विजयपुुर । दशकअघिसम्म धरानका सिनेमा हल भरिभराउ हुन्थे । एकैदिन चार ‘शो’ सम्म लाग्थ्यो । अहिले धरानका ती पुराना सिनेमा हल सुनसान मात्रै छैनन्, ताला नै लागेको अवस्था छ ।
धरानको सिनेजगत्मा दुई हल चर्चित थिए, शिवसिनेमा र गणेश टाकिज । अहिले दुवै हल थलिएका छन् । दुवै हलको गेटमा ताला लागेको छ । धरान–१२ चतरालाइनस्थित शिवसिनेमा हलमा ताला लागेको झण्डै ५ वर्ष भएको छ । हल परिसरमा झार उम्रिएको छ । हप्तैभरि नेपाली र हिन्दी सिनेमा हेर्न दर्शकले भरिभराउ हुने सिनेमा हल अहिले सुनसान भएको छ । सो हलनजिकका स्थानीय ध्रुव श्रेष्ठ एक दशक अघिसम्म सिनेमा हलमा पूर्वका प्रायः जिल्लाका मानिसहरू सिनेमा हेर्न आउने गरेको बताउँछन् । उनी भन्छन्, ‘त्यतिबेला यो पूर्वाञ्चलमा नै राम्रो हल मानिन्थ्यो । राम्रो चल्थ्यो पनि ।’
उनको भनाइमा हप्ताका ६ दिन यहाँ ‘दैनिक तीन ‘शो’ चल्थ्यो भने शनिबार चार ‘शो’ चल्थ्यो । शिवसिनेमा हलमा दर्शकलाई टिकट पाउन हम्मेहम्मे पथ्र्यो । स्थानीय विरु राई भन्छन्, ‘१० वर्षअघि दर्शकको चाप धेरै थियो । कोरोना भाइरस आउनुभन्दा केही वर्षसम्म सामान्य चले पनि पहिलेको जस्तो चार्म थिएन ।’ धरानको पुरानो शिवसिनेमा हल २०१० कै दशकमा सञ्चालित रहेछ । ५४ वर्षीय हल सञ्चालक वीरेन्द्र आचार्य भन्छन्, ‘हजुरबाले नै सञ्चालन गर्नु भएको थियो । अहिलेको हल बुबाले २०२८ सालमा उद्घाटन गर्नुभएको थियो ।’
साढे १० कठ्ठा क्षेत्रफलमा निर्मित १ हजार सिट क्षमताको सिनेमा हल अहिले थलिएको छ । यस्तै धरानको केन्द्र ुभानुचोकमा अवस्थित गणेश टाकिज हलमा पनि ताला लागेको छ । हजारभन्दा बढी सिट क्षमता भएको हल अहिले ‘फिल्म’ प्रचार–प्रसार गर्ने स्थान बनेको छ । हलका वालमा ‘फिल्म’ का पोष्टर टाँसिएका छन् । हल २०३५ सालदेखि सञ्चालनमा आएको थियो । २०३७ सालदेखि गणेश टाकिज हलमा काम गरेकी कौशिला राई भन्छिन्, ‘विगतमा त प्रायः ‘हाउस फुल’ हुन्थ्यो । दर्शकले टिकट नै पाउँदैनथे । मारामार हुन्थ्यो ।’ उनी थप्छिन्, ‘३ बजेको शो हेर्न ८ बजेदेखि नै दर्शक लाइनमा बस्थे ।’ उनका अनुसार कोरोनाकालभन्दा अघिसम्म हल सामान्य सञ्चालनमा थियो । कोरोनापछि भने हल पूर्णरूपमा बन्द रहेको छ ।
चलचित्र क्षेत्रको व्यावसायिकताका लागि धरान राम्रो बजार थियो । तर, आजभोलि धरानका ‘सिनेमा हल’ थलिएका छन् । हल सञ्चालनमा चलचित्रकर्मीको पनि ध्यान गएको देखिँदैन । शिव सिनेमा हलका सञ्चालक वीरेन्द्र आचार्यका अनुसार शिव सिनेमा हल कोरोनाकाल अघिसम्म गोपीकृष्ण सिनेमा हल सञ्चालकले भाडामा सञ्चालन गरेका थिए । कोरोनाकाल सुरु हुनुअगावै सम्झौता सकिएसँगै हल बन्द भयो । धरानका ठूला दुईवटा हल बन्द भएपछि धरानका दर्शक सिनेमा हेर्नका लागि धरानबाहिर जाने गरेका छन् । अब धरानका सिनेमा हलमा पहिलेजस्तो आकर्षण होला त ? भन्ने जिज्ञासामा चलचित्र निर्देशक सङ्घका महासचिव अरुण प्रधान सम्भावना बलियो रहेको बताउँछन् । उनी भन्छन्, ‘धरानमा राम्रो सम्भावना छ । मल्टीफिकेशन हल बनाउनु पर्छ । एउटै भवनमा दुईसय सिट क्षमताको तीन–चारवटा हल बनाए राम्रो हुन्छ ।’
उनी पहिले एउटै फिल्म लामो समय हलमा चल्ने भएकाले दर्शकको भीड हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘पहिले लामो फिल्म रिलिज हुन्थे । अहिले धेरै रिलिज हुन्छन् । छनौट गरेर मात्रै दर्शक हलमा आउँछन् ।’ धरानको सिनेमा हल सञ्चालनका लागि के गर्नुपर्छ ? भन्ने जिज्ञासामा याक्थुङ चलचित्रकर्मी सङ्घका सल्लाहकार तथा निर्देशक प्रेम सुब्बा धरानमा हलको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘परम्परागत सिनेमा हल डिजिटल रूपमा आएपछि विस्थापित बन्न पुगे ।’ उनी चलचित्रका कन्टेण्ट र हल गुणस्तरीय नभएकाले दर्शक आउन छाडेको बताउँछन् । उनी भन्छन्, ‘कोभिडका कारण दर्शकको हलमा चलचित्र हेर्ने बानी पनि छुट्यो । सबै चलचित्र युटुयुबमा आइहाल्छन् भनेर दर्शक आउँदैनन् ।’ हल चलाउन गाह्रो हुने बताउँदै उनले भने, ‘धरानको मात्रै होइन, अन्यत्रका पनि हल बन्द भए ।’
धरानमा सिने क्षेत्रमा काम गर्नेहरूले ‘सिनेमा हल’ चल्ने सम्भावना राम्रो रहेको बताइरहँदा हल सञ्चालकहरू चलाउने तयारीमा छन् वा छैनन् त ? यसबारे जिज्ञासा राख्दा शिव सिनेमा हलका सञ्चालक वीरेन्द्र आचार्य सुविधा सम्पन्न हल निर्माणको लागत उच्च पर्ने बताउँछन् । उनी भन्छन्, ‘अब नयाँ बनाउने सोच छैन ।’ गणेश टाकिज हलका सञ्चालक अनिल श्रेष्ठ भने हल सञ्चालन गर्ने सोचमा रहेको बताउँछन् । उनी भन्छन्, ‘चलचित्र हल रमाइलो क्षेत्र हो । अनिवार्य आवश्यकता नभएकाले सरकारले सहयोग गर्दैन । कर बढी लाग्छ ।’ हलको स्तरोन्नति गरेर सञ्चालन गर्ने उनी बताउँछन् ।
अपग्रेड छैनन् हल
समय परिवर्तनसँगै सिनेमा हललाई आधुनिक बनाउनु पर्ने हो । धरानका सिनेमा हलको स्तरोन्नति नगरेका कारणले नै बन्द हुने अवस्थामा पुगेका छन् । निर्देशक प्रेम सुब्बा परम्परागत हललाई डिजिटलाइज गर्नुपर्ने बताउँछन् । अहिले सुविधा सम्पन्न हल खुलेकाले नै पुराना हल बन्द हुने अवस्थामा पुगे । निर्देशक सङ्घका महासचिव अरुण प्रधान सिनेमा हलमा टु डी, थ्री डी आइसके पनि धरानका सिनेमा हल अपग्रेड नभएकाले चल्न नसकेको बताउँछन् । लामो समय धरानमा सिनेमा हल नै नभएकाले दर्शक इटहरी गए । प्रधान भन्छन्, ‘परम्परागत र ठूला हल चल्दैनन् । स्तरोन्नति गर्नुपर्छ ।’ गणेश हल सञ्चालक अनिल श्रेष्ठ पुरानो सिस्टमले नचल्ने बताउँदै भन्छन्, ‘रेनुभेशनमा जान्छौँ । बाउबाजेको प्रसाद मास्दैनौँ । आधुनिक हल बनाउँछौँ ।’