धरान । बदलिँदो राजनीतिक घटनाक्रमसँगै पहिचान साहित्यले प्रवेश पाउन थालेको स्रष्टा तथा कविहरूले बताएका छन् ।

गुरुङ साहित्यिक मञ्च नेपालको इटहरीमा मङ्गलबार सम्पन्न छैठौँ साधारणसभाका क्रममा गरिएको ‘प्यानल छलफल’ का क्रममा सहभागी कविले पहिचान साहित्यले नयाँ स्थान बनाउन थालेको चर्चा गरेका हुन् । साहित्यमा गुरुङ स्रष्टाको उपस्थिति विषयक छलफलमा सहभागी कवि चन्द्र गुरुङले भने, ‘पछिल्लो समय पहिचान महŒवपूर्ण विषय बनेर आएको छ । यसमा धेरै स्रष्टाहरूले लेखिरहेका छन् । सिर्जनशील अराजकता, इतर साहित्य अभियानले यही मुद्दालाई उठाएको छ ।’

साहित्यमा भित्रिएको उत्तर आधुनिकतावादसँगै नेपाली साहित्यमा पनि पहिचान साहित्यले नयाँ स्थान बनाइरहेको छ । तर, कवि गुरुङले आफूले चाहिँ आफ्नो कविता कृतिमा पहिचान साहित्यलाई प्रवेश गराउने कोशिस गरे पनि अभियानकै रूपमा चलाउन नसकेको प्रतिक्रिया दिए । ‘पहिचानको साहित्यिक कोशिस गरेँ तर, त्यति धेरै गर्न सकिनँ, यस मुद्दालाई अन्य कविहरूले उठाइरहेका छन्’ उनले भने, ‘विस्तारै आदिवासी जनजातिका पहिचानका कुराहरूलाई सशक्त रूपमा ल्याउनुभएको छ । विस्तारै आइरहेको छ ।’

छलफलमा सहभागी भारत सिक्किमा कवि तथा समालोचक जय गुरुङले भने, ‘साहित्यले सिमानालाई त मान्दैन । यद्यपि एउटा राजनीतिक सीमाले नेपाल र भारतलाई बाँधेको छ । त्यहाँ गुरुङ साहित्यकारहरूले पनि नेपाली भाषामै लेखिरहेका छन् । भारतमा गुरुङ साहित्य चाहिँ न्यून नै छ, शून्य नै छ ।’ भारतमा नेपाली साहित्यका आदिकवि मानिएका भानुभक्त आचार्यभन्दा अगाडि नै गुरुङ साहित्यकारहरूको उदय भएको उनले बताए । तर, गुरुङ भाषामै साहित्य नआएको उनको भनाइ छ । ‘जातीय चेतना चाहिँ भर्खर भर्खर मात्रै आउन थालेको छ’–उनले भने ।

कार्यक्रमको आदिभागमा भाषा संरक्षणमा हाम्रो अवसर र चुनौतीका विषयमा परिचर्चा गरिएको अध्यक्ष गौरी तमूले बताइन् । उनले उक्त परिचर्चामा भारत सिलिगुडीका सुरज गुरुङ, सिक्किमका चन्द्र गुरुङ र तमू ह्युल छोज धिँ राष्ट्रिय परिषद्का अध्यक्ष केशरमान गुरुङले आफ्ना तर्कहरू पेश गरेका थिए ।

यस्तै अन्त्यभागमा समावेशी रचना वाचन गरिएको थियो । जसमा कोशी प्रदेश तथा प्रदेशबाहिरका २८ जना स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए । त्यसक्रममा धरानस्थित विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष तथा संरक्षक पूर्णबहादुर गुरुङलाई सम्मान–पत्रसहितले सम्मानित गरिएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान–पत्रसहित दोसल्ला ओढाएका थिए । कार्यक्रममा गुरुङ र अन्य भाषाका पुस्तकहरू प्रदर्शनीमा राखिएको थियो ।