सुनसरी । घटना १: फागुन १४ गते इटहरी उपमहानगरपालिका–२ बस्ने ३४ वर्षीया एक महिला आफ्नै १२ वर्षीया र ९ वर्षीया छोरी र ६ वर्षका छोरासहित कोसी ब्यारेज पुगिन् । नदीछेउमा उनको अस्वभाविक गतिविधि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरिदिए । त्यसपछि अस्थायी प्रहरी चौकी कोसी ब्यारेजमा कार्यरत प्रहरीले उनीहरूको उद्धार गर्यो ।

प्रहरीसँगको बयानमा ती महिलाले श्रीमान्ले वैदेशिक रोजगारबाट पठाएको रकम आफू बिरामी हुँदा धामी झाँक्रीकोमा उपचार गराउँदा सकिएपछि पारिवारिक विवाद हुँदा आत्महत्या गर्न खोजेको बताइन् । प्रहरीसमक्ष उनले भनेकी छन्, ‘धामीले केही खर्च लाग्छ तर ठीक हुन्छ भनेपछि उपचार गराएँ । सुरुमा त राम्रो पनि भयो तर पछि विदेशबाट पठाएको सबै पैसा धामीलाई बुझाएँ । श्रीमान् विदेशबाट आएपछि पैसाकै विषयमा विवाद भयो ।’

घटना २ः फागुन ८ गते मोरङको बूढीगङ्गा गाउँपालिका–१ की अन्दाजी ४५ वर्षीया एक महिला सप्तकोसी नदीमा हाम्फाल्न खोज्दा प्रहरी टोलीले बचायो । सार्वजनिक बसबाट कोसी ब्यारेजमा ओर्लेपछि ती महिला घण्टौंसम्म यताउता मात्रै गरेको चाल पाएपछि प्रहरीले निगरानी गरिरहेको थियो । उद्धारपश्चात् प्रहरीलाई ती महिलाले ऋण बढेको र तिर्न नसकिने भएपछि आफूले आत्महत्याको बाटो रोजेको बताइन् ।

घटना ३: गत मङ्सिर ६  गते झापाको शिवसतासी–३ का ४० वर्षीय पुरुष कोसी ब्यारेजको २४ नम्बर ढोकाबाट सप्तकोसी नदीमा हाम्फाल्न खोजेपछि प्रत्यक्षदर्शीले दिएको सूचनाअनुसार समयमै प्रहरी टोली पुग्दा ती व्यक्तिको ज्यान जोगियो । सरकारी सेवामा अधिकृतस्तरका कर्मचारी उनले प्रहरी समक्ष घरायसी विवादका कारण आत्महत्या गर्न चाहेको बताएका थिए ।

चालु आर्थिक वर्षको हालसम्म सुनसरी र सप्तरी जिल्लाको सीमामा अवस्थित कोसी ब्यारेज क्षेत्रबाट सुनसरी प्रहरीले यस्ता २० जना व्यक्तिको उद्धार गरेर उनीहरूको ज्यान बचाउन सफल भएको छ । २०७९ साल असार ३० गतेदेखि हालसम्म कोसी ब्यारेज क्षेत्रबाट सप्तकोसी नदीमा हाम्फाल्न हिँडेका ८ जना पुरुष, ९ जना महिला, २  जना बालिका र १ बालक गरी २० जना उद्धार गरिएको सुनसरी प्रहरीले जनाएको छ । जसमा पुरुष २५ वर्षदेखि ६० वर्षसम्मका छन् भने महिला ३० देखि ५९ वर्षसम्मका ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकाल पछिल्लो समय आत्महत्या गर्न सप्तकोसी नदीमा पुग्नेहरूको सङ्ख्या बढेको बताउँछन् । केही महिनाको अवधिमा एउटै स्थानबाट बारम्बार आत्महत्या गर्न खोज्ने व्यक्तिको उद्धार गर्नुले उक्त तथ्यलाई उजागर गर्ने उनको भनाइ छ ।

प्रहरीका अनुसार पछिल्लो समय समाजमा आत्महत्या एक गम्भीर समस्याका रूपमा देखापरेको छ । जसमध्ये पारिवारिक विवाद र ऋणकै कारण बढी मात्रामा यस्ता घटना बढ्दै गरेको देखिएको छ ।

एसपी ढकालका अनुसार पारिवारिक विवाद, व्यक्तिगत आचरण, मान्छेले जीवन जिउने आश मार्नुजस्ता कारणले आत्महत्या गर्न खोज्नेहरूको सङ्ख्या बढेको देखिन्छ । यस्तै पारिवारिक आर्थिक समस्याका साथै ऋणमा फस्नु पनि आत्महत्याको कारकका रूपमा देखिएको प्रहरीको भनाइ छ ।

कसरी रोक्न सकिन्छ आत्महत्या ?
कतिपय व्यक्ति जीवनका अरू विकल्पहरू खोज्नुको साटो ‘जिन्दगीसँग हार खाइसकेको’ भन्दै आत्महत्याको बाटो रोज्ने गर्दछन् । विवाहेत्तर सम्बन्ध, जीवनमा असफलता, प्रेममा धोका, व्यापार व्यवसायमा घाटाजस्ता कारण व्यक्तिले आत्महत्या गर्ने गरेको देखिएको बताउँदै मनोपरामर्शदाता कविता मण्डल भन्छिन्, ‘हिंसा, पारिवारिक कलह, पारिवारिक दबाव, मानसिक रोग पनि आत्महत्याका कारणको रूपमा देखापरेका छन् ।’

उनका अनुसार आत्महत्या गर्न खोज्ने व्यक्तिहरूले आफैलाई आशाविहीन र योग्यताहीन ठान्छन् । यद्यपि उनीहरूसँग धेरै विकल्प बाँकी नै हुन्छन् । उनी भन्छिन्, ‘त्यस्तो व्यक्तिले मलाई कसैले सहयोग गर्दैन भन्ने सोच्न थाल्छ । त्यतिबेला उसका कुरा सुनिदिने मान्छे पनि छन् भन्ने बुझाउन सकिएको अवस्थामा भने सामान्य अवस्थामा फर्काउन सकिन्छ । ’

सुनसरी प्रहरीले पनि आत्महत्याका घटना बढ्न थालेपछि स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायहरू, सरकारी तथा गैरसरकारी सङ्घ–संस्थासँग मिलेर जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानमा ५ सय ३८ वटा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।