भद्रपुर ।  झापा फुटबलको उर्वर भूमि हो । जसमध्ये सदरमुकाम भद्रपुर राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो पनि हो । जिल्लाको सबैभन्दा पुरानो, व्यवस्थित, देशका चर्चित र सफल खेलाडीहरूको प्रारम्भिक खेल मैदान हो मेची रङ्गशाला । 

विगत १८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरू आयोजना हुन नसक्दा मेची रङ्गशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न सकिएको थिएन । रङ्गशाला मात्र नभएर अन्य खेलसँगै फुटबल खेललाई नै जीवनको अभिन्न अङ्ग मानेर खेल जगत्मा होमिएका खेलाडी पलायन हुँदै आइरहेको अवस्था थियो । यही आउँदो फागुन ७ देखि १६ गतेसम्म आयोजना हुन लागेको भद्रपुर झापा गोल्डकपले एक पटक खेलाडी र प्रशिक्षकलाई राहत मिल्ने भएको छ । अन्य खेलसहित फुटबल खेलमा पनि झापामा स्थानीयदेखि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियसम्म खेलाडीले सहभागिता जनाइसकेका छन् । 

सम्पन्न हुन लागेको गोल्डकपले खेलाडीसहित मेची रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरसम्म पहिचान बनाउने मौका मिलेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । मेची रङ्गशालामा अभ्यास गरेका हरि खड्का, युगलकिशोर राई, अनिल सुब्बा, पर्वत पाण्डे, प्रवेश कटवाल, कर्ण लिम्बू, रेजिन सुब्बा, रोहित सुब्बा, गम्भीर राईले अन्तर्राष्ट्रियस्तरमा भाग लिइसकेको जानकारी दिए । राष्ट्रियस्तरमा २ सयभन्दा बढी खेलाडीले भाग लिइसकेको उनले बताए । भद्रपुरले खेलाडी हुँदै प्रशिक्षकसमेत उत्पादन गरिसकेको उनले जनाए । यो खेलले नयाँ खेलप्रेमीलाई थप हौसला मिल्ने उनले जनाए ।

यस्ता खेलाडीहरूलाई यो प्रतियोगितामा सम्मानसमेत गरिने विषयमा छलफल भइरहेको उनको भनाइ छ । खेलसँगै व्यापार–व्यवसाय, यातायातलगायतका क्षेत्रमा टेवा पुग्ने उनको भनाइ छ । खेलाडीलाई जोगाइराख्न भद्रपुरमा फुटबल खेल अनिवार्य रहेको साथै रङ्गशालाको स्तरोन्नति सुरु भइसकेको उनले जानकारी दिए । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी रङ्गशालामा झार रोप्ने र माटोको सतह मिलाउने काम भइरहेको उनले जनाए । खेल सम्पन्न गर्नका लागि विराटनगर, काठमाडौँ, नवलपरासीसम्म सहयोग रकम सङ्कलनका लागि टोली खटिँदै आएको उनले बताए ।

 धेरै वर्षपछि मेची रङ्गशालामा हुन लागेको फुटबल खेलले समग्र खेलाडीलाई उत्प्रेरणा मिल्ने झापा फुटबल सङ्घका अध्यक्ष भगीरथ आलेले बताए । वरिष्ठ पूर्व प्रशिक्षक समेत रहेका आलेले भद्रपुर नगरपालिकासहित झापाका उद्योगी, व्यवसायी, खेलप्रेमी उत्साहका साथ लागेका कारण खेलजगत्मा नयाँ आयम देखिएको उनले जनाए । मरिसकेको फुटबल खेललाई भद्रपुरले जीवित राख्न लागेकोमा खुसी लागेको अन्तर्राष्ट्रिय फुटबल खेलाडी कर्ण लिम्बूले बताए । मेची रङ्गशालामा अभ्यास गरेर अन्तर्राष्ट्रिय खेलमा तीन पटक भाग लिइसकेको हुँदा अहिले घरछेउमै यति ठूलो प्रतियोगिता हुने जानकारीले खेलाडीलगायत खेलपे्रमीमाथि आशाको दियो जागेको उनले बताए । नेपाल सरकारका जुनसुकै तहले भए पनि वर्षमा धेरै महिना विभिन्न खेलको आयोजना गरिरहन उनले सुझाव दिए । समय समयमा खेलकुदलाई निरन्तरता दिन उनले अनुरोध गरेका छन् । स्थानीय खेलाडीलाई प्राथमिकतामा राखेर मात्र बाहिरी खेलाडी ल्याउनु पर्ने उनको सुझाव थियो ।

मेची रङ्गशालामा अनुमानित १ करोड ५० लाख रुपैयाँको लागतमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुँदै छ ।  उक्त रकम प्रारम्भिक खर्च अनुमान गरिएको आयोजकले जनाएको छ  । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० सँगको छलफलपछि मिति तय भएर खेल सञ्चालनको टुङ्गो लागेको हो । यो पहिलो संस्करण हो । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रूपमा भइरहेको छ । त्यस्तै, प्यारापिट र भवनको रङ्गरोगन कार्य पनि सुरु भएको छ । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रूपमा रहेको झापाको पुरानो मेची रङ्शालालाई पुनर्जीवन दिन र पलायन हुँदै गइरहेका खेलाडीलाई उत्प्रेरणा जगाउन गोल्डकप आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए । यो पहिलो संस्करण भएकोले अब यसलाई निरन्तरता दिइने उनले जनाए । यो अवस्थाले गर्दा फुटबल खेलाडीको समेत खेल क्षमतामा वृद्धि हुने उनको धारणा छ । त्यस्तै जिल्लालाई फुटबलको हबको रूपमा विकास गराउन भद्रपुर झापा गोल्डकप अनिवार्य रहेको उनले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरूसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहने उनले जनाए । खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए । नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको भद्रपुर गोल्डकपलाई निरन्तरता दिइने उनले बताए । गोल्डकपले फुटबल खेलाडीलाई उत्साहित बनाउने उनको भनाइ छ । यस्ता खेलाडीलाई स्थानीय तथा राज्यले संरक्षण गर्नु आवश्यक रहेको उनले बताए । भद्रपुर क्षेत्रमा हरि खड्का, युगलकिशोर राई, अनिल लिम्बू, गम्भीर राईलगायतका खेलाडी उत्पादन भइसकेकोले आउने नयाँ पिँढीलाई समेत हौसला मिल्ने उनले बताए । 

प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ । त्यस्तै, प्रतियागिताभरिको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख एक हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ । यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताए । ढकालका अनुसार भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थीलाई खेल हेर्न टिकट लाग्ने छैन । त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिए ।