विजयपुर । धुलोका कारण धरान उपमहानगपालिका–६ तल्लो पानबारीका स्थानीय पीडित बन्दै आएका छन् । करिब दुई वर्षदेखि मदन भण्डारी राजमार्गको काम सम्पन्न नहुँदा धुलाले सडक आसपासका स्थानीय पीडित बन्दै गएका हुन् । धुलोकै कारण कतिपय बिरामी हुन थालेका छन् । 

निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत सेहरा खोलादेखि सरस्वती स्कुल दुर्गा चोकसम्म करिब अढाई किलोमिटरभन्दा बढी स्थानीयको जनजीवन प्रभावित बन्दै आएको छ । धुलोकै कारण स्थानीय गोमा रम्तेलले आफ्नो पसल तीन महिनादेखि बन्द गर्नुपरेको बताइन् । उनको मात्रै नभई सडकछेउका अन्य स्थानीयले पनि पसल बन्द गरेका छन् । उनी भन्छिन्, ‘धुलोले पसलमा बस्ने अवस्था हुँदैन । कपडा नष्ट नै भयो ।’ उनको मात्रै होइन, सडकछेउका अन्य स्थानीयले घरमा ढोका खोलेर खाना खाने अवस्था नभएको बताए ।

खाना बनाउँदै गर्दा पनि धुलो आएर भाँडामा पर्ने गरेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत मोरङको भलुवा खोलादेखि सर्दु खोलासम्म १४ किलोमिटर सडक निर्माणको काम श्रेष्ठ मोतीदान कन्स्ट्रक्सनले गत कात्तिकदेखि सुरु गरेको थियो । निर्माणाधीन सडकमा यात्रुवाहक सवारीसाधनसहित टिपर कुद्नाले धुलाम्मे बन्ने गरेको छ । धुलोका कारणले सडक आसपासका स्थानीय रोगी पनि बन्दै गएका छन् । स्थानीय मिरु राई सडक निर्माणको काममा स्थानीयको जनस्वास्थ्यमाथि खेलवाड गरेको बताउँछिन् । उनी भन्छिन्, ‘प्रत्येक घरमा बिरामी छन् । मान्छे नै नभएको विकास किन आवश्यक हो ?’ अर्का स्थानीय नेत्रप्रसाद काफ्ले भन्छन्, ‘धुलोले गर्दा एलर्जी र रुघाखेकीले स्थानीय बिरामी छन् । हामी दीर्घरोगी हुने भयौँ ।’

काम सुरु गरेदेखि डेढ वर्ष निरन्तर धुलोका कारणले स्थानीय रोगी बन्दै आएका हुन् । लामो समय धुलोमा बस्दा जनस्वास्थ्यमा कस्तो असर पर्छ त ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान फोक्सो रोग विभागका असिष्टेन्ट प्रोफेसर डा. दिव्यराज मिश्रका अनुसार धुलोका कारण जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन दुई प्रकारको असर देखा पर्र्दछ । धुलोमा काम गर्नेलाई पेसागत दीर्घकालीन रोग (अकुपेसनल लङ डिजिज) र सडकमा हिँडडुल गर्नेलाई छोटो समयमा नै सङ्क्रमण हुन्छ । डा. मिश्र भन्छन्, ‘दीर्घकालीनमा फोक्सोमा असर पर्छ ।

फोक्सो खुम्चिँदै गएर सास फेर्न गाह्रो हुन्छ । तर, धुलोको मात्रा धेरै भएमा चाँडै पनि दीर्घकालीन रोग लाग्छ । सामान्य धुलोले सङ्क्रमणबाट एलर्जी वा दीर्घकालीन एलर्जी पनि हुनसक्छ । सडकछेउका स्थानीय पीडित बने पनि स्थानीय सरकारले चासो नराखेको स्थानीयको गुनासो छ । सडकछेउका स्थानीय सुमन विकले स्थानीय पीडित बन्दा वडाध्यक्ष र नगरप्रमुखले चासो नराखेको गुनासो गरे । उनी भन्छन्, ‘वडाले चासो लिएको छैन । प्रदेश सांसद् पनि यहीँ छन् तर, समस्या समाधानमा पहल गर्दैनन् ।’ 

तर, कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत पहल नगरेको कुराको खण्डन गर्दै भन्छन्, ‘सदनमा पनि कुरा उठाएँ । ठेकेदार कम्पनीलाई बोलाएर पानी हाल्न लगाएँ । दुई दिन हाल्यो फेरि हाल्न छोड्यो । सधैँ यतैतिर मात्र लाग्नु पनि भएन ।’ नगरप्रमुखलाई सहजीकरण गरिदिन आग्रह गर्दै स्थानीय मिरु राई भन्छिन्, ‘भोट माग्ने बेलामा मात्रै चासो राख्छन् ।’ अत्यधिक मात्रामा धुलो उडे पनि ठेकेदार कम्पनीले पानी नहाल्दा स्थानीयबासी पीडित बनेका छन् । राई भन्छिन्, ‘पानी हालेजस्तो मात्रै गर्छन् ।’ 

वडाध्यक्ष भूपेन्द्र भट्टराईले आफ्नो घर भएतिर मात्रै पानी हाल्ने गरेको स्थानीयको आरोप छ । उनी भन्छिन्, ‘हाम्रोतिर हालेजस्तो मात्रै गर्छ । पानी हाल्दा पनि राम्ररी हाल्दैन ।’ वडाध्यक्ष भट्टराई भने स्थानीयको आरोपलाई खण्डन गर्दै भन्छन्, ‘मेरोतिर मात्रै पानी हालेको देखेमा ट्याङ्कर पक्रेर राख्नु भन्दिनू ।’ नगरप्रमुख हर्कराज राईलाई समस्याबारे पटक–पटक जानकारी गराएको वडाध्यक्ष भट्टराई बताउँछन् । स्थानीय मात्रै होइनन्, सरस्वती माविका धेरै बालबालिका धुलोका कारण समस्यामा छन् । विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ दाहाल भन्छन्, ‘स्थानीय त रोगी बने बने, विद्यार्थीलाई पनि असर गरेको छ ।’ 

धरान–६ का पूर्व वडाध्यक्ष भूवनसिंह बस्नेत भन्छन्, ‘धुलोले स्थानीयले खाना खान पाएका छैनन् । ठेकेदार कम्पनीले वडाध्यक्ष भूपेन्द्रको होटलमा पानी बोक्ने गरेको सुन्नमा आएको छ । वास्तविकता के हो ?’ यता वडाध्यक्ष भट्टराई पैसा नै दिन्छु भन्दा पनि ठेकेदार कम्पनीले पानी बोक्न नमानेको बताउँदै भन्छन्, ‘बोलेर मात्रै हुँदैन । पुष्टि गर्नुपर्छ ।’ उनी ठेकेदारलाई पानी दिन सक्ने अवस्था नभएको बताउँछन् । उनी भन्छन्, ‘पानी हाल्न सकेको अवस्था छैन । गिट्टी, बालुवाका कारणले ढिलासुस्ती भएको छ ।’ ठेकेदार कम्पनी श्रेष्ठ–मोतीदान कन्स्ट्रक्सनले ३० महिनाको ठेक्का पाएको छ । 

ठेकेदार कम्पनीका व्यवस्थापक सीताराम कार्की पानी हालिरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘दिनमा दुईपटक पानी हालिरहेका छौँ । हालेको एक–डेढ घण्टामै सुख्खा भइहाल्छ ।’ उनका अनुसार योजनाको लक्षभन्दा ३० प्रतिशत बढी काम भएको छ । उनी भन्छन्, ‘१४ किलोमिटरमा ९ किलोमिटर काम गर्न पाएका छौँ ।’ मदन भण्डारी सडक आयोजनाको कार्यालय दमकका इन्जिनियर अमितकुमार मण्डल पानी हाल्ने विषयमा ठेकेदार कम्पनीलाई भन्नुपर्ने बताउँदै पन्छिए । उनी भन्छन्, ‘समस्या छ । हामी आउँदा पानी हालेको देखिन्छ । असारसम्म कालोपत्रे सक्ने लक्ष्य छ ।’ अहिलेसम्म ५० प्रतिशत काम भएको उनको भनाइ छ । 

१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग झापाको बाहुनडाँगीबाट शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैंडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रूपालसम्म पुग्ने आयोजनाको लक्ष्य छ । आयोजना २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो ।