वराहक्षेत्र । तपाईंले अन्तर्राष्ट्रिय कुस्ती रेसलिङका खेलाडी अन्डरटेकरको नाम त सुन्नु भएकै होला । चतरामा पनि यस्तै नाम गरेका युवा छन्, भन्दा अचम्म लाग्ला । तर उनी खेलको हैन, मोक्ष अर्थात् मानिसको मृत्यु पछिको संस्कार गर्ने युवा हुन् । उनी हुन्, विक्रम राई ।
चतरा दाह संस्कार गर्न आएकाले सम्झिने नाम हो, विक्रम राई । मान्छेको सद्गत गर्ने भएकाले उनलाई सबैले एकपटक स्मरण गर्छन् । बालक छँदा खेल्दै, कुद्दै नजिकको आर्यघाटमा जाँदा जाँदै शव जलाउन इच्छा जागेको उनलाई अहिले उमेर बढेसँगै त्यही रहर पेशामा बदलिएको उनी बताउँछन् । ‘ठ्याक्कै यति वर्षको थिएँ; त्यो त थाहा छैन तर ११–१२ वर्षको उमेरमा मैले लाश जलाउने काम सुरु गरेँ होला ।’ उनले कति पनि पढेका छैनन् । ‘एक कक्षा पनि पढेको छैन, यो कामबाहेक अर्को केही आउँदैन, फेरि लास जलाउन कुनै पढिराख्नु पर्दैन, सजिलो लागेर जीविकोपार्जनका लागि यही पेशा रोजेको हुँ’–उनी भन्छन् । वराहक्षेत्र नगरपालिका–१ चतरा बस स्टेन्ड घर भएका विक्रम बिहान उठेपश्चात् कहिलेकाहीँ रात नपरुञ्जेलसम्म आर्यघाटमा बित्ने गरेको सुनाउँछन् । मुख्य सप्तकोशी नदी त कहिले मुख्य नदीको शाखा सानो कोशीको घाटमा रातोदिन, घामपानी नभनी लास जलाउँदै गरेको देखिन्छन् ।
मृतकका आफन्तले लास लिएर आउँदै छौँ भनेर जानकारी गराएपछि तुरुन्त अह्राएको स्थानमा गएर लाशका लागि दाउराको व्यवस्था गर्ने, चिता बनाउनेदेखि सम्पूर्ण काम गर्छन् । ‘लास लिएर आउने निश्चित समय नभएकोले जुनसुकै बेला तयार रहनु पर्छ’–उनी भन्छन् । कति लिने गर्नुभएको छ त, लास जलाएको ? भन्दा उनी भन्छन्, ‘कुनै टुङ्गो हुँदैन मृतकका आफन्तले दाउरा आफैँले लिएर आए भने २ हजार रुपैयाँ भन्छु, दाउरा आफैँले दिनुपर्ने भए १२ हजारसम्म लिने गर्छु ।’ यति नै दिनुपर्छ भनेर जिद्दी भने नगर्ने उनी बताउँछन् । दाउराको मूल्य, मिहिनेतलगायतको पैसा लिने गरेको उनी बताउँछन् । झापाको दमकबाट आएको लिम्बू थरको लास जलाउँदा कामदेखि खुसी भई १३ हजार रुपैयाँसम्म दिएको स्मरण गर्छन् । ‘स्थानीयलाई कुनै निश्चित रेट तोकेको छैन । सके दिन्छन्, नसके माग्ने गरेको छैन । कहिलेकाहीँ निःशुल्क पनि गरिदिएको छु’ उनी सुनाउँछन्, ‘अरू पेशा आउँदैन फेरि पेट पनि पाल्नु छ, के गर्नु ? दिए लिन्छु, नदिए मानव सेवा भनेर आफ्नो कर्तव्य सम्झेर छोडिदिन्छु ।’
उनका अनुसार सद्गतबाटै मासिक सरदर २५ हजार रुपैयाँ कमाइ हुने गरेको छ । कहिलेकाहीँ दिनमा २–३ वटासम्म लाश जलाउने गरेको स्मरण गर्छन् । लास नआउँदा परिवार पाल्न धौँ धौँ हुने गरेको उनी सुनाउँछन् । चतरा आर्यघाटमा झापाको दमक, मोरङको बेलबारी, विराटनगर, विराटचौक, सुनसरीको इटहरी, झुम्का, धरानसम्मको लास जलाउन ल्याउने गरेको उनी बताउँछन् । हालसम्म करिब ५० भन्दा बढी लास जलाएको स्मरण गर्छन् ।
परिवार र समाजको सहयोग
४० वर्षीय राईलाई परिवार र समाजले पनि उस्तै सहयोग गरेको छ । यही कर्मबाट उनी ८ जनाको परिवार पाल्छन् । मासिक करिब १६ हजार रुपैयाँ खर्च हुने उनी सुनाउँछन् । पत्नी सविताका अनुसार आमालाई हप्तै पिच्छे अस्पताल लानुपर्ने बाध्यता छ । ती सबै काममा पतिको कमाइबाट चल्ने गरेको उनी सुनाउँछिन् ।
लास जलाउने पेशा सानो जातको भन्ने मानसिकता हटाउन राई लागिपरेका छन् । उनको कामलाई अहिले समाजले सम्मानका साथ हेर्ने गरेको छ । वराहक्षेत्र–२ बासी बिकी (विक्रम) राईले केही वर्षअगाडि आफ्नो आफन्तको मृत्युमा कुनै रकम बरु उल्टै मानवता देखाएर ठूलो सहयोग गरेकामा आफू प्रभावित भएको बताए । उनको कामलाई सबैले इज्जत गर्नुपर्ने उनले बताए ।