धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानमा पर्यासाहित्यमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको सृजना विमर्श समूहले आयोजना गरेको कार्यक्रममा मनकुमार राईले विजय हितानद्वारा सम्पादित पर्या कविता सङ्ग्रह स्वच्छन्द सुसेलीहरू–२ भित्रको ‘इको प्रेम पत्र’ कविता वाचन गरे ।
नेपाली पर्यासाहित्यको अङ्ग्रेजी भाषामा अनुसन्धान लेखन गर्दै गरेकी उपप्राध्यापक अनुपा वाग्लेले हितानका कथाको शक्तिमाथि प्रकाश पारिन् । पर्यासाहित्य प्राध्यापनरत उपप्राध्यापक डा.अस्मिता विष्टले हितानकृत ‘ब्लु प्लानेट’ का १५ वटै कथाहरूमाथि समालोचनात्मक विचार राख्दै सबै कथाहरूले पृथ्वीको पारिस्थितिक सन्तुलन गुम्न गैरहेको कुरालाई आख्यानिक तरिकाले अभिव्यक्त गर्न सफल रहेको भए पनि केही कथाहरूमा वातावरणीय समस्यालाई विवरणको रूपमा मात्र प्रस्तुत गरेको बताइन् ।
हितानले पर्यावरण साहित्यको आवश्यकता र महŒवका बारेमा प्रकाश पार्दै अबको संसारमा मानव अस्तित्वलाई जोगाइराख्न पनि पर्यावरणीय साहित्य लेखन अति आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली विभाग प्रमुख उपप्राध्यापक डा.दीपकप्रसाद न्यौपानेले डायस्पोरामा बसेर पनि नेपाली साहित्यको केन्द्रमा पर्यासाहित्य स्थापित हुनुमा पर्यावरणविद् तथा लेखक हितानको महŒवपूर्ण भूमिका रहेको चर्चा गरे । कार्यक्रमको सभापति अङ्ग्रेजी विभागका प्रमुख सह–प्राध्यापक डा. मोहनकुमार तुम्बाहाङ र यसको संयोजन र सञ्चालन सह–प्राध्यापक डा. रामजी तिमल्सिनाले गरेका थिए ।