धरान । दुई उपमहानगरपालिका मात्रै रहेको कोशी प्रदेशअन्तर्गत सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाबीच सीमा विवाद फेरि बल्झिएको छ । सीमा विवाद बल्झिरहँदा देशका राष्ट्रिय मिडियादेखि स्थानीय मिडियासम्म दुई तथ्य आए । पहिलो तथ्य थियो–वि.सं. २०१० भन्दाअगाडि नै सिमाना छुट्याइएको हो । अर्को तथ्य थियो–धरान र इटहरीको सिमाना सेउती पुल हो ।

इटहरी धरान सीमा विवाद: हेमकर्ण भन्छन् 'संवादबाट समाधान गरौँ'

इटहरी धरान सीमा विवाद: हेमकर्ण भन्छन् 'संवादबाट समाधान गरौँ'

यी दुई तथ्य दाबी गर्नेमा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल थिए । सोमबार पत्रकार सम्मेलन गर्दै उनले यी दुई तथ्य दाबी गरेको समाचारहरू काठमाडौँका ब्रोडसिट पत्रिकाका अनलाइन तथा अनलाइन मिडियाहरूदेखि स्थानीय अनलाइनहरूमा समाचार प्रकाशित भए । यस विषयमा ब्लाष्टकर्मीले तथ्य जाँज गर्दा उक्त दाबी झुट रहेको प्रमाणित भयो । पहिलो तथ्यमाथि विभिन्न व्यक्ति तथा दस्तावेजहरू हेर्दा धरान र इटहरीको सिमाना वि.सं. २०१० भन्दाअगाडि नै छुट्याइएको होइन । किनकि त्योबेलासम्म सुनसरी भन्ने छुट्टै जिल्ला नै नभएको तथ्य फेला पर्यो । यसलाई मोरङ नै भनिने गरिएको इतिहासविद् हरि दाहाल बताउँछन् । राजा महेन्द्रले २०१८ साल वैशाख २० गते १४ अञ्चल र ७५ जिल्लामा राज्य पुनर्संरचना गरेपछि मात्रै मोरङ र सुनसरी अलग भएको हो । डा. भोजराज कडरिया र नारायणप्रसाद खतिवडाद्वारा लिखित कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामा प्रष्टसँग लेखिएको छ, ‘वि.सं. २०१८ वैशाख २० गते देशलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेर सरकारी कार्यालयबाट हुने कामलाई सजिलो बनाइयो । त्यसैलाई विकेन्द्रीकरणको सिद्धान्तअनुसार देशलाई गाविस, नगरपालिका, जिल्ला, अञ्चल, विकास क्षेत्रमा विभाजन गरी राज्य सञ्चालन गर्ने शक्तिलाई बाँडफाँड गरियो ।’

नगरप्रमुख साम्पाङले धरानकाे सिमाना छुट्याउन राखेको बोर्ड राष्ट्रिय युवा सङ्घ इटहरीले हटायाे

(3) धरान मेयरले पानीपियामा राखेको 'सिमा प्रारम्भ' बोर्ड राष्ट्रिय युवा सङ्घ इटहरीले हटायाे

प्रशासनिक तथा राजनीतिक विभाजन गर्दै आएको नापी विभाग वि.सं. २०१४ मा स्थापना भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचय खण्डमा उल्लेख छ । त्यहाँ भनिएको छ, ‘विभिन्न प्रकारका नक्साहरू तयार गर्न र सरकारको नापनक्सासम्बन्धी आवश्यकताहरू परिपूर्ति गर्नका लागि केन्द्रीय नापनक्सा संस्थाको रूपमा वि.सं. २०१४ मा नापी विभागको स्थापना भयो । विभाग स्थापनापश्चात् प्रारम्भिक समयमा मालपोत असुलीको लक्ष्य र उद्देश्यले कित्तानापीतर्फ नापी विभागको क्रियाकलाप लक्षित रह्यो । वि.सं. २०१९ मा जग्गा नापजाँच ऐन पारित भएपश्चात् नापी विभागले कित्ता नक्सा तथा श्रेस्ता विधिवत्रूपमा तयार गर्ने कार्य सुरु गर्यो ।’

अर्थसम्बन्धी जानकार डा. राजेन्द्र शर्माले पनि राजा महेन्द्रले २०१८ सालमा राज्य पुनर्संरचना गरेपश्चात् मात्रै सुनसरी र मोरङ भन्ने अलग–अलग जिल्ला भएको बताउँदै त्यसअघिसम्म सुनसरीको अस्तित्व नरहेको बताए । विद्वान् तथा माथिका दस्तावेजहरूका आधारमा पनि धरान–इटहरीको सिमाना २०१० सालभन्दा अगाडि नै कायम थियो भन्ने इटहरी नगरप्रमुख पौडेलको दाबी गलत रहेको देखिन्छ ।

अब अर्को तथ्य धरान–इटहरीको सिमाना सेउती खोलाको पुल हो । यो दाबीका लागि धरान उपमहानगरपालिका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका आ–आफ्ना बेवसाइटमा अपलोड गरिएको नक्साले प्रष्ट पारेको छ । स्वयम् इटहरी उपमहानगरपालिकाको वेबसाइटमा पनि सोही प्रकृतिको नक्सा अपलोड गरिएको छ । धरान, इटहरी र मन्त्रालयको वेबसाइटमा राखिएको तीनवटा नक्साले पनि धरान–इटहरीको सिमाना इटहरी–२० को पानीपियाभन्दा उत्तरपट्टिबाट सुरु हुने उल्लेख छ । यी तीनवटै नक्सा २०१४ सालमा स्थापित नापी विभागको सक्रियतामा निर्माण भएको हो । धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले ब्लाष्टकर्मीसँग र सामाजिक सञ्जाल फेसबुकमा यस्तो पोष्ट गरेका छन्, ‘धरानको आधिकारिक सिमाना हाँसपोसाको कृषि फारम उत्तरतिर शान्तिनगर जाने बाटोभन्दा ३ सय ३२ मिटर उत्तरदेखि सुरु हुन्छ । त्यस ठाउँबाट २.९५ कि.मी. उत्तरसम्म राजमार्गको पश्चिमपट्टि धरान र पूर्वपट्टि इटहरी हो । त्यस स्थानपछिको उत्तरतर्फ राजमार्गको दुवैपट्टि धरान हो । उक्त स्थानबाट सेउती खोलाको पुल २.४१ कि.मी. अझै उत्तरपट्टि पर्छ । यो गुगल म्यापले मात्र होइन, नेपाल सरकारको नापी विभागबाट जारी भई नेपालभरि प्रयोग गरिने नक्सा हो । यसैको आधारमा धरानको क्षेत्रफल १९२.३२ वर्ग कि.मी. र इटहरीको क्षेत्रफल ९३.७८ वर्ग कि.मी. नेपाल सरकारले कायम गरिदिएको हो ।’

यी दस्तावेजकै आधारमा पनि धरानको सिमाना सेउती पुल नभई पानीपियाभन्दा उत्तरपट्टि नै हो भन्ने प्रमाणित हुन्छ । त्यसकारण पनि इटहरीका नगरप्रमुख पौडेलको दोस्रो दाबी पनि गलत सावित हुन्छ ।

सिमानाबारे रोचक तथ्य
इटहरी उपमहानगरपालिका २०७१ साल मङ्सिर १६ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार ५ वटा गाविस तथा नगरपालिका मिलेर उपमहानगर घोषित भएको हो । धरान २०१७ सालमै नगरपालिका भएको हो । तर, धरान नगरपालिकाले सरकारले जारी गरेको नक्साबारे आर्थिक वर्ष २०६६÷०६७ मा निर्माण गरेको आवधिक योजनाको क्रममा मात्रै थाहा पाएको थियो । ‘सिमानाको बारेमा धरानले २०६६/०६७ मा आवधिक योजना निर्माण गर्दा मात्रै थाहा भएको हो’–धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले भने ।

अर्थसम्बन्धी जानकार डा. राजेन्द्र शर्माका अनुसार धरानको सिमानाबारे जानकारी भएपश्चात् नगरपालिकाको लर्निङ सेन्टरमा पत्रकार भेटघाट राखी नक्सा जारी गरेर देखाइएको थियो । ‘त्यो बेला पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो’ उनले भने, ‘त्यसपछि त्यहाँ सीमा बोर्ड राखिएको थियो ।’

इटहरी–धरान सीमा विवाद

विवादका शृङ्खला
धरानका नगरप्रमुख हर्क साम्पाङले आइतबार बोर्ड राखेपश्चात् चौथो पटक विवाद सतहमा आएको हो । नेकपा (एमाले) समर्थित युवा सङ्घ नेपालका युवाहरूले सिमाना छुट्याउनका लागि राखिएको बोर्ड उखेलेपश्चात् विवाद उत्पन्न भएको हो । तर, यो पहिलो विवाद भने होइन । २०६६ सालमा हालका नगरप्रमुख साम्पाङले राखेको क्षेत्रतिरै धरानको सिमानाको बोर्ड टाँगिएको थियो । त्यो बेला पनि विवाद उत्पन्न भएको जानकारहरू बताउँछन् । डा. शर्माले भने, ‘त्यतिबेला ७ दलीय संयन्त्रको निर्णयमा पानीपियामा बोर्ड टाँगिएको थियो, हल्काफुल्का विवाद गरेको थियो, यस्तो विवाद थिएन ।’ त्यसबेला हाँसपोसा गाविस रहेको थियो ।

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनपछि आएका इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी हुँदाताका पनि विवाद चर्किएको थियो । त्यसबेला इटहरीका नगरप्रमुख चौधरी र धरानकी तत्कालीन कार्यवाहक प्रमुख मञ्जु भण्डारीबीच धरानमा छलफल भएको थियो । छलफलले सिमाना यकिन गर्ने सहमति भए पनि थप पहल हुन सकेन । फलतः निष्कर्षमा पुग्न सकेन । त्यस्तै २०७६ सालको उपनिर्वाचनपश्चात् धरानका नगरप्रमुख तिलक राईको पालामा पनि विवाद उब्जिएको थियो । त्यसबेला पनि समाधान हुन सकेन ।