जनगणना २०७८ को तथ्याङ्कअनुसार कोशी प्रदेशका जम्मा १४ जिल्लामध्ये १० जिल्लाको जनसङ्ख्या घटेको देखिएको छ ।
अघिल्लो दश वर्षको तुलनामा जनसङ्ख्या घटेका जिल्लाहरूमा खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटा, ओखलढुङ्गा, ताप्लेजुङ, इलाम, सोलुखुम्बु र सङ्खुवासभा छन् । सुनसरी, मोरङ, झापा र उदयपुरको जनसङ्ख्या भने बढेको पाइएको छ ।
देशभरमा जम्मा ३४ जिल्लाको जनसङ्ख्या घटेको देखिएको छ । जनसङ्ख्या घट्नुको प्रमुख कारण बसाइँ सराइ रहेको पाइएको छ । जनसङ्ख्या घटेका जिल्लाहरू पहाडी र हिमाली क्षेत्रमा छन् भने तराईमा जनसङ्ख्याको चाप बढेको छ । हिमाली र पहाडी क्षेत्रबाट प्रमुखरूपमा रोजगारी, स्वास्थ्य, शिक्षा तथा विकासका पूर्वाधारको अभावले बसाइँ सर्नेहरू बढेको देखिएको छ । जनगणनाको नतिजाअनुसार कुल जनसङ्ख्याको ३२ प्रतिशत अर्थात् ९३ लाख ४१ हजार ४ सय ८ जना मानिस बसाइँ सरेको पाइएको छ ।
३५ लाख ६७ हजार ९ सय २१ जना विवाहको कारण बसाइँ सरेको देखिएको छ । यो कारणले बसाइँ सर्नेमा पुरुष ४३ हजार ९ सय ६३ जना र महिला ३५ लाख २३ हजार ९ सय ५८ जना रहेका छन् । कामका कारण पनि बसाइँ सर्नेको सङ्ख्या बढिरहेको छ । कामको खोजीमा बसाइँ सर्नेको सङ्ख्या ३० प्रतिशत रहेको छ ।
त्यस्तै सबैभन्दा थोरै जनसङ्ख्या रहेका देशका पाँच पालिकामध्ये कोशी प्रदेशका नै तीनवटा छन् । सबैभन्दा कम जनसङ्ख्या भएका पाँच नगरपालिकाहरूमा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, सङ्खुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालीगुराँस र सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिका रहेका छन् भने धेरै जनसङ्ख्या भएका पाँच नगरपालिकामा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिका रहेका छन् भने सबैभन्दा धेरै जनसङ्ख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६२ हजार ४ सय र सबैभन्दा कम जनसङ्ख्या भएको ठूलीभेरी नगरपालिकामा ९ हजार ८ सय ६१ जनसङ्ख्या रहेको छ । २० हजार भन्दा कम जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या १४ रहेको छ भने १ लाखभन्दा बढी जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या ३७ रहेको छ ।