देउराली । धरान उपमहानगरपालिका–५ का महेन्द्र कार्कीले धरानमा टेम्पो चलाउन थालेको ३६ वर्षभन्दा बढी भयो । उनी पहिला टेम्पो चलाउन पेट्रोल प्रयोग गर्थे । एक वर्षयता भने उनले ग्याँसबाट चलाइरहेका छन् । उनी भन्छन्, ‘पेट्रोलबाट चलाउँदा दिनभरिमा ६–७ सय खर्च हुन्थ्यो । अहिले ग्याँसले चलाउँदा २ सय ५० रुपैयाँ खर्च हुन्छ ।’
धरान–१९ का टङ्कबहादुर योङ्हाङ पनि पेट्रोल छाडेर ग्याँसबाट टेम्पो चलाउन थालेपछि उत्साहित छन् । उनका अनुसार ग्याँस प्रयोग गर्दा पेट्रोलको तुलनामा मासिक १३ देखि १५ हजार रुपैयाँ खर्च बचत हुने गरेको छ । उनी भन्छन्, ‘ग्याँस प्रयोग गर्दा टेम्पो धुवाँ र आवाजरहित हुने भएकाले आफ्नो स्वास्थ्य र वातावरणमा पनि फाइदा हुने रहेछ ।’
कार्की र योङ्हाङले टेम्पो चलाउन प्रयोग गर्ने ग्याँस धरानकै फोहोरबाट उत्पादन गरिएको ‘कम्प्रेस्ड नेचुरल ग्याँस’ (सिएनजी) हो । हाल धरानमा २५ वटा टेम्पो सिएनजीबाटै चलिरहेका छन् । उनीहरूको अनुभवमा १ किलो ग्याँस हाल्दा धरानमा ३० किलोमिटर र तराई क्षेत्रमा ४० किलोमिटरसम्म टेम्पो चलाउन सकिन्छ । ६ वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धरान उप(महानगरपालिका र निजी क्षेत्रको ‘भेन्चर वेस्ट एण्ड इनर्जी प्रालि’ बीच फोहोरबाट ग्याँस र जैविक मल निकाल्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार धरान–६ को पानबारीमा १ बिघा २ कठ्ठा जग्गामा भेन्चर वेस्टले २६ करोडको लागतमा फोहोर प्रशोधन केन्द्रको स्थापना ग¥यो । २०७८ पौष २० गते धरान डे को अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्लान्टको उद्घाटन गरेका थिए । तर, धरानको फोहोर व्यवस्थापनका लागि महŒवाकाङ्क्षी यो योजनाले गति लिन सकेको छैन ।
हाल धरानको आधाजसो फोहोर भेन्चर वेस्टको प्लान्टमा पुर्याइन्छ । त्यसमध्ये जैविक फोहोरलाई छानेर प्रशोधन गरी सीएनजी निकालिन्छ । त्यही ग्याँस धरान–८ मा रहेको फिलिङ स्टेसनबाट मोडिफिकेशन गरी मल्टिफ्युल बनाइएका टेम्पोहरूले प्रयोग गर्दै आएका छन् । भेन्चर वेस्टका निर्देशक जोनेस श्रेष्ठका अनुसार ग्यास उत्पादनपछि बचेको फोहोरलाई पुनः प्रशोधन गरी प्राङ्गारिक मल बनाएर बिक्री गरिन्छ भने नकुहिने फोहोरमध्ये पुनः प्रयोग गर्न सकिनेलाई कवाडीमा बिक्री गरिन्छ । कवाडीमा पनि बिक्री नहुने २० देखि २५ प्रतिशत फोहोर भने धरान–इटहरी सडकनजिकै जङ्गलमा रहेको ल्याण्डफिल्ड साइडमा फाल्ने गरिएको छ ।
धरान उपमहानगरपालिकामा एक जना बराबर ०.३२ केजी (३ सय २० ग्राम) फोहोेर उत्पादन हुने तथ्याङ्क छ । २०७८ सालको जनगणनाअनुसार धरानको कुल जनसङ्ख्या १ लाख ६६ हजार ५ सय ३१ रहेको छ । जनसङ्ख्यालाई आधार मान्ने हो भने धरानमा दैनिक ५३ हजार २ सय ८९ केजी फोहोर निस्कने गर्छ । तर, धरान उपमहानगरपालिकाका वातावरण महाशाखा अधिकृत भेषराज घिमिरे धरानमा यति नै फोहोर उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्क नभएको बताउँछन् । उनी भन्छन्, ‘दैनिक ४५ देखि ५० टनको बीचमा फोहोर उत्पादन हुने गरेको हाम्रो अनुमान छ ।’
नेपालमा उत्सर्जन हुने फोहोरको ६० देखि ६५ प्रतिशत जैविक फोहोर हुने गरेको मानिन्छ । भेन्चर वेस्टका निर्देशक श्रेष्ठका अनुसार धरानबाट भने ५० प्रतिशतभन्दा कम जैविक फोहोर, २५–३० प्रतिशत पुनः प्रयोग हुने र २० देखि २५ प्रतिशत पुनः प्रयोग गर्न नसकिने फोहोर प्लान्टमा पुग्ने गरेको छ ।
५० टन फोहोर प्रशोधन गर्ने क्षमता भएको प्लान्टमा ३० टन जैविक र २० टन अजैविक फोहोर प्रशोधन हुने भेन्चर वेस्टका इन्जिनियर विवेक अग्रवाल बताउँछन् । उनका अनुसार प्लान्ट पूर्णरूपमा चल्दा २ हजार किलो ग्याँस उत्पादन गरी ४ सयदेखि ५ सयवटा टेम्पो सञ्चालन गर्न सकिन्छ ।
धरान उपमहानगरपालिकाको तथ्याङ्कमा धरानमा पेट्रोलबाट चल्ने ४५ सयभन्दा बढी टेम्पो छन् । ५ सय टेम्पोलाई मात्र सीएनजी ग्याँसबाट चलाउनसके पनि धरानमा टेम्पोबाट उत्सर्जन हुने कार्बन ११ प्रतिशतले कमी हुने अग्रवाल बताउँछन् ।
त्यतिमात्र हैन, सय केजी ग्याँसले दुई सय लिटर पेट्रोलको खपत विस्थापित गर्ने भएकाले वर्षमा ९ लाख लिटर पेट्रोलको १२.५ करोड विप्रेषण बचत गर्ने निर्देशक श्रेष्ठ बताउँछन् । प्लान्टमा ग्यास निकालिसकेपछि जैविक फोहोरबाट निकालिने बायो मल प्रति २ केजीको प्याकेट ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री गरिन्छ । ग्याँस बनाउन नमिल्ने अजैविक धातु, सिसा, कागजलगायत २५ प्रतिशत प्लास्टिजन्य फोहोर पुनः प्रयोग हुने भएकाले कवाडी र पुनः प्रयोग गर्ने कम्पनीहरूलाई बिक्री गरिन्छ ।
प्लान्ट सञ्चालनमा आएपछि ल्याण्डफिल्ड साइडमा जाने फोहोर ८० प्रतिशतले घट्ने भएकाले वातावरणीय क्षति कम हुने निर्देशक श्रेष्ठको दाबी छ । उनी भन्छन्, ‘पुनः प्रयोग नहुने फोहोरलाई पनि कसरी प्रयोग गर्ने भन्ने सोचिरहेका छौँ । नन्रिसाइक्लिङ वेस्टलाई फाइबर बनाएर फर्निचर बोर्ड र ब्लक बनाउन सकिन्छ ।’ फाइबर बोर्ड बनाउन एक निजी कम्पनीसँग छलफल भइरहेको उनले बताए । योजना सफल भएमा ६ प्रतिशतभन्दा कम फोहोर मात्र डम्पिङ साइडमा जाने उनको भनाइ छ ।
जनघनत्व कम भएका वडाहरू ४, ५, ६ र २० मा उपमहानगरले फोहोर सङ्कलन गर्दैन । ४२ हजार ३ सय ९६ परिवार सङ्ख्या रहेको धरानमा ४९ प्रतिशतको मात्र फोहोर सङ्कलन भइरहेको इन्जिनियर अग्रवाल बताउँछन् । उनका अनुसार प्लान्टमा अहिले उपमहानगरबाट दैनिक १८ देखि २० टन फोहोर जाने गरेको छ । त्यहाँ पुगेको फोहोरमध्ये २ टनमात्र जैविक फोहोर हुने भएकाले अहिले सोचे अनुरूप उत्पादन नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘सर्वेअनुसार ३० टन जैविक फोहोर हुनुपर्ने हो तर, अहिले २ टन मात्र आइरहेको छ । बाँकी आउन नसक्दा उत्पादन पनि कमी छ र टेम्पोको सङ्ख्या पनि बढाउन सकिरहेको छैन ।’
२०४३ सालदेखि धरानले वडानम्बर १५ को बाँझगरा सामुुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रलाई अस्थायी ल्याण्डफिल्ड साइडको रूपमा प्रयोग गरिरहेको छ ।
ग्याँस प्रयोगमा कानूनी समस्या
कानूनी समस्याका कारण भेन्चर वेस्टले ग्याँस उत्पादन बढाउन सकेको छैन । यो ग्याँस प्रयोग गर्न टेम्पोमा ग्याँस सिलिन्डरसहितको किट जडान गर्नुपर्छ तर, यातायात विभागले यसरी मोडिफाई गरेका साधनलाई सञ्चालन गर्न दिँदैन । निर्देशक श्रेष्ठ भन्छन्, ‘राजपत्रमा अनुमति दिने भनेर आइसकेको छ । सरकार पनि सकारात्मक देखिएको छ । तर, यातायातमा ढिलाइ भइरहेको छ ।’
यातायात व्यवस्था कार्यालय सुनसरीका प्रमुख राजकुमार गुप्ता भने यातायातका साधन सञ्चालन गर्न तोकिएको मापदण्ड पूरा गर्नै पर्ने बताउँछन् । उनी भन्छन्, ‘मोडिफिकेशनका लागि वर्कसप दर्ता गर्नुपर्र्छ, मन्त्रालयबाट स्वीकृति ल्याउनु पर्छ र सीएनजी सम्बन्धी तालिम लिएको दक्ष मिस्त्री हुनुपर्छ ।’ उनले मापदण्ड पूरा गरी अनुमति पाएपछि मात्र ब्लुबुकमा मोडिफिकेशन अनुसारको इन्धनको उल्लेख गरिने बताए ।
तर, विभागले कार्यविधि नबनाउँदा मापदण्ड कस्तो हुने र कसले प्रमाणीकरण गर्ने भन्ने अन्योल रहेको निर्देशक श्रेष्ठको भनाइ छ । सीएनजी ग्याँसको सिलिन्डर एलपीजी ग्याँसको सिलिन्डरभन्दा महँगो हुने भएकाले घरायसी प्रयोजनका पनि प्रयोग गर्न नसकिएको बताउँछन् । प्लान्टबाट उत्पादित मल पनि महँगो भएको भन्दै किसानले प्रयोग गर्न रुचि देखाएका छैनन् । अन्य वैकिल्पक ऊर्जाले पाउने कर छुटसमेत नपाउँदा समस्या भएको निर्देशक श्रेष्ठको भनाइ छ ।
सबै फोहोर जिम्मा दिने तयारी
धरान उपमहानगरपालिकाले भने फोहोर सङ्कलनको सबै जिम्मा भेन्चर वेस्टलाई नै दिने तयारी गरिरहेको छ । सम्झौता तयार भइरहेको वातावरण शाखा अधिकृत घिमिरेले बताए । भेन्चरले जिम्मा लिएपछि उपमहानगरको फोहोर सङ्कलन र व्यवस्थापनको वार्षिक खर्च करिब २ करोड बच्ने घिमिरे बताउँछन् ।
हाल फोहोर उठाएबापत उपमहानगरपालिकाले वार्षिक ६६ लाख कर सङ्कलन गर्ने गरेको छ । तर, उपमहानगरपालिकाले फोेहोर व्यवस्थापनका लागि वार्षिक ३ करोड ५० लाखदेखि ४ करोड खर्च गर्दै आएको छ । फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकामा ७० जना सरसफाइकर्मी र ८ वटा गाडी छन् । सम्झौता भए उपमहानगरका सरसफाइकर्मी र गाडी भेन्चर वेस्टको जिम्मामा जानेछ । तर, निजी क्षेत्रले जिम्मा पाएपछि धरानवासीले भने सरसफाइ शुल्क हालभन्दा बढी तिर्नुपर्ने आँकलन गरिएको छ ।