धरान । उनको अर्थात् धरान–१८ का इन्दु रसाइलीको नशा नशामा फुटबल बगेको छ । त्यसैले त धरानमा हुने साना तथा ठूला खेलहरू हेर्नमा उनको उपस्थिति अनिवार्य जस्तै हुन्छ । जीवनको उत्तराद्र्धमा पनि फुटबलप्रति यति मोह छ कि त्यसको प्रमाणका रूपमा धरान–१७ फोकल्यान्ड टापुस्थित दीपेन्द्र आधारभूत विद्यालयका साना नानीहरूलाई फुटबल प्रशिक्षण दिन्छन् ।
यो कार्य थालेको तीन वर्ष पुगिसकेको छ । बच्चाहरूलाई फुटबल प्रशिक्षण दिनु उनको सौखजस्तै हो । उमेरसँगै पूर्वोत्तर भारतको सिलिगुडी लिग खेल्ने क्रममा घाइते भएका कारण खेल्न सक्दैनन् । उनको फुटबल खेल्ने क्रम करिब ९ वर्षको हुँदा ताकादेखि नै हो । धरानको ब्रिटिस क्याम्पमा जन्मिएका उनी विदेशी गोरा र दाजुहरूले खेलेको देखेर फुटबलप्रति आकर्षित भए । त्यो आकर्षणले अहिले पनि छाडेको छैन उनलाई । विगत सम्झँदै उनी भन्छन्, ‘९–१० वर्षको उमेरदेखि नै खेल्न थालेँ । ब्रिटिस कोलेनीमा मेरो जन्म भयो । दाइहरू, गोरेहरू खेलेको देखेर खेल्न थालियो ।’ बाल्यावस्थादेखि नै सुरु गरेको फुटबल निरन्तर ३२ वर्षसम्म खेलेँ । उनले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका थुप्रै खेल खेले । तीन वर्ष देशका लागि खेले ।
क्यासेटबाट ब्राजिलियन फरवार्ड पेलेको खेलहरू हेरेका उनले उमेर सँगसँगै खेलमा निखारपन ल्याए । त्यसबेलाका उम्दा खेलाडी इन्दु आफू डिफेन्स लाइनका खेलाडी भए पनि फरवार्ड लाइनका खेलाडीहरूको खेल कौशलबाट प्रभावित थिए । उनी भन्छन्, ‘म चाहिँ डिफेन्स लाइनको खेलाडी हुँ तर, मैले फरवार्ड लाइनका खेलाडीहरू मन पराएँ ।’ तत्कालीन समयमा विदेशी खेलाडीहरूमा ब्राजिलका जिको, इङ्ल्यान्डका ग्यारी लिनिकार र अर्जेन्टिनाका म्याराडोनाका खेलहरूबाट प्रभावित थिए । पेलेको खेलबाट निकै प्रभावित उनी भन्छन्, ‘सटिक पास, गोल गर्ने मेसिनजस्तै लाग्थ्यो पेले ।’ व्यक्तिगत प्रतिभा हुनुपर्ने फुटबल युगबाट हुर्किएका उनी आफ्नो उमेरमा जस्तोसुकै खेल पनि जित्न सक्छु भन्ने खुबी राख्थे । अझ धरानका विलियम राई टिममा भैदिए त ९० प्रतिशत खेल जित्ने आशा हुने उनी बताउँछन् । ‘उहाँ हुँदा चाहिँ ९० प्रतिशत होप हुन्थ्यो । हारिन्छजस्तो कहिल्यै नलाग्ने । उहाँमा एउटा खुबी थियो । बल हत्तपत्त नबिगार्ने, बिगारे पनि खोसिकन छाड्ने । जुनियरहरूलाई जितिन्छ भनेर जहिल्यै हौसला दिनुहुन्थ्यो ।’
सुरुवाती चरण
फुटबलप्रति उनको लत यसरी बस्यो कि त्यसलाई छाड्नै नसक्ने । सुरुवाती चरणमा धरानको टेम्के क्लबबाट खेल्न थाले । त्यो बेला टेम्के क्लब धरानको चर्चितमध्येको एक थियो । त्यो टिम चक्रघट्टी, झुम्का, गछियासम्म पुग्थ्यो । उनी त्यही क्लबमा रहेर पहिलो पटक चक्रघट्टी खेल्न पुगेका थिए । त्यसपछि खेलहरू बाक्लिन थाले । खेल कौशलहरू थपिँदै गए । २०४१ सालमा अन्तर नगरपञ्चायतव्यापी प्रतियोगितामा धरानको टिमबाट विराटनगर जाने अवसर मिल्यो । प्रत्येक दुई–दुई वर्षमा हुने उक्त प्रतियोगितामा धरान फाइनलसम्म पुग्यो । तर, दुर्भाग्य धरान उपविजेतामा सीमित भयो ।
उनी भन्छन्, ‘हाम्रो गोलकिपरको गल्तीले गर्दा हामी दोस्रो हुन पुग्यौँ । हाम्रो टिमको गोलकिपर कमल सिंह थिए । ३५ यार्डबाट हानेको बल हाम्रो किपरले भेउ नै पाउन सकेनन् । त्यो बल अहिले पनि मेरो आँखामा झल्झली याद आउँछ ।’ धरान उपविजेता बन्दा हेटौंडा नगर पञ्चायतले उपाधि जितेको उनी सम्झन्छन् । त्यसपश्चात् हेटांैडामा ब्रिटिस टिमबाट खेल्ने अवसर पाए । त्यो खेलकै कारण प्रशिक्षकको ‘नोटिस’ मा परेका उनको लागि जीवनको यु–टर्न बन्यो । त्यो खेलले उनलाई जनकपुर चुरोट कारखानाको टिमले आमन्त्रण ग¥यो । २०४२ सालमा उनी जनकपुर चुरोट कारखानाको टिमबाट खेल्न थाले ।
राष्ट्रिय टिममा प्रवेश
जनकपुर चुरोट कारखानाको टिमबाट खेल्न पाउनु उनको लागि अहोभाग्य बनिदियो । ‘त्यो टिमबाट खेल्न पाउनु आफूलाई संसारको भाग्यमानी ठानेँ’ उनी सुनाउँछन्, ‘लगत्तै ओके गरिदिएँ ।’ सरकार मातहतको टिमबाट खेल्न पाउँदा आफूलाई थप निखार्ने मौका पाएको उनी सुनाउँछन् । त्यो बेला दैनिक १४ रुपैयाँ ज्यालामा व्यावसायिक फुटबलको सुरुवात गरेको उनी स्मरण गर्छन् । ‘त्योभन्दा अगाडि त सौखकै लागि फुटबल खेलिन्थ्यो, तर त्यहाँ खेलाडीका रूपमा दैनिक १४ रुपैयाँ पाइन्थ्यो’ उनले भने, ‘काम नै खेल्ने भएपछि औधी खुसी थिएँ ।’
जनकपुर चुरोट कारखानाको टिमबाट खेल्दा नै उनी राष्ट्रिय टिममा पनि छनोटमा परे । त्यो बेला जनकपुर चुरोट काराखानाको टिमले नेपालमा मात्रै हैन, भारत, भुटानसम्म आफ्नो दबदबा कायम गरेको थियो । उनी रहँदा जनकपुर चुरोट कारखानाको टिमले तेस्रो राष्ट्रिय खेलकुदमा पहिलो भएको थियो । ‘त्यस बेला अञ्चलस्तरीय फुटबल खेलाउने चलन थियो । जनकपुर पहिलो भएको थियो’–उनी सम्झन्छन् ।
१८ वर्षका लक्का जवान र उचाइले पनि साथ दिएकाले उनी प्रशिक्षकहरूको नजरमा चाँडै परे । तत्कालीन राष्ट्रिय टिमका प्रशिक्षक भीम थापाले उनलाई बोलाए । तत्कालीन समयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फा कप खेलाउने गरेको उनी बताउँछन् । त्यो सातौँ एन्फा कप थियो । जहाँ विदेशी टिमहरूसहित नेपालका दुई टिम नेपाल रातो र नेपाल निलो भन्ने खेल्ने गरेको थियो । उनी पहिलोचोटी नै रातो टिममा परे ।
रातोमा ‘ए’ डिभिजन खेल्ने खेलाडीहरूको बाहुल्यता हुन्थ्यो भने निलोमा ‘बी’ डिभिजन खेल्ने खेलाडीहरू हुन्थे । उनी जनकपुर चुरोट कारखानाबाट भुटानको फुञ्चोलिङमा खेले । जहाँ भारत कोलकत्ताको जर्ज टेलिग्राफविरुद्ध खेलेका थिए । तर, दुःखद् त्यहाँ पनि जनकपुर चुरोट कारखाना उपविजेतामा सीमित भयो । २०४३ सालमा विराटनगरमा महेन्द्र गोल्डकपमा भने जनकपुर चुरोट कारखाना विजेता बन्यो । मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा हराउँदा उनले पनि गोल गरेका थिए ।
‘त्यो गोल गरेको क्षण अहिले पनि भुल्न सक्दिनँ, किनकि जीवनमा पहिलो चोटी ठूला प्रतियोगितामा गोल गरेको थिएँ’ उनले भने, ‘त्यो बेला अहिलेको जस्तो डिफेन्स लाइनका खेलाडी अगाडि जाने चलन थिएन । सायद शैली नै त्यस्तो थियो होला त्यो बेला ।’ त्यही बेला उनले बेस्ट प्लेयरको टाइटल पनि जितेका थिए ।
फुटबलमा भुल्न नसक्ने क्षण
२०४४ सालमा जनकपुर चुरोट कारखाना र बङ्गलादेशको मुक्ति जुदा क्लबबीच भिडन्त हुँदै थियो । त्रिभुवन च्यालेन्ज रनिङ शिल्ड फुटबल प्रतियोगिता रहेको उक्त खेल हेर्न दर्शकहरू खचाखच दशरथ रङ्गशालामा थिए । उनको अनुमानमा करिब २५–२६ हजारको हाराहारीमा दर्शकहरू थिए होलान् । क्लबस्तरीय खेल भए पनि नेपाल र बङ्गलादेशबीचको खेलका रूपमा बुझेका थिए । दर्शकले जनकपुर चुरोट कारखानालाई भरपूर साथ समर्थन जनाइरहेका थिए । ‘खेल करिब २२–२३ मिनेटमा पुगिरहेका बेला मेरो कमजोरीले गर्दा हामीले गोल खान पुग्यौँ’ उनले भने, ‘त्यो टाइममा एटेकिङ डिफेन्समा थिएँ । देब्रे खुट्टाले बल प्रहार गर्दा राम्ररी बल क्लियर भएन । फलतः बङ्गलादेशका फरवार्डले गोल पाए र गोल गरे ।’
खेल चल्दै थियो करिब २८ मिनेट पुग्दा एक्कासि आकाश कालो निलो आँधीबेहरी सुरु भई असिना पानी पर्न थालेको उनी बताउँछन् । उनका अनुसार जीवनमा पहिलो पटक त्यति ठूला–ठूला असिना देखेका थिए । रेफ्रीले खेल स्थगित गरे । ‘दर्शकहरूमा भागदौड मच्चिएछ, भागदौड मच्चिँदा सबै दर्शकहरू दक्षिणतिरको ढोका खुल्ला छ भन्ने लागेर त्यहाँ जाने हुँदा ४४ जना दर्शकहरू चेपिएर मरे’ उनी भन्छन्, ‘त्यो फुटबलको लागि कालो दिनका रूपमा रहेको छ । सामान्य ज्ञानहरूमै पनि प्रश्न सोध्ने गरिन्छ । त्यो दिन अहिले पनि भुल्न सक्दिनँ ।’
अरब बसाइ
जनकपुर चुरोट कारखानामा तीन वर्ष बसेपछि २०४५ सालमा एउटा सपना बोकेर उनी बहराइन हानिए । बहराइनमा गएर आफ्नो खेल कौशल देखाई त्यहीँको क्लबबाट खेल्ने मनसायले पुगेका उनको सपना चकनाचुर भयो । त्यहाँबाट लगत्तै उम्कन सकेनन् । २७ महिनाको बसाइपछि फेरि धरान आए । जुन बेला उनी बहराइन हानिए त्यो बेला पञ्चायत रजत जयन्तीको अवसरमा एन्फाले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिरहेको थियो । उनी टिमको प्लेइङ सेटमा पनि परेका थिए । तर, ती सबै कुरा माया मारेर बहराइन हानिए । तर, भनेजस्तो नभएपछि फर्किएर फेरि जनकपुर चुरोट कारखानामा एक वर्ष ‘परिवर्तित खेलाडी’ का रूपमा उनलाई अवसर दिइयो ।
त्यसपछि धरान आए । धरानमा किशोर राईका कारण उनी पूर्वोत्तर भारतको सिलिगुडी लिग खेल्न गए । लिग खेल्ने क्रममा घुँडामा चोट लागी घाइते हुन पुगे । फलतः केही समय विश्राम लिए । फेरि केही ठीक भएपछि धरानमा पहिलो पटक सुरु भएको गोधुली फुटबल प्रतियोगितामा सहभागी भएपश्चात् लगभग फुटबल जीवनबाट विश्राम लिए ।
६ वर्ष रेफ्री
फुटबललाई कहिल्यै माया मार्न नसकेकै कारण उनी ६ वर्ष रेफ्री भएर स्थानीय खेलहरू खेलाए । त्यसो त उनलाई फिफा रेफ्रीको अवसर नआएको होइन । तर, घुँडाको समस्याका कारण उनले त्यो अवसरलाई त्यागिदिए । ‘फिफा रेफ्रीका लागि कल आएको थियो । सक्दिनँ भनेँ’–उनी भन्छन् । त्यसपश्चात् २०५६ सालमा प्रशिक्षकका लागि एएफसीको सी लाइसेन्स लिए । २१ दिने तालिमपश्चात् लाइसेन्स प्राप्त गरी एन्फा एकेडेमीका लागि २०५७ देखि २०६८ सालसम्म प्रशिक्षकको भूमिकामा रहे । त्यहाँबाट उनले बिदा लिएपश्चात् तीन वर्षयता दीपेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क प्रशिक्षण गराउँछन् भने पार्ट टाइमका रूपमा दिल्ली पब्लिक स्कुलका बच्चालाई फुटबल सिकाउँछन् ।
नेपालको फुटबल राजनीतिले बिग्रियो
राष्ट्रिय खेलाडी भइसकेका इन्दु रसाइलीको एउटै गुनासो छ–नेपालको फुटबल राजनीतिका कारणले बिग्रिएको छ । उनका अनुसार फुटबलको विकास राजनीतिकै कारणले हुन सकेको छैन । उनी भन्छन्, ‘फुटबलको प्रगति हुनका लागि खेलाडी राम्रो हुनुपर्छ र म्यानेजमेन्टमा पनि फुटबलका निम्ति गर्छु भन्ने स्वच्छ भावना भएको मान्छे आउनुपर्छ ।’ फुटबलमा लागेका राष्ट्रिय खेलाडीहरूलाई सरकारले उचित व्यवस्था गर्ने हो भने मात्रै नेपालको फुटबलको विकास हुने उनको बुझाइ छ । उनी भन्छन्, ‘पञ्चायतकालमा फुटबल खेल्ने राष्ट्रिय खेलाडीलाई छानी छानी सरकारी जागिर दिइन्थ्यो । तर, अहिले के छ र ?’