सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेज क्षेत्रमा सञ्चालित माछा पसलहरूमा अस्वस्थकर माछाका विभिन्न प्रकार बनाई बिक्रीवितरण भइरहेकोे गुनासो आएको छ ।
प्रभावकारी तवरले बजार अनुगमन नहुँदा बजारमा अस्वस्थकर माछासँगै अन्य अखाद्य वस्तु बिक्री वितरण भइरहेको पाइएको हो । कहिलेकाहीँ मात्र बजार अनुगमन हुँदा जिल्लाका अधिकांश स्थानीय तहका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू गैरकानूनी रूपमा सञ्चालनमा स्थानीय बताउँछन् । सुनसरी र सप्तरी जिल्लास्थित अवस्थित कोसी ब्यारेजक्षेत्रमा कोसीको नाम बेचेर भारतीय माछा व्यापार गरिँदै आएको स्थानीय दीपेन्द्र मण्डलले गुनासो गरे ।
स्थानीय तहका जनप्रतिनिधि र सरकारी अनुगमन टोलीले घुमेर अनुगमन गरेर ढोल पिट्ने काम मात्र भएको स्थानीयको आरोप छ । सरकारी निकायले सक्रिय भएर बजार अनुगमन गरेको बताइरहँदा जिल्लामा व्यापारीको मनपरी बढेको उनीहरूले गुनासो गरे । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमा नै अनुगमन नहुँदा व्यापारीले मनपरी गर्दै आएको अर्का स्थानीय शिवकुमार उराँव बताउँछन् ।
केही महिनाअगाडि कोसी गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनितादेवी यादवको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा समेत कोसी गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू गैरकानूनी रूपमा सञ्चालनमा रहेको पाइएको थियो ।
बजार अनुगमनका क्रममा कोसी गाउँपालिका–८ भण्टाबारी र कोसी ब्यारेजक्षेत्रमा सञ्चालन रहेका अधिकांश पसलहरूमा म्याद गुज्रेका सामान बिक्री गरिनुका साथै दर्ता नै नगरी गैरकानूनी रूपमा सञ्चालनमा रहेको पाइएपछि ती पसल सञ्चालकहरूलाई पसल कानूनीरूपमा दर्ता गरी व्यवस्थित गर्न निर्देशन दिइएको थियो । यद्यपि त्यो निर्देशन कार्यान्वयनमा आएको पाइएको छैन । जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबाट खटिने टोलीले कहिलेकाहीँ गर्ने अनुगमन देखाउनका लागि मात्र हुने गरेको स्थानीय ललित यादवको गुनासो छ । ‘बजारमा व्यापारीको मनपरी बढेको बारे ध्यानाकर्षण गराउँदा जनप्रतिनिधि र कर्मचारीबाट सक्रियताका साथ बजार अनुगमन भइरहेको छ’ उनले भने, ‘तर, सरकारी टोलीले बजारको मनपरीलाई देखेको नदेखे झैं गरिरहेका हुन्छन् ।’
बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरिरहेको पाइएपछि दिइएको निर्देशन कार्यान्वयन नभएपछि कोसी गाउँपालिकाले होटल व्यवसायीसँगै उपभोक्ता सचेतीकरण गर्ने कार्य गर्दै आएको कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव बताउँछिन् ।
व्यवसाय सञ्चालन गर्दा व्यक्तिगतसँगै पसलको सरसफाइ, बजारमा अखाद्य वस्तु बिक्री वितरणको अवस्था, त्यसबाट भावी दिनमा पर्न सक्ने जोखिम, बच्न सकिने उपाय, अपनाउनु पर्ने सावधानीलगायतका बारे निरन्तर सहजीकरण गर्ने कार्य भइरहेकोे उनको दाबी छ । बजार अनुगमनका क्रममा सञ्चालनमा रहेका अधिकांश पसलहरूमा म्याद गुज्रिएका सामान बिक्री गरिनुका साथै दर्ता नै नगरी गैरकानूनी रूपमा अव्यवस्थित तरिकाले सञ्चालनमा रहेको पाइएको हुँदा त्यस्तालाई लक्षित गरेर आफूहरूले सचेतीकरण कार्यक्रमलाई निरन्तरता दिएको उपाध्यक्ष यादवले दाबी गरिन् ।
‘समय–समयमा बजार अनुगमन गर्दै आएका छौं तर, पनि कतिपय स्थानमा उपभोक्ता ठगिएका गुनासो आउने गर्छन्; त्यस्ता मनपरी र कालोबजारी रोक्न हामी लागिरहेका छौं’–उनले भनिन् । अनुगमन नहुँदा बजारमा उपभोक्ता ठगिने गरेको गुनासो आउने गरेकाले जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरेर बजार अनुगमन कार्यलाई तीव्रता दिएको सुनसरी प्रशासनले जनाएको छ ।