विजयपुर । यातायातका साधनको चर्को आवाज (प्रेसर हर्न) का कारण कोसी राजमार्ग वरपरका स्थानीयहरू पीडित बन्दै आएका छन् । चर्को आवाजका कारण कतिपयमा कानको समस्यासमेत देखिएको छ ।
धरान–८ का स्थानीय कुलचन्द्र भट्टराईले कोसी राजमार्गछेउका बासिन्दालाई ‘प्रेसर हर्न’ का कारण कानको रोगले ग्रसित बनाएको भन्दै उनले धरानका नगरप्रमुख, गृह मन्त्रालय र मातहतका प्रहरी कार्यालयलाई सम्बोधन गरेर चारपटक पत्र पठाइसकेका छन् । उनले ब्लाष्टलाई समेत बोधार्थ दिएर पठाएको पत्रमा लेखेका छन्, ‘तीनवटा पत्र पठाउँदा पनि हालसम्म सुनुवाइ भएन । समयमै यसको निराकरण गरिएन भने धरानवासीहरू कानको रोगले पीडित हुनेछन् ।’
भट्टराईको पत्रपछि खोजी गर्दा राजमार्गक्षेत्रका धेरै जनामा यस्तो समस्या रहेको भेटियो । उनले पत्रमा उल्लेख गरेजस्तै राजमार्गमा कुद्ने यातायातका ठूला साधनदेखि बुलेट तथा रूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने बनाइएका मोटरसाइकलले सडक आसपासका बासिन्दालाई तनाव बढाइरहेका छन् ।
राजमार्गका दुवैपट्टि व्यावसायिक रूपमा इँटा, बालुवा, गिट्टी, बाँस आदि ओसार–पसारका क्रममा ट्याक्टरबाट निस्कने आवाज र धुलोका कारण पनि प्रदूषण बढ्दो छ । चर्को आवाजले मानव स्वस्थ्यमा प्रतिकूल असर पर्ने स्वास्थ्यकर्मी बताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एसोसिएट प्रोफेसर तथा नाक – कान – घाँटी विभागमा कार्यरत डा. दीपक पौडेलले ‘प्रेसर हर्न’ वा चर्को आवाजका कारणले मानव स्वास्थ्यमा विभिन्न प्रकारका समस्या उत्पन्न हुने बताए । उनले भने, ‘कानमा श्रवण क्षमता ह्रास हुने, कानमा टिनिन्न आवाज आउने, कान नसुन्ने, निन्द्रा नलाग्ने, काममा केन्द्रित नहुनुका साथै मानसिकरूपमा समस्या आउँछ ।’
डा. पौडेलले चर्को आवाजका कारण मानव स्वास्थ्यमा पर्ने प्रभावसम्बन्धी अनुसन्धानसमेत गरेका छन् । ‘प्रेसर हर्न’ ले राजमार्ग आसपासका स्थानीय र ट्राफिक प्रहरीको स्वास्थ्यमा असर पर्ने उनले बताए । उनले भने, ‘प्रेसर हर्नले ट्राफिक प्रहरी र सवारी चालक धेरै प्रभावित हुन्छन् ।’ उनका अनुसार प्रतिष्ठानमा दैनिक औषतमा चार–पाँचजना कानमा समस्या भएका बिरामीहरू उपचारमा आउने गरेका छन् ।
राजमार्ग आसपास बसोबास गर्ने स्थानीयहरूले ‘प्रेसर हर्न’ का कारणले रोगबाट ग्रसित भएकाले निराकरणका लागि सरोकार पक्षसँग माग गरेका छन् ।
प्रेसर हर्न निराकरणको प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका असइ नारदप्रसाद दाहालले बताए । उनले भने, ‘ट्राफिक प्रहरीले ‘प्रेसर हर्न’ नियन्त्रणमा काम गरिरहेको छ ।’ उनले पहिलेभन्दा ९५ प्रतिशत ‘प्रेसर हर्न’ नियन्त्रण भएको दाबी गरे । उनका अनुसार यातायातका ठूला साधनको ‘प्रेसर हर्न’ निकाल्ने गरिएको छ भने मोटरसाइकलको साइलेन्सर परिवर्तन गर्नेलाई नियन्त्रण गरी कारबाही गर्ने गरिएको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार तीन महिनामा स्वरूप परिवर्तन गर्ने ८५ वटा सवारीसाधनलाई कारबाही गरिएको छ ।
यस्तै ‘प्रेसर हर्न’ लगाउने ७९ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । असइ दाहालले चर्को आवाज र प्रेसर हर्न नियन्त्रणका लागि धेरैलाई सम्झाउने गरेको बताए । उनले ट्राफिक प्रहरीले मात्रै नभई प्रेसर हर्न नियन्त्रणका लागि यातायात तथा सवारी कार्यालय, यातायात व्यवयासी, नागरिक समाजले पनि ध्यान दिनुपर्ने बताएका छन् । उनले भने, ‘यातायात कार्यालयले अलि ध्यान दिए नियन्त्रण गर्न सहज हुन्छ ।’
यातायात व्यवस्था कार्यालयले सवारीले चर्को आवाज नियन्त्रणका लागि खासै कार्य गरेको देखिँदैन । यातायात व्यवस्था कार्यालय सवारी इटहरीका प्रमुख राजकुमार गुप्ताले यो विषयमा ट्राफिक प्रहरीको समन्वयमा नै नियन्त्रण गर्ने बताए । उनले भने, ‘प्रेसर हर्न ट्राफिकले चेकजाँच गर्छ । कहिलेकाहीँ हामी कारबाही पनि गर्छौं ।’