धरान । अर्जेन्टिनाले ३६ वर्षको खडेरीको अन्त्य मात्रै गरेको छैन, लियोनल मेस्सीले आफूलाई सर्वकालीन महान् खेलाडीका रूपमा प्रमाणित पनि गरेका छन् ।

ब्राजिलियन खेलाडी पेले र अर्जेन्टिनी खेलाडी म्याराडोनालाई सर्वकालीन महान् खेलाडीका रूपमा लिइन्छ । त्यो विशेषणबाट मेस्सीले पनि आफ्नो नाम लेखाएका छन् । कतारमा आइतबार राति सम्पन्न फाइनल खेलमा यसअघिको विश्वविजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै अर्जेन्टिनाले ३६ वर्षको खडेरी अन्त्य गरेको हो ।

सन् १९८६ मा दोस्रो पटक अर्जेन्टिनाले उपाधि जितेको थियो । त्यसयता सन् २०१४ को फाइनलमा पुगेर पनि पराजित बनेको अर्जेन्टिनाले यसपटक विश्वकपमा ह्याट्रिक पूरा गरेको छ । तर, मेसीका लागि सर्वकालीन खेलाडी बन्नका लागि १ सय २० मिनेट पर्खिनु प¥यो । निर्धारित खेल समयसम्म २–२ गोलको बराबरीमा रोकिएपछि थपिएको अतिरिक्त समयमा ३–३ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

कतारको लुसेल रङ्गशालामा सम्पन्न खेलमा लियोनल मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत् खाता खोले । पेनाल्टी बक्समा एन्जल डी मारियालाई लडाएपछि खेलमा रेफ्रीले पेनाल्टीको अवसर दिएका थिए । उक्त पेनाल्टीलाई लियोनल मेस्सीले खेर फालेनन् ।

फ्रान्सका गोलरक्षकलाई विपरीत दिशामा लडाउँदै गोल गर्न सफल भए । उनको गोल लगत्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले देशका लागि दोस्रो गोल गरे । उनले पासलाई सदुपयोग गरेका थिए । यता फ्रान्सले खेलको ८० औँ मिनेटमा मात्रै गोल गर्ने अवसर पाएको थियो । खेलमा पेनाल्टी डिबक्समा लडाएपछि एमबाप्पेले गरेको पेनाल्टी प्रहारबाट अग्रता घटाएको थियो । एक मिनेट नबित्दै पाएको भली बललाई एमबाप्पले गोल गरे ।

निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयको १ सय ९ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जितउन्मुख गराएका थिए । तर, खेलको १ सय १८ औं मिनेटमा पाएको पेनाल्टीलाई एमबाप्पेले पुनः सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए । त्यो बलसँगै फाइनल खेलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

मेस्सीले पाए गोल्डेन बल
गोल्डेन बलको उपाधि अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई प्रदान गरिएको छ । प्रतियोगिताभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन बल दिइँदै आएको छ । प्रतियोगितामा एमबाप्पेलाई पनि दाबेदारको रूपमा हेरिएको थियो । किनकि फाइनलमा ह्याट्रिक पूरा गरेका थिए । तर, उपाधि गुमाउन पुग्दा गोल्डेन बलको उपाधि हात पार्न सकेनन् । सन् २०१४ मा मेस्सीले गोल्डेन बल प्राप्त गरेका थिए ।

एम्बाप्पेलाई गोल्डेन बुट
मेस्सीलाई उछिन्दै एमबाप्पेले गोल्डेन बुट प्राप्त गरेका छन् । दुई मिनेटको अवधिमै जादूमयी खेल प्रदर्शन गर्दै एमबाप्पेले गोल्डेन बुट पाएका हुन् । खेलको ८० औं मिनेटसम्म गोल गर्न नसकेको फ्रान्सले ८० औँ मिनेटमा पाएको पेनाल्टीमार्फत् एमबाप्पेले पहिलो गोल गर्दै मेस्सीसँग बराबरी गरेका थिए । एक मिनेट नबित्दै पाएको भली बललाई पोष्टको दिशा दिए ।

तर, मेस्सीले खेलको १ सय ९ औं मिनेटमा गोल गर्दै बाधक बनेका थिए । तर, १ सय १८ औँ मिनेटमा गरेको पेनाल्टी प्रहारको अवसर नै गोल्डेन बुटका लागि काफी रह्यो । फाइनल खेल अवधिसम्म मेस्सी र एमबाप्पेको ५–५ गोलको अवस्था रहेको थियो तर, असिस्टका आधारमा मेस्सी अग्रपङ्क्तिमा थिए । एमबाप्पेले २ वटा असिस्ट गर्दा मेस्सीको तीनवटा असिस्ट रहेको थियो ।

अर्जेन्टिनी गोलरक्षकले पाए गोल्डेन ग्लोभ
फाइनलको टाइब्रेकरमा एउटा बल रोक्दै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभको अवार्ड प्राप्त गरेका छन् । विश्वकपमा सबैभन्दा उच्च प्रदर्शन गर्ने गोलरक्षकलाई यो पुरस्कार वितरण गरिँदै आएको छ । मोरक्कोका खेलाडी पनि यसका लागि दाबेदार रहेका थिए ।

इङ्ल्यान्ड बन्यो फिफा अनुशासित टिम
एउटा मात्रै पहेँलो कार्ड पाएको इङ्ल्यान्डले अनुशासित टिम बनेको छ । दोस्रो चरणमा प्रवेश गर्ने टिमलाई प्रदान गरिँदै आएको यो ट्रफी इङ्ल्यान्डले जित्न सफल भएको फ्रान्सविरुद्धको खेलमा इङ्ल्यान्डका हेरी मागयुरले ९० औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

मेस्सीको त्यो सन्यास
सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि लिएको सन्यासलाई मेस्सीले जीवित राखेको भए, आज उनी सर्वकालीन महान् खेलाडी हुने अवसर प्राप्त गर्ने थिएनन् ।

मेस्सीले फाइनलमा टाइब्रेकरमा गोल गर्नबाट चुकेसँगै निराश बनी अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए । त्यो सन्यास झण्डै दुई महिनासम्म रह्यो । तर, फुटबल फ्यान, अर्जेन्टिनी राष्ट्रपति र राष्ट्रिय प्रशिक्षक इडगार्डो बौजाले लिएको पहलकदमीका कारण कतारको विश्वकपसम्मको यात्रालाई जीवित राखे । फलतः आज उनी विश्वकप विजेता मात्रै बनेनन्, म्याराडोनाको सपनालाई साकार बनाए । म्याराडोना मेस्सीले विश्वकप जितेको हेर्न चाहन्थे ।

उनले राष्ट्रिय टिममा फर्किने घोषणा नै उनको लागि महान् खेलाडी बन्ने अवसर बन्यो । मेस्सीले सन्यास फिर्ता लिएलगत्तै विश्वकपको छनौट खेलमा सेप्टेम्बर महिनामा उरुग्वे र भेनेजुएलाविरुद्धको खेल खेलेका थिए । तत्कालीन समयमा मेस्सीले भनेका थिए, ‘फाइनलको रात मेरो मनमा धेरै कुरा खेल्यो र सन्यासबारे गम्भीर रूपमा सोचेँ ।

तर, मेरो देश र मेरो जर्सीप्रति प्रेम छ ।’ तत्कालीन समयमा उनले देशका लागि १ सय ३३ खेल खेल्दै ५५ गोल गरिसकेका थिए । मेस्सीले सन् २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाएका थिए । यो नै तत्कालीन समयको सबैभन्दा ठूलो उपाधि थियो । तर, मेस्सीकै कप्तानीमा कोपा अमेरिका पनि जितिसकेको छ । मेस्सीले सन् २००५ देखि राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।