विराटनगर । विराटनगर महानगरपालिका–१ गङ्गाचौकको सुकुम्बासी बस्तीमा सिङ्घीया खोला पस्दा ५० घर डुबानमा परेका छन् ।सोमबार रातिदेखिको अविरल वर्षाले बस्ती जलमग्न छ । मङ्गलबार दिउँसो समाचार सङ्कलनका लागि बस्तीमा पुग्दा सुकुम्बासीहरू आफ्नो ज्यान र घरका सामान कसरी जोगाउने भन्नेमै व्यस्त थिए ।
त्यही बस्तीका महेन्द्र सहनीले आफू उठ्नुअघि नै आफ्नो कोठामा खोला पसिसकेको बताए । खोलाको आडमै रहेको कोठा छेउबाटै उर्लिएको छ, खोला । ‘६ बजे उठ्दा कोठा पानीले भरिएको थियो । खुट्टा टेक्ने ठाउँ थिएन’–उनले दुःखेसो पोखे ।
डुबानमा परेपछि सहनी र उनको परिवार खाद्यान्न, ग्याँस र लत्ताकपडा बोकेर डुबान नहुने ठाउँतिर जाँदै थिए । ‘पानी सधैँ परेको हो । आज यति माथिसम्म आउला भन्ने सोचेका पनि थिएनौँ’ उनले भने, ‘घर डुबेको छ । यतिबेलासम्म खाना पकाएको छैन । भएभरको खाद्यसामग्री पनि डुबेको छ ।’
अब के खाएर भोक मेट्ने भन्ने चिन्ताले सताएको उनले बताए । ‘पकाउने सामानमा बाढी पसेको छ । अहिले पनि झरी परिरहेको छ’ उनले भने, ‘यो वर्षलाई बाँचियो ।’ ‘यहाँ नबसेर कहाँ जाऊँ ? सरकारले हामी सुकुम्बासीलाई केही गर्ने होइन । कसले हेर्छ हामीलाई ?’–सरकारलाई प्रश्न गर्दै थिए, उनी ।

विराटनगर–८ की तिलमाया भण्डारीको घर सिङ्घीया खोलाले तीन पटक बगाएपछि बिचल्लीमा परेकी छन् । खोलाले धार परिवर्तन गर्दै भण्डारीले बनाएको घर तीनपटक बगाएपछि बिचल्लीमा परेकी हुन् ।
अविरल वर्षासँगै आएको बाढीले सोमबार भण्डारीको घर बगाएको छ । यसअघि पनि २०७८ र २०७४ मा उनको घर बगाएको थियो । भण्डारीले आफ्नै नम्बरी जग्गामा खोलाभन्दा केही पर घर बनाएकी थिइन् । तर, २०७८ साल मङ्सिर १ गते आएको बाढीले पुनः उनको घर बगायो । उनले भाग्यले साथ नदिएको भन्दै तेस्रोपटक पनि नयाँ घर बनाइन् ।
१ वर्ष नबित्दै उनले त्यो घर पनि छाडेर हिँड्नुप¥यो । मङ्गलबारको अविरल वर्षासँगैको बाढीले उनको घर क्षतिग्रस्त बनाएको छ । ‘अहिले बनाएको नयाँ घरको आधा भाग पनि बगाइसक्यो । अहिले आफू सुरक्षित स्थान खेलाछेउको खुल्ला मैदानमा आएको छु’ उनले भनिन्, ‘अब कहाँ बस्ने भन्ने कुनै टुङ्गो छैन । बाढीले मलाई बिचल्ली बनाएको छ ।’
उनी विराटनगर–८ मा बस्दै आएको १५ वर्षभन्दा बढी भयो । उनले ३ जना सङ्घीय सांसद् र १ जना प्रदेश सांसद् तथा दुई जना मेयरलाई भोट हालेर जिताइन् । ‘मैले भोट हालेर सङ्घीयदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरूलाई जिताइसकेँ । भोट माग्न आउँदा उम्मेदवारहरूले सिङ्घीया खोलाको तटबन्ध निर्माण गरिदिन्छौं भन्ने गर्दछन्’ उनले भनिन्, ‘तर, जितेर गएका जनप्रतिनिधिले हामी सुकुम्बासीको मुद्दामा पटक्कै ध्यान दिएको पाइँदैन ।’
वर्षा सुरु हुनुभन्दा अगाडि खोलामा तटबन्ध निर्माण गरिदिएको भए आफू घरविहीन हुनुपर्ने अवस्था नआउने उनले बताइन् । विराटनगर–८ का मात्रै ४० परिवार विस्थापित भएका छन् । वडाध्यक्ष राम पोखरेलका अनुसार डुबानमा परेकालाई त्रिपाल टाँगेर अस्थायी रूपमा सुरक्षित स्थानमा राखिएको बताए ।
३ सय ३ घर डुबानमा
बाढीका कारण मोरङमा ३ सय ३ घर डुबानमा पर्दा १ हजार १ सय ७१ जना विस्थिापित भएका छन् । बाढीमा परी मोरङको सुन्दरहरैंचामा १ जनाको मृत्यु भएको छ ।
सुन्दरहरंैचा–६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुन्दरहरैंचा–६ कै ५८ वर्षीय रामबहादुर विक हुन् । उनलाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा फेला परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । विराटनगरका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ गएका छन् ।
विराटनगर महानगरपालिका–८ हाटखोलामा सिङ्घीया खोलाको बाढी पसेपछि २५ घर विस्थापित भएका छन् । वडा नम्बर–२ का २० घरमा पनि बाढी पसेपछि त्यहाँका ३३ जना स्थानीय पनि विस्थापित भएका छन् । विराटनगरको ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका घरहरू पनि जलमग्न भएका छन् । उनीहरूलाई प्रहरीले उद्धारगरिरहेको छ ।
यस्तै कटहरी गाउँपालिकाका १ सय ३० घर डुबानमा परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार कटहरी–१ स्थित टाइगरटोलमा सिङ्घीया खोलाको बाढी पस्दा ६० घर डुबानमा परी २ सय ५० जना विस्थापित भएका छन्् । यस्तै कटहरी–१ मै हनुमानमन्दिर क्षेत्रमा सिङ्घीया खोलाको बाढी पस्दा ४० घर डुबानमा पर्दा १ सय ७० जना विस्थापित, नारी विकास क्षेत्रको ३० घर डुबानमा पर्दा एक सय जना विस्थापित भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
जहदा १ र २ नं. वडास्थित राजवंशी चौकमा १ सय २० घर डुबानमा पर्दा ४ सय ५० जना विस्थापित भएको प्रहरीले जनाएको छ । ‘मङ्गलबारसम्म डुबानमा परेका घरपरिवारको यो रिपोर्ट प्रारम्भिक हो’ डिएसपी श्रेष्ठले भने, ‘मोरङका धेरै खोलाको बहाव बढेको छ । डुबान हुने घरको सङ्ख्या अझै बढनेछ ।’ बूढीगङ्गा–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमै बाढी पसेपछि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।