विजयपुर । धरान उपमहानगरको भानुचोकदेखि लक्ष्मी चोकसम्मको सडकलाई ३४ वर्षपछि पुनः ‘वन वे’ बनाइएको छ ।

अस्त–व्यस्त सडकलाई व्यवस्थापन गर्न धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्मको महेन्द्र पथ सडकलाई ‘वन वे (एकतर्फी)’ बनाउन लागिएको हो । नगरसहित सरोकारवाला पक्षसँगको पटक–पटकको छलफलपश्चात् आज (सोमबार) देखि भानुचोकदेखि लक्ष्मीचोकसम्मको सडकलाई एकतर्फी बनाइँदैछ । २०४५ सालको भूइँचालोदेखि ‘वन वे’ सडक लथालिङ भएको तत्कालीन समयका ट्राफिक हवल्दार लालबहादुर कार्कीले बताए । उनले भने, ‘वन वे हुँदा व्यवस्थित थियो । भूइँचालोले घर, सडक भत्किए । कहालीलाग्दो अवस्था भएपछि वन वे नियम हरायो ।’

धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्मको ‘वन वे (एकतर्फी)’ सडकमा २०४१ सालदेखि एकतर्फी सडक लागू भएको तत्कालीन ट्राफिक हवल्दार पदमा जिम्मेवारी पाएका ललितमान तखाछेले बताए । उनका अनुसार २०४० साल चैत २९ गते सुनसरीको धरानमा जिल्ला तहको ट्राफिक प्रहरी कार्यालय बस्ने काठमाडौँको तोक आदेशपश्चात् धरानमा ट्राफिक प्रहरी कार्यालय सुरु भएको थियो । 

२०४१ सालपश्चात् हालको महेन्द्र पथको बाटोमा धरान नगर पञ्चायत, यातायात व्यवसायी र नेपाल प्रहरीको एसपी कार्यालय (हालको १ नम्बर सङ्घीय प्रहरी कार्यालय) को समन्वयमा एकातर्फी सडक बनाइएको थियो । त्यो बेला नीति नियम नै नभए पनि सबै पक्षको पहलमा एकतर्फी सडक लागू गरिएको थियो । तर,  २०४५ साल भदौ ५ गतेको भूइँचालोले त्यो निर्णयलाई तहस–नहस पार्यो । सबैतिर बाटो भत्किएकाले वन वे को नीति नै हरायो ।

भूइँचालोसँगै नामेट भएको एकतर्फी सडक पुनः कार्यान्वयन गरिँदैछ । निवर्तमान नगरप्रमुख तिलक राईले आंशिकरूपमा एकतर्फी बनाएको सडकलाई वर्तमान नगरप्रमुख हर्कराज राईले पूर्णरूपमा एकतर्फी सडक कार्यान्वयन गर्दै छन् । धरानको अस्त–व्यस्त सवारीसाधनलाई व्यवस्थापन गर्न एकतर्फी सडक लागू गर्न लागिएको हो ।

एकतर्फी लागू गरेपछि भानुचोकदेखि महेन्द्रपथ हुँदै पहाडी क्षेत्रका सवारीसाधन बाहिरिनेछन् भने पहाडीक्षेत्र (उत्तर) तर्फबाट भित्रिने सवारीसाधन लक्ष्मीचाकदेखि पुरानो बजार, माछाभौडी हुँदै भानुचोक आउने धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेतले बताए ।

२०४५ सालपूर्व ‘वन वे’ लागू गरिएको समयमा पहाडी क्षेत्रबाट आएका सवारी साधनहरूलाई लक्ष्मीचोकदेखि सिधैँ भानुचोक आए जरिबाना लिने प्रावधान राखिएको थियो । हवल्दार तखाछे भन्छन्, ‘ट्राफिक प्रहरी बसेपछि नै त्यो नियम बनाइएको थियो । एक–दुई पटकसम्म सम्झाउने र अटेर गरे जरिबानासमेत गरिन्थ्यो । जरिबाना ट्राफिक प्रहरीले गर्ने नियम थिएन । लाइसेन्स, ब्लुबुक लिएर यातायात कार्यालय पठाइदिन्थ्यौँ ।’ अहिले पूर्णरूपमा ‘वन वे’ कार्यान्वयन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख बस्नेतले बताए । उनले भने, ‘केही समय सम्झाउँछौँँ । त्यसपछि जानाजान उल्लङ्घन गरेमा नियमानुसार जरिबाना गर्र्छौं ।’ तत्कालीन समयमा मोटरसाइकललाई समेत त्यो छुट दिइएको थिएन । घरधनीले समेत भित्री सडकको बाटो भएर भानुचोकबाट मास्तिर आउनुपर्ने बाध्यता थियो । तर, अहिले ठाउँ–ठाउँबाट बाटो क्रस गर्न भने दिइनेछ । प्रमुख बस्नेतले  भने, ‘मोटरसाइकल र साना सवारीसाधनलाई निश्चित सडकबाट एकतर्फी रूपमा क्रस गर्न दिइन्छ । तर, भानुचोक आउनु प¥यो भने पुरानो बजार भएर नै आउनुपर्यो ।’

ठूला र मझौैला सवारीसाधन क्रस गर्न नपाउने व्यवस्था गरिएको छ । नेपालमा भिआइपीहरूलाई विशेष व्यवस्थापन गर्ने प्रचलन रहेको छ । प्रमुख बस्नेतले सबैलाई समानरूपमा नियम लागू हुने बताए । उनले भने, ‘नियम सबैलाई लागू हुन्छ । कसैलाई छुट दिइयो भने त कामै लाग्दैन ।’ उनका अनुसार एम्बुलेन्स, दमकलले पनि नियमानुसार नै जानु पर्नेछ । उनले भने, ‘विशेष परिस्थितिमा बाहेक सबैलाई लागू हुन्छ ।’ सेवा निवृत्त हवल्दार लालबहादुरले विशेष प्रकृतिका सवारीलाई ‘वन वे’ लागू गर्न नहुने बताए । उनले भने, ‘बिरामी बोकेको एम्बुलेन्सलाई वन वे  बाट भन्न मिल्दैन ।’