इनरुवा । मङ्सिर ४ गते हुनलागेको निर्वाचनमा सुनसरीबाट सत्ता गठबन्धन दलका चर्चित नेताहरू उम्मेद्वार बन्ने अन्तिम तयारीमा छन् ।
४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुनसरीमा सत्ता गठबन्धन काङ्ग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदार र मीन विश्वकर्माको एकल नाम क्षेत्रीय कार्य समितिबाट सिफारिस भएको छ । यसैगरी सत्ता गठबन्धनभित्रकै जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक रार्ईको नामसमेत एकल रूपमा सिफारिस भएपछि दुवै नेता सुनसरीबाट चुनाव लड्ने तयारीमा छन् । यादव सुनसरी ४ बाट र राई सुनसरी १ बाट चुनाव लड्ने दाउमा छन् ।
सुनसरी १ बाट काङ्ग्रेसका नेता मीन विश्वकर्मा, क्षेत्र नम्बर ३ बाट नेता विजयकुमार गच्छदार र सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्ने लगभग पक्कापक्की भएको छ । सत्ता गठबन्धनको प्रतिस्पर्धामा रहेको नेकपा (एमाले)बाट समेत ३ जना हेभिवेट नेताहरू चुनावी मैदानमा उत्रने तयारीमा छन् । एमालेबाट प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य, प्रदेश १ सरकारका पूर्व उद्योग वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियत र पूर्व वन राज्यमन्त्री भगवती चौधरी मैदानमा उत्रने निश्चितप्रायः छ ।
आचार्य सुनसरी २, चौधरी सुनसरी ३ र कुसियत निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यतर्फ लड्ने तयारीमा छन् । जसमध्ये कुसियत र चौधरीको नाम एकल सिफारिस भैसकेको छ । एमाले स्थायी कमिटी सदस्य आचार्य सँगै सुनसरी क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, प्रभावशाली नेता खेमराज पोखरेल, रामप्रसाद चौंलागाईं र डम्बर सुवेदी प्रतिनिधिसभा सदस्यतर्फको सिफारिस सूचीमा छन् ।

सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालासँगै काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य राजीव ढुङ्गाना र प्रतिनिधिसभा सांसद् सीताराम मेहताको नाम सिफारिसमा परेको छ । सुनसरी क्षेत्र नम्बर ३ मा पुनः काङ्ग्रेस नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरीको चुनावी भिडन्त दोहोरिने सम्भावना प्रबल छ । गच्छदारसँग यसअघिका दुई निर्वाचनमा झिनो मतान्तरले हार भोगेकी चौधरी यस पटक भने काङ्ग्रेसभित्रको अन्तरकलह र गच्छदारको गुम्दो साखको लाभ उठाउने दाउमा छिन् ।
गच्छदारको नाम उम्मेदवारको रूपमा चर्चामा रहेको र स्वयम् गच्छदारले आफू नै उम्मेदवार हुने बताइरहँदा ललिता निवास प्रकरणको मुद्दा किनारा नलागेकाले उनी उम्मेदवार बन्न पाउने वा नपाउने भन्ने विषय टुङ्गो भने लागिसकेको छैन । यता सबैको चासोका रूपमा रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को भिडन्तलाई अन्य निर्वाचन क्षेत्रको दाँजोमा बढी चासोको रूपमा हेरिएको छ । सो क्षेत्रबाट नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की काङ्ग्रेसबाट प्रतिनिधिसभा सदस्यतर्फ चुनाव लड्दै छन् । पार्टी क्षेत्रीय कमिटीले सो क्षेत्रबाट उनको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । उक्त क्षेत्रबाट एमालेले समेत आफ्नो उम्मेदवारको नाम तय गरिसकेको छ ।
एमालेबाट जगदीशप्रसाद कुसियत उम्मेदवारको एकल सफारिसमा परेका छन् । सुनसरी ४ मा कार्की र कुसियतको चुनावी भिडन्त चासो र चर्चाको विषय बन्नसमेत थालिसकेको छ । एमालेका नेता कुसियत प्रदेश १ का पूर्व भौतिक तथा पूर्वाधार मन्त्री हुन् । कुसियत स्थानीय नेतासमेत हुन् । लामो समय सो क्षेत्रमा राजनैतिक पकड जमाएका कुसियत जातीय मतका साथै स्थानीयवासीका रूपमा समेत मजबुत मानिन्छन् । जसले गर्दा यस पटकको सुनसरी ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
कुसियत २०५६ सालको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट निर्वाचित भएका व्यक्ति हुन् । उनले सो बेला कोइराला नेतृत्वको मन्त्रिपरिषद्का तत्कालीन गृह राज्यमन्त्री काङ्ग्रेस नेता हरि सापकोटालाई पराजित गरेका थिए । यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचनमा कोइराला पुत्री सुजाता कोइरालालाई तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पराजित गरेका थिए ।
सो बेलामा समेत एमालेका नेता कुसियत यादवका मुख्य निकटतम् प्रतिस्पर्धी रहेका थिए । कार्की भने कोइराला परिवारको विरासत रहेको निर्वाचन क्षेत्र सम्हाल्न २०७४ सालमा भोजपुरबाट सुनसरी झरेका काङ्गे्रस नेता हुन् । अघिल्लो चुनावमा एमालेले कमजोर उम्मेदवार उठाएर कार्कीको जित सहज बनाएको राजनैतिक वृत्तमा चर्चा हुने गरेकोले समेत यस पटकको दुई हेभिवेट नेताको चुनावी प्रतिस्पर्धालाई चासोका रूपका हेरिएको छ ।
आन्तरिक किचलो, स्थानीय नेताहरूको महत्वकाङ्क्षा, गुटबन्दी, सिट बाँडफाँड र पार्टीभित्रको बढ्दो असन्तुष्टिसँगै अन्तर्घातको सम्भावना र अर्को पल्ट पुनः लड्न नपाउने भएकाले समेत कार्कीलाई आसन्न मङ्सिर ४ को निर्वाचन सोचे जत्तिको सहज नहुने राजनीतिकर्मीहरूको अनुमान छ । सुनसरीमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनभित्रैबाट एक–एक वटा प्रदेशसभा सांसद् भागबण्डामा पाउने बताइन्छ । जसपाले भने २ र ४ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ दाबी गरिरहेको छ ।