख बालमुकुन्द श्रेष्ठको नेतृत्वमा भारतीय परामर्शदातासहितको समूहले विभिन्न स्रोतहरूको प्रारम्भिक अध्ययन गरी फर्किएको हो ।
प्रमुख श्रेष्ठका अनुसार नेपालका १२ वटा सहरमध्ये धरान पनि प्राथमिकतामा परेको छ । उनका अनुसार पोखरा, वीरगञ्ज, जनकपुर, सौराहा, विराटनगर, धरानलगायत १२ वटा सहरको डीपीआर तयार गरी खानेपानी मन्त्रालयलाई बुझाउनु पर्नेछ । उनले भने, ‘१ वर्षभित्रमा डीपीआर तयार गरी खानेपानी मन्त्रालयमा बुझाउनु पर्छ ।’ प्रमुख श्रेष्ठले डीपीआर तयार गर्न अन्तर्राष्ट्रियस्तरमा ठेक्का आह्वान गरिएको र भारतको सरकारी परामर्शदाता नेवकोशले ठेक्का पाएको बताए ।

नेवकोशका प्रतिनिधिसहितको समूह प्रारम्भिक अध्ययनका लागि आएको उनले बताए । धरान उपमहानगर प्रमुख हर्कराज राईको प्रमुख चुनावी मुद्दा सप्तकोसीको पानी ल्याई धरानमा वितरण गर्ने रहेको थियो । समूह प्रारम्भिक अध्ययनका लागि सप्तकोसी पनि पुगेको हो । श्रेष्ठले भने, ‘सप्तकोसीको मात्रै होइन । अन्य स्रोत पनि खोजिन्छ ।’
पहिलो चरणको अध्ययनले सप्तकोसीदेखि खानेपानी ल्याउन सम्भव रहेको उनले बताए । उनले भने, ‘सम्भावना नहुने कुरा भएन । पैसा भएमा सम्भव छ, महँगो र सस्तो कुरा मात्रै हो ।’ विज्ञ समूहले परियोजना खानेपानीसँगै ढल तथा ठोस फोहोरमैला व्यवस्थापनका लागि पनि डीपीआर तयार गर्ने जनाएको छ ।
परियोजना प्रमुख श्रेष्ठका अनुसार शौचालयमा हुने दिसा, पिसाबको लेदो व्यवस्थापनको पनि अध्ययन गरिनेछ । त्यसैले समूहले धरानको फोहोर मैलाबाट जैविक ग्यास र मल उत्पादन गर्ने कम्पनी भेन्चर वेष्ट टु इनर्जीको पनि अवलोकन गरेको छ । अनुगमनमा प्रमुख श्रेष्ठले धरानको फोहोर व्यवस्थापन सह्रानीय कार्य भएको बताए । उनले भने, ‘सरकारी तवरबाट हुनुपर्ने हो । पब्लिक प्राइभेट पार्टनरसिप पनि राम्रो छ ।’
डीपीआर बुझाएपछि खानेपानी मन्त्रालयले प्राथमिकीकरण गर्नेछ । परियोजना एसियाली विकास बैङ्कको ऋणमा कार्यान्वयन गरिने छ । श्रेष्ठका अनुसार परियोजनामा पालिका पनि साझेदारका रूपमा रहनेछ । परियोजना सम्पन्न भएपछि पालिकालाई हस्तान्तरण गरिनेछ । उनले भने, ‘विभिन्न पक्ष हेरेर छनौट गरिन्छ । सुरुमा धरान पनि पर्न सक्छ ।’
परियोजना धरानमा परेमा हालको खानेपानी समस्यालाई सुधार पनि गरिने धरान खानेपानी बोर्डका निर्देशक राजु पोखरेलले बताए । उनले भने, ‘कार्यक्रम सुरु भयो । अब सर्वेको समूह आउँछ ।’ पहिलो चरणमा भौगोलिक अवस्थाहरू अवलोकन गरेर फर्किएको उनले बताए । समूहमा विशेषज्ञ एवम् सिनियर इञ्जिनियर डा. चेतबहादुर परियारले डीपीआर तयार भएपछि स्रोत व्यवस्थापन भएमा ३ वर्षभित्र पानी धरान पुर्याउन सकिने प्रतिक्रिया दिए । समूहमा भारतीय परामर्शदाता नेवकोशका राजीवकुमार शर्मा, इन्जिनियर सत्यान्दो प्रकाश रहेका थिए ।