वराहक्षेत्र । वैदेशिक रोजगारीमा खाडी मुलुक साउदी अरब पुगेका १८ जना नेपाली बिचल्लीमा परेका छन् ।
काठमाडौँको बसुन्धारास्थित केपी इन्टरनेशनल ओभरसिज म्यानपावर कम्पनीमार्फत् साउदीको मक्का सहरमा मस्जिद क्लिनरको काम गर्न गएका उनीहरू अहिले काम नपाएर बिचल्लीमा परेका हुन् । कम्पनीले करार अनुसारको काम र सेवा सुविधा नदिएपछि अलपत्र परेको भन्दै स्वदेश फर्काइदिन आग्रह गरेका हुन् ।
करिब २ महिनाअगाडि गएका उनीहरू कामविहीन बनेका छन् । बिहान–बेलुका २ छाक खाना मात्र दिएको कामदार पर्वत जिल्लाको बेनी बजारका सद्दाम हुसैनले गुनासो गरे । ‘हामीलाई दिउँसो करिब ३ बजे अनि राति १० बजे खिचडी र जाउलो दिन्छ, शौचालय छैन, एकै ठाउँमा कोच्चिएर बस्नुपरेको छ’–बाराको कलैया जितपुर घर भएका तैयव मियाँ अन्सारीले भने । काम किन नदिएको भन्दा तालिम दिने भन्ने गरेको तर, हालसम्म कुनै पनि तालिम नदिएको रौतहटका शेख अन्सारुल हकले बताए ।
ओभरसिजले उनीहरूलाई सफाइ मजदुरका लागि प्रत्येक महिनाको १ हजार साउदी रियाल दिने सर्तमा विदेश पठाएको थियो । म्यानपावर कम्पनीले निःशुल्क खाने–बस्ने सुविधा, औषधिलगायतको सुविधा दिने भन्दै दुई वर्षको सम्झौता गरी पठाएको थियो । कम्पनीले आफ्नै टिकटमा नेपाल पठाउने सर्तमा २ वर्षको सम्झौता भएको बिचल्लीमा परेका पीडितहरूले ब्लाष्टकर्मीलाई पठाएको कागजपत्रमा उल्लेख छ । उनीहरूले हालसम्म कम्पनीको मालिक पनि नदेखेको जनाए । त्यहाँ आफूहरूलाई व्यवस्थापक बताउने एक बङ्गलादेशी नागरिकले नेपालले केही गर्न नसक्ने भन्दै दिएको खाएर बस, नत्र कोठाबाट निस्किएर जान धम्की दिँदै आएको उनीहरूले बताए । ‘कामका लागि कम्पनीसँग कुरा गर्न गयो, उल्टै उसले धम्क्याउँछ, नेपालको म्यानपावरसँग दैनिक गुनासो ग¥यो, हुन्छ, हुन्छ भनेको २ महिना बित्न लागिसक्यो । १ महिनापछि भिसाको म्याद पनि सकिन्छ, अनि हामी के गर्ने ?’ –पीडित मोहम्मद बिलालले भने ।
अल अवाम कम्पनीले उनीहरूको लागि ३ महिनाको प्रवेशाज्ञा जारी गरेको छ । यो कामदार आपूर्ति गर्ने सप्लायर कम्पनी रहेको उनीहरूले बताए । बिलालले आफूहरू कसैगरी नेपाल फर्कन चाहेको बताए । साउदीमा गएपछि चालक प्रमाण–पत्र लिन तथा अन्य प्राविधिक प्रक्रिया पूरा गर्न त्यहाँ गएका विदेशी कामदारलाई ३ महिनासम्म खाने–बस्ने सुविधा दिएर गाडी चलाउने तालिम दिइने गरिन्छ तर, सरसफाइ गर्ने श्रमिकलाई गएको भोलिपल्टबाटै काम दिने गरिएको उनीहरूको भनाइ छ ।
यसरी अलपत्र परेर नेपाल फर्किन चाहनेमा बाराको कलैया जितपुरका तैयव मियाँ अन्सारी, नजाम शेख र साह मन्सुर, रौतहटका शेख अन्सारुल हक र समिम, पर्साका मोहम्मद हासिम मियाँ, पर्वत बेनी बजारका सद्दाम हुसैन, धनुषाका साहबत राईन र मोहम्मद आलम, यसैगरी वीरगञ्जका शेख अफजल, शैयाद अन्सारी र सिमराका आजाद अन्सारी त्यस्तै रौतहटका मोहम्मद बिलाल, एमडी रमातुल्ला नदाब, मोहम्मद फैजल र इमाम रहेको उनीहरूले बताए ।
आफूलाई केपी इन्टरनेशनल ओभरसिजका पूर्व व्यवस्थापक बताउने हाल कुनै पदमा नरहेको दाबी गर्ने राजेश पौडेलले आफूले पाँच, आठ र छ जना गरी तीन समूहमा १८ जनालाई साउदी पठाएको बताए । ‘मैले पहिलो लटमा पठाएको ५ जनाले राम्रो सेवा सुविधामा काम गरिरहेका छन्, हिजोअस्तिसम्म मैले खुद पठाएको एक जनासँग बारम्बार कुरा गरेको छु, उनीहरूमा समस्या छैन । दोस्रो समूहमा पठाएको ८ जनाले सबैलाई भड्काएका छन्’–पौडेलले कामदारमाथि उल्टो आरोप लगाए । उनीहरूलाई हाउस किपिङमा पठाएको उनले बताए । एड्भान्स २ सय रियालसमेत दिएको उनको दाबी छ ।
तर, कामदारहरूले भने १ हजार रियालमा काम गर्न भनेर आएका आफूहरूलाई २ सय दिएर अल्मल्याएको बताए । उनीहरू प्रत्येकले म्यानपावरलाई २ लाखदेखि ३ लाख रकम बुझाएर साउदी गएको बताएका छन् । ठूलो कम्पनीमा भए बढीमा डेढ लाख रुपैयाँसम्म लाग्ने गरेको उनीहरूको भनाइ छ । रकम लिएकोबारे बुझ्दा पौडेलले आफूलाई त्यसबारे थाहा नभएको भन्दै एजेन्ट जवाफदेही हुने बताए । यस सम्बन्धमा केपी म्यानपावरका एजेन्ट जनकपुरको सरफराजलाई फोन गर्दा कम्पनीसँग कुरा गरेर सम्पर्क गर्ने बताएका थिए तर, पछि सम्पर्कमा आएनन् । त्यहीँका अर्का एजेन्ट निर्मललाई सम्पर्क गर्दा फोन महिलाले उठाउने साथै आफू झापाको कमला भएको भन्दै फोन काटिन् । यता राजेश पौडेलले कुनै समस्या नभएको भन्दै रमदान पर्व सकिन लागेकोले यही बुधबारसम्म समस्या समाधान गर्न अल अवामसँग कुरा गरिने र फर्कन चाहनेलाई नेपाल फर्काइदिने बताए ।