सुनसरी । कोसी गाउँपालिका क्षेत्रमा कृषियोग्य जग्गामा दाना बनाउने उद्योग खुल्ने भएपछि विवाद उत्पन्न भएको छ ।
भरतपुर महानगरपालिका–३ चितवनको गौरीशङ्कर एग्रो इण्डष्ट्रिज प्रालिले कोसी गाउँपालिका–१ र ३ मा निर्माण गर्न लागेको सो दाना उद्योगविरुद्ध किसानले आपत्ति जनाएका छन् । किसानहरूको माग जायज भएको भन्दै कोसी गाउँपालिकाले पनि समर्थन गरेको छ ।
कोसी गाउँपालिका वडानम्बर १ र ३ स्थित राजा पोखरीक्षेत्रको कृषियोग्य जग्गामा निर्माणाधीन दाना उद्योगबाट आफूहरूको जीवनयापनमा नै असर पर्ने भन्दै त्यसलाई रोक्नुपर्ने किसानहरूले अडान लिएका छन् । किसानहरूले ध्यानाकर्षण गराएपछि कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले गौरीशङ्कर एग्रो इण्डष्ट्रिज प्रालिलाई तत्काल निर्माण कार्य रोकेर छलफलमा आउन भन्दै वैशाख १९ गते पत्राचार गरेका थिए ।
पत्रमा निर्माणाधीन एग्रो इण्डष्ट्रिज कृषिक्षेत्रको जग्गामा अवस्थित रहेको तथा वर्षाको बेला बाढीको पानी बगेर जाने मुहानलाई असर पर्ने र उक्त जग्गा धान पकेट क्षेत्रमा पर्ने भएकाले हजारौं बिघा धान खेतीलाई समेत क्षति पु¥याउने सम्भावनाका बारेमा उल्लेख गर्दै सचेत गराइएको थियो ।
सोही कारण उक्त निर्माणाधीन उद्योगको निर्माण कार्य रोकी उक्त इण्डष्ट्रिजको उद्देश्य सहितको विवरण एवम् इण्डष्ट्रिजसँग सम्बन्धित सम्पूर्ण कागजपत्रसहित सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न भनिएको छ । कोसी गाउँपालिका अध्यक्ष अन्सारीद्वारा हस्ताक्षरित पत्र कम्पनीले कार्यान्वयन नगरेको भन्दै २४ गते आइतबार कोसी गाउँपालिकाले बाटो अवरुद्ध गरिदिएको थियो । गाउँपालिका अध्यक्ष अन्सारीले सोमबार बिहानै स्थानीय किसानहरूलाई भेला पार्दै उनीहरूको राय सल्लाह लिएर आफू किसानहरूको साथमा रहेको बताएका छन् । खेतीपाती गरी वर्षभर जीविकोपार्जन गर्ने गरिब किसानहरूलाई असर पर्ने गरी एग्रो इण्डष्ट्रिज निर्माणकार्य भइरहेकाले रोक्नुपर्ने स्थानीय किसान शिवराम मेहताले बताए ।
कम्पनीले पानी निकासी गर्ने बाटोदेखि अन्य कतिपय नियमअनुसार महत्वपूर्ण शर्त पूरा नगरेसम्म निर्माण कार्य अगाडि बढाउन नदिने अर्का किसान राजेन्द्र यादवले बताए । गाउँपालिका अध्यक्ष अन्सारीले कृषियोग्य जग्गामा दाना उद्योग खोल्ने भएपछि किसानहरूको चिन्ता स्वभाविक भएको बताउँछन् ।
पत्राचार गरेर दाना उद्योग निर्माण गरिरहेको गौरीशङ्कर एग्रो इण्डष्ट्रिज प्रालिलाई आवश्यक कागजात मागेको र कागजात बुझाएपछि कार्यपालिका बैठकमा त्यसबारे छलफल गरिने अध्यक्ष अन्सारीले बताए । किसानहरू आक्रोसित भएकाले उनीहरूको माग सम्बोधन भएको अवस्थामा मात्रै निर्माण कार्य अगाडि बढाउन आफूले ध्यानाकर्षण गराएको उनले बताए । यता गौरीशङ्कर एग्रो इण्डष्ट्रिज प्रालिका साइड इन्चार्ज किरण पोखरेलले दाना उद्योग निर्माण गर्ने क्रममा पानीको निकासाका सम्बन्धमा केही विवाद उत्पन्न भए पनि त्यसलाई प्राविधिक टोली गठन गरेर समस्या समाधान गरिने बताए ।
कोसी गाउँपालिका क्षेत्रमा वर्गीकरण अहिलेसम्म नभएको कारण कुन जग्गा कुन वर्गमा पर्ने भन्नेबारे यकिन हुन बाँकी रहेको र आफूहरू कानूनी प्रक्रिया पूरा गरेरै ६ बिघा क्षेत्रफल जग्गामा दाना उद्योग बनाउने क्रममा रहेको उनले बताए । दाना उद्योग निर्माण भएपछि स्थानीय किसानले मकैको उचित मूल्य पाउनेदेखि स्थानीयले रोजगारीसमेत पाउने भएकाले त्यसमा अवरोध नगर्न पोखरेलले आग्रह गरे ।