धनकुटा । पछिल्लो समयमा वर–पीपल रोपेर, धर्मकर्मको लागि बाटो हिँड्ने बटुवालाई आराम गर्ने थलोको रूपमा चौतारा बनाउने प्रचलन लोप हुँदै गएको छ ।
एकातिर मोटरबाटो, पाटीपौवाजस्तो भौतिक पूर्वाधारको कामले गर्दा सार्वजानिक पाटी, चौतारो मासिने क्रम पनि त्यतिकै बढ्दै गएको छ । यस्तो अवस्थामा धनकुटामा भने वर–पीपल रोपेर सनातनदेखिको वैदिक परम्पराअनुसार यज्ञ होम गर्दै नौमती बाजा बजाएर वर–पीपलको विवाह गर्नेहरूको सङ्ख्या बढेको छ । यसरी हराउँदै गएको वर–पीपलको विवाह गर्ने परम्परा बढ्दै जाँदा लोप हुँदै गएको नेपाली संस्कार र संस्कृति पुनः नयाँ पुस्तामा स्थापित हुँदै आएको देखिन्छ ।
जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.६ आँखीसल्लाका चन्द्रबहादुर दाहाल, यज्ञबहादुर दाहाल र डेडराज दाहालसमेत तीन दाजुभाइले आफ्ना स्वर्गीय बुबा शुरवीर दाहाल र आमा रनमाया दाहालको स्मृतिमा रोपेको वर–पीपलको विवाह गरिदिएका हुन् । दाहाल परिवारले हिन्दु धर्मको वैदिक विधिअनुसार शनिबार २ जना ब्राह्मण पढाएर यज्ञ होम गर्दै नौमती बाजागाजा बजाएर ब्रह्मा, विष्णुको प्रतिमूर्तिको रूपमा वर–पीपलको विवाह गरिदिएका छन् ।
सहिदभूमि गाउँपालिका वडा नं.६ का दाहाल परिवारले धनकुटा नगरपालिका वडा नं.९ छिम्सुवामा २५ वर्षअघि स्व.शुरवीर दाहालले रोपेको वर–पीपलको विवाह गरेका हुन् । उनीहरूले धनकुटा नगरपालिका वडा नं.९ बेलहाराका पण्डित प्रेमप्रसाद सुवेदी र रुद्रप्रसाद सुवेदीलाई ल्याएर वर–पीपलको विवाह गराएका हुन् ।
वि.सं.२०५४ सालमा वर–पीपलको बिरुवा वैदिक विधिअनुसार ब्राह्मण पढाएर स्व.बुबा शुरवीरले रोपण गरेको कान्छा छोरा डेडराज दाहालले बताएका छन् । स्वर्गीय बुबा र आमाको स्मृतिमा ३ दाजुभाइका परिवारसहित २ दर्जनभन्दा बढी नाति–नतिनाहरू भैसकेको हुँदा आफू र आफ्ना सन्तान वर–पीपल झैं तपिरहुन् भनेर वर–पीपल रोपेर विवाह गरेको दाहालले बताएका छन् । उनले आफूहरू ५ भाइमध्ये २ दाजुहरूको यसअघि नै स्वार्गवास भैसकेको बताए ।
उनले नेपाली समाज पछिल्लो समय बढी आधुनिकतातिर लम्किरहँदा पुर्खाहरूले अँगाल्दै आएको चलन वा परम्परागत संस्कृतिलाई बचाइराख्न र अहिलेका युवापुस्तालाई पनि अनुशरण गराउने उद्देश्यले पहिलोपल्ट वर–पीपलको विधिवत् विवाह गरेको बताए । उनले गाउँघरमा डोजर लगाएर वर–पीपलसहितका चौतारी, माने, पौवापाटी भत्काएर मोटरबाटो खन्ने पछिल्लो चलनलाई सच्चिनको लागि पनि वर–पीपल रोप्ने र रोपिएका वर–पीपलको कर्म चलाउने कार्य गरिएको हो ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.१० डुम्रे सान्नेका लेखनाथ सुवेदी र सरिता सुवेदीले पनि आफैले रोपेको वर–पीपलको विवाह गरेका छन् । सुवेदी परिवारले धनपा–७ जिरोपोइन्ट घर भएका पण्डित गोपाल भण्डारी र उनकी धर्मपत्नी गीता भण्डारीको गोडा धोएर पानी खाई वर–पीपलको विवाह गरेका छन् । उनीहरूले पण्डित परिवारलाई सो अवसरमा टीका लगाएर दानदक्षिणा, भाँडावर्तन, लुगाफाटासमेत दिएका थिए ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.५ कर्मीटारका निर्माण व्यवसायी यज्ञबहादुर खतिवडाले पनि आफ्ना पितृहरूको सम्झना गर्दै वर–पीपलको विवाह गरेका छन् । उनले वर–पीपलको विवाह गर्दा छरछिमेकी, इष्टमित्र, साथीभाइलाई मात्र बोलाएनन्, नौमती बाजागाजासमेत बजाएका थिए । तर, कतिपयलाई भने वर–पीपलको विवाह भएको सुन्दा एकादेशको कथाजस्तो लाग्ने गरेको छ ।