विराटनगर । एक ठाउँबाट अर्को ठाउँसम्म हिँडडुल गर्न सक्दैनन् । दिसापिसाब पनि ओछ्यानमै गर्नुपर्ने अवस्था छ । खानलाई अरूकै सहारा चाहिन्छ । विराटनगर–६ मा डेरा गरी बस्ने ५० वर्षीय माधव बस्नेतको लागि उनको ओछ्यान नै संसार हो ।
दुई वर्षअगाडि सिरहाको लहानमा सवारी दुर्घटनामा घाइते भएका बस्नेतसँग अहिले थप उपचार गर्ने पैसा नभएपछि पीडामा छन् । काठमाडौँबाट मोटरसाइकलमा विराटनगर फर्कंदै गर्दा बस्नेत २०७७ पुस १ गते साँझतिर सिरहाको लहानमा दुर्घटनामा परेका थिए । विपरीत दिशाबाट आइरहेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएका कारण उनी आज यो अवस्थामा छन् । २०७५ कात्तिकमा कलेजो क्यान्सरको शल्यक्रिया गरियो । त्यसको फलोअपका लागि काठमाडौंस्थित टिचिङ अस्पताल पुगेर फर्कंदा दुर्घटनामा परेर अर्को दशा निम्तियो । ‘भयानक दुर्घटनामा परेर पनि बाँचेँ । तर, जिउँदो भए पनि मरेसरह छु’ बस्नेतले भने, ‘ओछ्यानबाट ओर्लन सक्दिनँ । खानपिनदेखि दिसापिसाब पनि ओछ्यानमै हुन्छ ।’ दुर्घटनापश्चात् कोठा नै संसार बनेको पीडा सुनाउँछन् उनी ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएको र दुर्घटना गराउने पक्षले पनि उपचारमा चासो नदिएपछि समस्या दिन प्रतिदिन बढ्दै गइरहेको उनले बताए । ‘ट्याक्टरले मैले चलाइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि झिलिक्क बिजुली चम्केको अनुभूति गरेँ । संसार अँध्यारो भयो’ उनले भने, ‘त्यसपछि मैले केही थाहा पाइनँ । १५ दिनपछि होस खुल्दा विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत थिएँ ।’
ट्याक्टर सिरहाको गोलबजार नगरपालिका–११ का २६ वर्षीय सत्रुधन सदायले चलाएका थिए । मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको अनुसन्धानबाट खुलेको छ । सवारी चालक अनुमति–पत्र (लाइसेन्स)समेत नभएका उनले कल्याणपुर–१२ का राम एकवाल महतोको ट्याक्टर चलाएका थिए । दुर्घटनाका बेला महतो पनि सोही ट्याक्टरमा थिए । दुर्घटनापछि बस्नेतले प्रभावकारी उपचार पाउन सकेनन् । ‘मैले उपचार पाउन सकिनँ । दुर्घटना गराउने पक्षबाट पटक–पटक गरेर २ लाख १५ हजार रुपैयाँ पाएँ । त्यसपछि सम्पर्कमै आउन चाहेनन् । उपचारमा २६ लाख खर्च भइसकेको छ’ उनले भने, ‘पछि तिरिदिन्छन् होला भन्ने आशले ऋण खोजेर उपचार गरिरहेको थिएँ । उपचारबापतको ऋण तिर्न नसक्दा पीडामाथि अर्को तनाव थपिएको छ । डाक्टरले अझै १० लाख रुपैयाँभन्दा बढी लाग्छ भनेका छन् ।’ जिल्ला प्रशासन कार्यालय सिरहाले क्षतिपूर्ति बापत १२ लाख रुपैयाँ पीडकबाट भराउने आदेश दिए पनि हालसम्म नपाएको उनले गुनासो पोखे ।
जिल्ला अदालत सिरहाका न्यायाधीश पुष्पराज थपलियाको इजलासले २०७८ पुस २६ गते ट्याक्टर चालकलाई ४ वर्ष कैद र ट्याक्टर धनीलाई आधा सजायको फैसला सुनाइसकेको छ । चालकलाई २५ हजार रुपैयाँ जरिबाना र धनीलाई १२ हजार ५ सय जरिबानाको फैसला पनि अदालतले गरेको छ । पीडितलाई दुवैजनाबाट क्षतिपूर्ति बापत न्यून रकम भराउने फैसला भएको छ । फैसलाअनुसार उनीहरूले १ हजार ५ सय रुपैयाँमात्रै क्षतिपूर्ति तिर्नुपर्नेछ । ‘दुर्घटना गराउनेलाई कानूनी कारबाही त भयो । तर, मैले उपचार पाउन सकिनँ’ उनले भने, ‘न त क्षतिपूर्ति चित्तबुझ्दो भयो । ट्याक्टर धनी सम्पर्कमा आएनन्, प्रशासनले पूरै बेवास्ता गरिदियो ।’
बस्नेतले सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ८ लाख रुपैयाँ खर्चको बिल पेस गरेका थिए । पछि उपचारमा थप १२ लाख खर्च भएको उनले सुनाए । ‘अहिले पनि औषधि खान र ड्रेसिङ गरिरहनुपर्छ । पेस गरेको खर्चको विवरण र घाउको अवस्थाको विषयमा जिल्ला प्रशासन कार्यालयले चासो दिएन’ उनले भने, ‘पीडित बनेर जाँदा तत्कालीन प्रजिअबाट दुव्र्यवहार भोग्नुप¥यो । उपचारमा लागेको खर्च र क्षतिपूर्ति माग गर्दा प्रजिअले धरौटीमा राखेको ६ लाख रुपैयाँभन्दा बढी भराउन नसक्ने बताए ।’
राज्यको निकाय प्रशासनले पीडकको पक्ष लिएर उपचारमा लागेको पूरै खर्च दिलाउन नचाहेको गुनासो बस्नेतको छ । दुर्घटनामा परेर उनको दाहिने खुट्टाको हड्डी कच्याककुच्चुक भएको थियो । ‘हर कच्याककुच्युक भएर सुकेको कारण स्टिलको हर बनाएर हाल्नुपर्ने डाक्टरको सल्लाह छ’ बस्नेत भन्छन्, ‘त्यसका लागि अझै १० लाखभन्दा बढी खर्च लाग्ने भनिए पनि त्यो पैसा जुटाउनसक्ने अवस्था छैन ।’
२ महिना अस्पताल बसेर उपचार गराएका उनको कम्मरदेखि मुनिको भाग चल्दैन । दाहिने हातको औँला पनि चल्दैन । ‘छिन्न लागेको दाहिने खुट्टालाई अड्याउन सिलाइ गरिएको थियो । डेढ वर्षसम्ममा त बैसाखी टेकेर हिँड्न सक्नुपर्ने हो’ बस्नेतले भने, ‘तर, उपचारका लागि खर्च अभाव भयो । सोचेजस्तो उपचार नपाउँदा ओछ्यानमै जिन्दगी सकिन्छ कि जस्तो छ ।’ १५ लाखको बिल बुझाएपछि प्रशासनमा भएको अनौपचारिक छलफलमा ट्याक्टर धनीले तिर्ने भने पनि अहिलेसम्म आलटाल गरिरहेको गुनासो उनले गरे । ‘एक पटक सिरहा जाँदा आउँदा २० हजारभन्दा बढी खर्च हुन्छ । तर, प्रशासनले घटनालाई गम्भीर रूपमा लिएन’ उनले भने, ‘पीडित भए पनि मैले राज्यबाट सहयोग पाउन सकिनँ । क्षतिपूर्ति दिने विषयमा पनि अनेक सोर्सफोर्स लगाएर रोक्न खोजियो ।’
संविधानले दुर्घटनाका पीडितलाई उपचार, क्षतिपूर्ति र सामाजिक पुनःस्थापनाको व्यवस्था गरेको छ । तर, बस्नेतका सवालमा संविधान र कानूनले कुनै अर्थ राखेन । संविधानअनुसार चलेका राज्यका निकायले पनि उनलाई क्षतिपूर्ति भराउन सहयोग गरेको पाइएन । ‘यो मुलुकमा सरकार छ भने मैले किन उपचार पाउँदिनँ ? १ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति लिएर मैले के गर्नु ?’ प्रश्न गर्दै बस्नेतले भने, ‘लामो समयदेखि थलिएर बसेको छु । सहयोग गर्नुपर्नेमा राज्यले नै असहयोग गरिरहेको छ ।’ उपचार र क्षतिपूर्तिको विषयमा अदालतबाट पनि असहयोग भएको गुनासो उनको छ । विराटनगरमा डेरा बसेका उनले मासिक १० हजार भाडा तिर्छन् । उनकी श्रीमती स्वस्थानी किराना पसल चलाउँछिन् । श्रीमान्को उपचार, स्याहार, सुसार र हेरचाहमा खटिन्छिन् । पसलको अम्दानीले घरको भाडा तिर्न पनि गाह्रो परेको उनले सुनाए । आफ्नो उपचारमा सहयोग गर्न सबैमा आग्रह गर्दै बस्नेतले भने, ‘परिवारमा आम्दानीको कुनै बाटो छैन । उपचार नपाउँदा अधकल्चो जिन्दगी बिताउन गाह्रो परिरहेको छ । दशाले यस्तो बनायो ।’
बस्नेतका एक छोरा र एक छोरी छन् । प्लस टु सकिसकेका छोरा र कक्षा ८ मा पढ्दै गरेकी छोरीलाई पढाउनसमेत समस्या भइरहेको गुनासो उनको छ । ‘उपचार नपाएर म थलिएको छु । छोरालाई पढाउन पनि सकिनँ । विदेश पठाउन पनि पैसा नै चाहिन्छ’ बस्नेतले भने, ‘छोरा र छोरीसहित मेरो हेरचाह र स्याहार गर्दै श्रीमती स्वस्थानीले घरव्यवहार धान्नुपर्ने अवस्था छ । हामी साह्रै ठूलो पीडामा छौँ । भगवान्ले पनि सजाय दिएका होलान्जस्तो लाग्छ ।’
स्वस्थानी पनि श्रीमान्को यो हालत हुँदा बोलिदिने कोही नभएको गुनासो गर्छिन् । उनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रशासन कार्यालयले तोकिएको क्षतिपूर्ति रकम दिलाइदिन र श्रीमान्को थप उपचारका लागि सहयोगको याचना गरिन् । ‘दैवले पनि हामीमाथि अन्याय गर्यो । बोलिदिने र सहयोग गर्ने कोही भएनन्’ उनले भनिन्, ‘श्रीमान्ले उपचार पाउन नसक्दा पीडैपीडामा छट्पटाउनु परेको छ । श्रीमान्लाई ओछ्यानबाट उठाउनुप¥यो भने छरछिमेकीको सहारा लिनुपर्छ ।’