विजयपुर । धरान उपमहानगरपालिका–६ पानबारी स्थित सूचना टोल, सेहरा खोलाछेउमा सुकुम्बासी बस्ती छ ।

बस्तीमा निर्मला मगरको सानो छाप्रो छ ।  श्रीमान्सँगै त्यही छाप्रोमा बस्दै आएकी उनलाई वर्षायाम सुरु भएदेखि निन्द्रा लागेको छैन । लगातारको वर्षाका कारण सेहरा खोलामा बाढी आएर बगाउला कि भन्ने चिन्ताले उनी निदाउन नसकेकी हुन् । उनी भन्छिन्, ‘अहिले खोलामा बाढी आएको छ । राति निन्द्रा लाग्दैन । दिउँसो चाहिँ बाढीले बगाएर लगेपनि छिमेकीले देख्लान् भन्ने सोचेर सुत्छु ।’
उनले आफ्ना भएभरका सरसामान बाढीले बगाउने डरले आफन्तको घरमा सारेकी छन् । उनी भन्छिन्, ‘आधा जति त सुत्न अन्तै जान थालेका छन् । हामी त जाने ठाउँ छैन ।’

त्यस टोलमा शेरबहादुर परियार पनि बस्छन् । खोलाछेउमै घर भएका शेरबहादुर परियार पनि ३ दिनदेखि निदाउन नसकेको सुनाउँछन् । उनले आफू मात्र नभएर ८० वर्षीया आमा र परिवारका ८ सदस्य निदाउन नसकेको बताए । उनी भन्छन्, ‘३ दिनदेखि सुतेका छैनौँ । रातभर लाइट (टर्च) बालेर बस्छौँ ।’

निरन्तर वर्षा भएपछि बाढी आएर बगाउला कि भन्ने त्रासले उनीहरू नसुतेका हुन् । उनी रातभर टर्च बालेर खोला हेर्दै बस्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘अहिले दिनमा सुत्छौँ । राति भएपछि कतिबेला खोलाको बाढीसँगै बगिन्छ कि भन्ने चिन्ताले निन्द्रा लाग्दैन ।’

यस्तै धनबहादुर परियार पनि बाढी आउन थालेपछि निदाउन नसकेको सुनाउँछन् । उनी भन्छन्, ‘टर्चले हे¥यो, बस्यो ।’ उनीहरू प्रतिनिधि पात्र मात्रै हुन् । बस्तीका सबै घरपरिवार नै बाढी आएसँगै निदाउन सकेका छैनन् । बस्तीमा करिब १६ घरपरिवार बस्दै आएका छन् ।

स्थानीय शेरबहादुर परियार प्रहरी आएर सुरक्षित स्थानमा सर्न सुझाव दिएको बताउँछन् । उनी भन्छन्, ‘जाने ठाउँ पनि कहीँ छैन । आफन्तकोे घरमा पनि ठाउँ हुँदैन ।’  

उनी धेरै नेता, जनप्रतिनिधि आएर हेर्ने र जाने गरेको वर्षौं बिते पनि समस्या समाधान नभएको बताउँछन् । गतवर्ष दशैँको समयमा  बाढी बस्तीमा पसेको सम्झँदै उनी भन्छन्, ‘बच्नका लागि आफैले ६० हजार खर्च गरेर तार लगाएँ । तर, सबै लगाउन सकिनँ ।’ बस्तीवासी तारजाली लगाई सुरक्षित हुनका लागि सम्बन्धित निकाय समक्ष पनि नगएका होइनन् । उनी भन्छन्, ‘जनप्रतिनिधिदेखि  जिल्ला प्रशासनसम्म पुग्यौँ ।’

जिल्ला प्रशासनमा तार जाली छैन भनेर फर्काएको उनी सम्झिन्छन् । ‘कहिलेसम्म त्रासमा जीवन बिताउनु पर्ने हो ?’–उनी प्रश्न गर्छन् । यो समस्या सूचना बस्तीको मात्रै होइन, धरान उपमहानगरका सेउती, सर्दु र सेहरालगायतका खोलाछेउमा बस्ने सबैको साझा समस्या हो । धरान–६ पानबारीकै पोखरे खोलाछेउको माछापुछ्रे टोल र सुनौलो बस्तीका करिब २ सय ५० घर बाढीको उच्च जोखिममा रहेको स्थानीय विनोद विश्वकर्मा बताउँछन् ।

गतवर्ष धरान–५ देउरालीमा बाढी पस्दा ठूलो क्षति भएको थियो । बस्ती जोखिममा पर्दा पनि सम्बन्धित निकायले ध्यान नपु¥याउँदा बर्सेनि क्षति हुने गरेको छ । धरान–६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई बस्तीका नागरिकको सुरक्षाका लागि उपमहानगरलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि तदारुकता नदेखाएको बताउँछन् । उनी भन्छन्, ‘मेयर, कार्यकारी अधिकृत, सुरक्षा संयन्त्रलाई समेत ल्याएर देखाएँ ।’

उनी खोलाको गिट्टी, बालुवा झिक्ने बित्तिकै समस्या समाधान हुने बताउँछन् । उनी बस्तीका नागरिक समस्यामा परेमा सुरक्षित स्थानमा सार्ने बताउँछन् । अध्यक्ष भट्टराई भन्छन्, ‘विपद् आउनुभन्दा पहिले नै भनेको थिएँ तर, भएन । नागरिक बग्ने डर भयो ।’ उनी उपमहानगरले आफैलाई गर्न अनुमति दिए पनि गर्ने बताउँछन् ।

यता उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल जनप्रतिनिधिसहित सुरक्षा संयन्त्र र आफूले स्थलगत अवलोकन गरेको बताउँछन् । उनी भन्छन्, ‘च्यानलाइज नगरे सामुदायिक वन, खेतीयोग्य जमिन र घरटहरासमेत बाढीको जोखिममा छ ।’ उनले खोला च्यानलाइज गर्नका लागि विपद् व्यवस्थापन समितिबाट अनुमति लिनुपर्ने भएकाले स्वीकृतिका लागि पठाएको बताउँछन् । उनी भन्छन्, ‘खोला उत्खनन् त्यसै पनि विवादित विषय हो । वनक्षेत्र पनि भएकाले स्वीकृति आउने बित्तिकै  काम सुरु हुन्छ ।’

सेहरा खोलाको बाढी त सूचना बस्तीको मौसमी चिन्ता मात्रै हो । त्यहाँको दीर्घकालीन चिन्ताको विषय पनि उस्तै रहेका छन् । धरानजस्तो सुगम भनिने उपमहानगरमा यस्तो पनि बस्ती छ, जहाँ खानेपानी र बिजुली बत्ती केही पनि छैन । खानेपानी १ घण्टा टाढाबाट ल्याउनु पर्छ । शेरबहादुर भन्छन्, ‘सेउती पुलदेखि बोकेर पानी खाने गरेका छौँ ।’

स्थानीयले ट्याक्टरमा खानेपानी ल्याउने गरेका छन् । साथै, बस्तीमा बिजुली बत्ती पनि छैन । परियार भन्छन्, ‘सुनसरीको एक मात्रै अँध्यारो ठाउँ यही नै होला ।’ वडाध्यक्ष भट्टराई खानेपानी र विद्युत् व्यवस्थापन गर्ने बताउँछन् । उनका अनुसार खानेपानीका लागि २ दिनअघि मात्रै पाइप विस्तार गरिएको छ ।

dalit