बिर्तामोड । झापाको बिर्तामोड–५ मा सञ्चालित मयुर बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नदिएपछि पीडितहरूले प्रशासन गुहारेका छन् । बचतकर्ताको रकम फिर्ता नदिएर १५ दिनदेखि कार्यालय बन्द गरेपछि पीडितले प्रशासन गुहारेका हुन् ।
सहकारीका अध्यक्ष, सञ्चालक तथा प्रबन्धक दमकका दिनेश घिमिरेले बचत रकम अपचलन गरेको आरोप लगाउँदै बचतकर्ताहरूले प्रशासनमा उजुरी दिएका थिए । उनीहरूले आफ्नो बचत रकम फिर्ताको माग राखेका छन् । प्रशासनको निर्देशन बमोजिम इलाका प्रहरी कार्यालय अनारमनीले मङ्गलबार दुवै पक्षलाई छलफलका लागि डाकेको थियो । इप्रकामा भएको छलफलमा घिमिरेले बचत फिर्ता दिने रकम नभएपछि सहकारी बन्द गरेको स्वीकार गरे । उनले सबै बचतकर्ताको रकम क्रमशः फिर्ता गर्नेसमेत बताए ।
कोशी प्रदेशभरि कारोबार गर्न अनुमति पाएको सहकारीले सञ्चालनको ११ वर्षसम्म बैङ्क खातासमेत सञ्चालन नगरेको पाइएको छ । संस्थाको कुनै पनि बैङ्कमा खाता नभएको थाहा पाएपछि बचतकर्ताहरू सशङ्कित बनेका थिए । सञ्चालक घिमिरेले आफ्नै नामको बैङ्क खाताबाट सहकारीको कारोबार गर्ने गरेको बचतकर्ता लता खरेलले जानकारी दिइन् ।
घिमिरेले धितो बन्धकसमेत आफ्नै नाममा राजीनामा पास गर्ने गरेको उनको आरोप छ । खरेलका अनुसार अनौपचारिक कुराकानीका क्रममा घिमिरेले आफ्नो नाममा ३० बिघा जमिन रहेको बताउँदै आएका थिए । सर्वसाधारणको धितो व्यक्तिका नाममा राजीनामा पास गराउने गरेको फेला परेपछि सम्पत्ति असुरक्षित भएको पीडित पक्षको भनाइ छ । अर्का बचतकर्ता विक्रम फुँयालका अनुसार घिमिरेले आफू र आफन्तका नाममा विना धितो ऋण लगानी गरेका छन् । उनका नातेदार पुनम थापा र सालोको नाममा लाखौं ऋण लगानी गरेको उनीहरूको भनाइ छ ।
गत फागुन २३ गतेसम्मको रेकर्डअनुसार संस्थामा ३ करोड १२ लाख ब्यालेन्स देखिएको छ । संस्थामा २ करोड १८ लाख बचत देखिन्छ भने २ करोड २७ लाख ऋण लगानी भएको पाइन्छ । घिमिरेले अधिकांश ऋण कृत्रिम ऋणी खडा गरेर आफै चलाएको बचतकर्ताको आरोप छ ।
प्राप्त सूचनाअनुसार घिमिरेले आफू होटल व्यवसायमा लाग्ने भन्दै संस्थाका केही बचतकर्तालाई सहकारी सञ्चालनका लागि आग्रह गरेका थिए । बचतकर्तामध्येका फुँयालले सहकारी संस्था सञ्चालनको अनुभवसमेत भएकोले सहकारीभित्रको आर्थिक विवरण अध्ययन गर्ने क्रममा उक्त समस्याहरू फेला परेको थियो । संस्थाको नाममा खाता नभएपछि उनीहरूले राष्ट्रिय सहकारी बैङ्कमा घिमिरेले दिएको पत्रअनुसार खाता खोलेको समेत बताएका छन् ।
सो क्रममा फुँयालसहितको समूहले १३ लाख सञ्चालन खर्च तयार गरेर कामसमेत अघि बढाएको थियो । १० लाख खातामा जम्मा गरी ३ लाख संस्थामा राखेका उनीहरूले सहकारीभित्रको समस्या देखेर जिल्ला प्रशासनमा उजुरी गरेका थिए । जिल्ला प्रशासनले जिल्ला प्रहरीलाई पत्राचार गरेपछि इप्रकामा छलफलका लागि परिपत्र गरिएको थियो । त्यसैबीचमा समस्याको समाधान खोज्न फुँयालको समूहले जिल्ला सहकारी सङ्घलाई समेत आग्रह गरेको थियो । ‘सङ्घले दुवै पक्षलाई छलफलका लागि बोलाएको पनि थियो’ खरेलले भनिन्, ‘उक्त छलफलमा घिमिरे आफ्ना कुरा नराखी हिँडेपछि जिल्ला प्रशासन जान सङ्घले नै सुझाव दियो ।’
इप्रकामा भएको छलफलमा घिमिरेले तीन महिनाभित्र सबै सदस्यको बचत फिर्ता दिने सहमति गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीका अनुसार इप्रकामा भएको छलफलमा उक्त सहमति भएको हो ।