कोही त भने जहाजमा हरर
कोही त भने पसिना तरर..

माथिको जनवादी गीतको मूल मर्मजस्तै धरान उपमहानगरपालिका–१७ उदयटोलकी कमला विकको जीवन पनि तीन दशकदेखि यसरी नै चलिरहेको छ । उनमा खुसी तब आउँछ, जब डोकोभरिको दाउरा हाताहाती बिक्री हुन्छ ।

दाउरा बिक्री नभइञ्जेलसम्म यो टोल र त्यो टोल गर्दैमा बिहान बित्छ । कहिलेकाहीँ त उधारोमा छाडेर घर फर्किन्छिन् । ‘जम्मा यति (डोकोतिर देखाउँदै) बेच्दा ५० रुपैयाँ दाम आउँछ’ चौतारोमा भारी बिसाएपछि उनले भनिन्, ‘आफै जङ्गलबाट ल्याउन सकिँदैन । अरूले ल्याएको दाउरा ठेकेर बिक्री गर्ने हो ।’ भोजपुरबाट ३० वर्षअघि धरान झर्दा सुखका दिन फिर्लान् भन्ने उनलाई लागेको थियो । मधेशमा ‘घर–घरमा धारा, नजिकै अस्पताल, नानीहरूलाई पढाउन घर नजिकै विद्यालय’ यस्तै यस्तै कल्पनामा डुबेर धरान झरेकी थिइन् । तर, यी तीन दशकमा उनका दिन पहाडभन्दा फरक छैनन् । ‘दुःख उस्तै, त्यहाँ पनि यही हड्डी घोटेर खानुपथ्र्यो, यहाँ पनि’ उनी सुनाउँछिन्, ‘अब त बूढी भइसकेँ । यहीँ हड्डी पनि घोट्न सकिन्न । यही दाउरा त ठेकेर बेच्नुपर्ने अवस्था छ ।’

धरान झरेर पनि उनको सुखको पोयो बाटिएको छैन । नातिनीसहित तीनजनाको परिवारको दुईछाक टार्न उनलाई धौ धौ पर्छ । ‘श्रीमान् छन्, उनको पनि कमाइ छैन’ उनले भनिन्, ‘एक्लो ज्यान भए जसै गरिन्थ्यो होला ।’ दुःखका दुर्दिन फेरिएलान् भन्ने मनमा कल्पना आउन छाडेको उनी बताउँछिन् । उनको मनको भारी र दाउरा बेचेर खानुपर्ने कर्मको भारी बोकेर हिँडिरहेकी विकका यहीबीचमा थुप्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गुज्रिए । बुधबार १ सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । त्यही बुधबार उनी दाउरा बोकेर धरानका टोल–टोलमा पुगिरहेकी थिइन् ।

उनी जस्ताका लागि श्रमिक महिला दिवस ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मत’ जस्तो भएको छ । उनीसँगै साथ लागेर हिँडेकी लक्ष्मी कार्कीले पनि दाउरा बिक्री गरेर जीविका चलाउन थालेको आधा दशकभन्दा बढी भयो । घरमा कमाउने छोराछोरी छन् तर, आफ्नो पकेट खर्चका लागि दाउरा बेचेको अनुभव शेयर गर्छिन् । ‘पकेट खर्च दिँदैनन्, यी दाउरा बेच्यो । आफ्ना लागि भइजान्छ’–उनी भन्छिन् । उनी पनि भोजपुरबाटै ६ वर्षअघि धरान झरेकी हुन् । चारजना छोरा छन् । दुईजना विदेशमा छन् भने दुईजना यतै कमाइ गर्छन् । ‘नपुगेर त होइन नि ! पुग्दो छ नि’ नजिकै रहेकी कमलाले मुख खोलिन्, ‘आफूलाई चाहिने पैसा छोराहरूले दिँदैनन् अनि यसरी दाउरा बोकेर घर घर चहार्छिन् ।’ एक भारी दाउरा २ सय ५० रुपैयाँदेखि साढे ३ सय रुपैयाँसम्म बिक्री हुन्छ । जसमध्ये केही पैसा दाउरा धनीलाई दिनुपर्छ । बचेको पैसाले आफ्नो खर्च टार्ने गरेको उनी सुनाउँछिन् । श्रमिक दिवस उनीहरू जस्ता श्रमिकलाई आउन सकेको छैन । उनको जीवनमा पनि थुप्रै श्रमिक दिवसहरू व्यतीत भए तर, दिवसको अर्थ के हो भन्नेबारे उनीहरू अन्यौल छन् ।

माथिको गीतले भनेजस्तै अवस्थालाई फेर्न कयौँ आन्दोलन भए । जनताले सहादत प्राप्त गरी गणतन्त्र पनि ल्याए तर, व्यवस्था फेरियो, अवस्था फेरिएन । अहिले पनि ‘गरिबको चमेली बोली दिने कोही छैन’ कै स्थिति छ । महिला आन्दोलनकी प्रणेता जर्मन नागरिक क्लारा जेटकिनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन महŒवपूर्ण भूमिका खेलिन् । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनबाट हरेक वर्षको ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गरियो भने सन् २०११ बाट हरेक वर्ष मनाउन थालिएको छ । तर, महिलाको अवस्था फेरिन अझै कति समय कुर्नु पर्ने हो ?