धरान । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार गर्ने काम अगामी वर्षदेखि सुरु हुने भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सो सडक विस्तार आयोजनाका लागि ४६ अर्ब लागत अनुमान गरिएको छ । यो आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइनेछ । हाल ठेक्काका लागि काम गर्न इच्छुक निर्माण कम्पनीहरूले बुझाएका आर्थिक प्रस्ताव मूल्याङ्कनका क्रममा छन् । एसियाली विकास बैङ्क (एडिबी) आयोजना निर्देशनालयका इन्जिनियर राकेश महर्जनले सडक विस्तारका लागि ठेक्का प्रक्रिया थालिएको र आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने बताएका छन् ।

प्याकेज–१ मा पर्ने काँकडभिट्टादेखि ४५ किलोमिटरसम्मको सडक विस्तार गर्न इबारासकम/कालिका जेभी प्राविधिकरूपमा छनोट भएको छ । त्यसपछिको ८५ किमी दोस्रो प्याकेजमा छ । त्यसमा काम गर्न ३ वटा निर्माण कम्पनीहरू प्राविधिकरूपमा छनोट भएका छन् । जसमा इबारासकम–कालिका, कोभेक–टुन्डी जेभी र चाइना स्टेट सेभेन्थ ग्रुप छन् ।

तेस्रो प्याकेजमा ९५ किमीमा काम गर्न कोभेक र चाइना स्टेट सेभेन्थ निर्माण कम्पनी प्राविधिकरूपमा छनोट भएका छन् । चौथो प्याकेजमा ३ वटा पुलहरू निर्माण गर्ने योजना छ । यसमा ३ सय मिटरभन्दा लामो पुल निर्माण हुने बताइएको छ । यसका लागि सीआरजीसी–२ र टुन्डी जेभी प्राविधिकरूपमा छनोट भएका छन् । यो प्याकेजमा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो । यसैगरी अन्तिम अर्थात् पाँचौँ प्याकेजमा पनि ३ वटा पुल निर्माण गर्ने योजना छ । जसमा सीआरजीसी–२ टुन्डी जेभी र चाइना स्टेट सेभेन्थ प्राविधिकरूपमा छनोट भएका छन् । यो प्याकेजमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको थियो ।

प्राविधिकरूपमा छनोट भएका यी कम्पनीहरूले पेस गरेको आर्थिक प्रस्तावमा जसको कम लागतको कबोल पर्छ, त्यही निर्माण कम्पनीले सडक विस्तार र ६ वटा पुल निर्माणको ठेक्का पाउनेछन् । यसका लागि आयोजनाले अहिले आर्थिक प्रस्तावको मूल्याङ्कन गरिरहेको इन्जिनियर महर्जनले बताएका छन् । काम गर्न इच्छुक निर्माण कम्पनीले पेस गरेका आर्थिक प्रस्तावहरू आगामी २ महिनाभित्रै खोलिनेछ । त्यसपछि एडिबीले स्वीकृत गरेपछि ठेक्का सम्झौताको प्रक्रिया सुरु हुन्छ । त्यहीअनुसार समय लाग्ने महर्जन बताउँछन् ।

त्यसैले यो सडक विस्तारको काम आगामी वर्षबाट मात्र सुरु हुने देखिएको छ । आयोजनाका अनुसार काँकडभिट्टा–लौकही सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने अनुमानित लक्ष्य छ । ठेक्का पाउने कम्पनीले सम्झौताको समयबाट ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने र थप १२ महिना मर्मतसम्भारको समेत जिम्मा लिनुपर्ने सर्त छ । यस्तै, पुल निर्माणका लागि भने पाँच वर्ष समयावधि छुट्याइएको छ । त्यसपछिको थप २४ महिनासम्म मर्मतसम्भारको जिम्मा पनि सम्बद्ध निर्माण कम्पनीले लिनु पर्नेछ ।