विजयपुर । सङ्घीय सरकारको मन्त्रिपरिषद् विस्तार भएसँगै प्रदेश १ बाट ६ जनाले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार विस्तार गरेको मन्त्रिपरिषद्मा १ नं. प्रदेशबाट एक उपप्रधानसहित ६ जनाले मन्त्रीको जिम्मेवारी पाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । गतवर्ष मात्रै पार्टी अध्यक्ष बनेका लिङ्देनले नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै झापा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी अध्यक्ष भएपछि भएको निर्वाचनमा राप्रपाले थे्रस होल्ड कटाउँदै राष्ट्रिय पार्टी बनेको हो । पहिलो पटक २०७४ मा सांसद् बनेका लिङ्देन प्रतिनिधिसभामा स्वतन्त्र हैसियतमा थिए । 

भोजपुरबाट निर्वाचित सांसद् सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य किरातीले १ नं. प्रदेश पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै तेस्रो पटक सांसद् बनेका हुन् । किराती माओवादी जनयुद्धमा भूमिगत भएका थिए भने १ वर्ष जेल जीवन पनि बिताएका थिए । मोरङ क्षेत्र नं. ५ बाट निर्वाचित सांसद् अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । उनी २०७४ मा पनि मोरङ क्षेत्र नं. ५ बाट नै निर्वाचित भएका थिए भने २०७० मा समानुपातिक सांसद् बनेका थिए ।

सुनसरी क्षेत्र नं. ३ बाट  निर्वचित सांसद् भगवतीचौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेकी छन् । चौधरी नेकपा (एमाले) केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका धनकुटाबाट निर्वाचित राजेन्द्रकुमार राईलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेबाट निर्वाचित भएका राईले पुस ११ गते नै मन्त्रीको सपथ लिएका थिए । 

राई २०७४ सालमा पनि धनकुटाबाट निर्वाचितभएका थिए । २०७० मा पराजित राई २०५१ सालमा धनकुटाको जिल्ला विकास समिति उपसभापतिसमेत भएका थिए । उनले २०३५ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए ।नेकपा (एमाले)को तर्फबाट राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल पनि मन्त्री बनेकी छन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । उनी नेपालको इतिहासमा तेस्रो महिला परराष्ट्रमन्त्री हुन् । २०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरु गरेकी थिइन् । उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भएकी थिइन् । २०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएकी थिइन् । उनी भोजपुर टेम्केमैयुङ गाउँपालिका छिनामखुकी हुन् ।

एमालेले ८ मन्त्रालय, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एक मन्त्रालय पाएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टीले मन्त्रालय बाँडफाँटमा असहमति जनाएपछि दुई मन्त्री थप्न बाँकी छ । पुस ११ गते प्रधानमन्त्री र ३ उपप्रधानसहित ७ जना मन्त्रीले सपथ लिएका थिए । उनीहरूलाई पनि मङ्गलबार मन्त्रालयको जिम्मेवारी दिएको हो ।

दलितले पाएनन् पूर्ण मन्त्रालय

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तार गरेको मन्त्रिपरिषद्मा पनि दलितलाई उपेक्षा गरिएको छ । ३ राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायबाट पूर्ण मन्त्रीको जिम्मेवारी दिइएन । दलित समुदायलाई एक राज्यमन्त्री मात्रै दिइएको छ । राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेकी छन् ।