विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ होक्लाबारीका ३२ वर्षीय प्रवीण राईले स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारमा जाने निधो गरे । वैदेशिक रोजगारमा जानको लागि रहदानी (एमआरपी) बनाउनु पर्छ । उनी राहदानी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा दुई हप्ताअगाडि आएका थिए ।
राहदानी बनाउन सबैभन्दा पहिला फर्म भरेपछि प्रक्रिया अगाडि बढ्छ । त्यसको लागि उनी जिप्रका बाहिर रहेको अनलाइन फर्म भर्ने पसलमा गए । त्यहाँ गएर उनले राहदानी बनाउन अनलाइन फर्म भर्ने जानकारी गराए । इमरजेन्सी अहिले फर्म भर्ने मिति लिएर टोकन लिए २ हजार । पछि ३–४ महिना पछि आए पाँचसय रुपैयाँ लाग्ने प्रवीणलाई दलालले सुनाए । वैदेशिक रोजगारमा चाँडै गए पैसा कमाउने अभिलाषाले उनले फास्ट ट्रयाकको बाटो रोजे । २ हजार रुपैयाँ दलाललाई दिए र उनले राहदानीको लागि अनलाइन फर्म भरे । अहिले उनी राहदानीकोे प्रतीक्षामा रहेका छन् ।
यसैगरी विराटनगर–५ का रमेश राईले पनि राहदानीको अनलाइन फर्म भर्न दलाललाई एक हजार रुपैयाँ दिएर मात्र बनाउन फर्म भर्न पाएको बताए । ‘प्रशासनबाहिर खुलेका अनलाइन फर्म भर्ने पसलको सहारा नलिइकन हामीले फर्म भर्न नसकिने रहेछ । हप्ताको दुई दिन प्रशासनले अनलाइन फर्म खोल्दो रहेछ । अनलाइन फर्म खुलेको दिन हामीले प्रशासन कार्यालयमा सोझै गयौँ भने कर्मचारीले बाहिर अनलाइन फर्म भर्ने ठाउँमा पठाइदिन्छन्’ उनले भने, ‘अनलाइन फर्म भर्ने ठाउँमा मनलाग्दी पैसा लिने गर्दछन् । उनीहरूले भनेअनुसार पैसा नदिए पासपोर्टको लागि अनलाइन फर्म भर्ने पालै पाउन गाह्रो हुन्छ ।’ बाध्य भएर दलालले भनेअनुसारको रकम सेवाग्राहीले बुझाउन बाध्य छन् ।
यसरी दलालको फन्दामा परेका प्रवीण र रमेश प्रतिनिधि पात्र मात्र हुन् । अहिले जिल्ला प्रशासन कार्यालयबाहिर एमआरपी बनाउन आउने सेवाग्राहीसँग अनलाइन फर्म भरिदिएबापत मनलाग्दी रकम असुल्ने गरेको पाइएको छ । एमआरपीको लागि अनलाइन फर्म भरिदिएबापत सेवा शुल्क भनेर स्थानीय प्रशासनले २ सय रुपैयाँ तोकिदिएको छ । तर, प्रशासनबाहिर बग्रेल्ती खुलेका अनलाइन फर्म पसलले मनलाग्दी रूपमा सेवाग्राहीसँग रकम असुली धन्दामा लागेका छन् । उनीहरूले अनलाइन फर्म भरिदिएबापत १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म सेवाग्राहीबाट लिने गरेका छन् । प्रशासनबाहिर सेवाग्राही ठगीमा पर्दा पनि प्रशासन कार्यालय भने मौन रहेको छ ।
जिप्रका मोरङमा हप्ताको दुई दिन एमआरपी बनाउनको लागि टोकन खुल्ने गरेको छ । मङ्गलबार र शुक्रबार । मङ्गलबार १ सय २० र शुक्रबार १ सय १० जनाको लागि अनलाइन खुल्ने गरेको जिल्ला प्रशासन कार्यालय मोरङका पासपोर्ट शाखाका रवि तिम्सिनाले बताए । १ बजेपछि खुल्ने अनलाइन प्रशासन बाहिर बसेकाले ‘क्याप्चर’ गर्ने गरेका छन् । प्रशासनले अनलाइन खुलाएको एक घण्टामा कोटा पूरा गर्दछन् र उनीहरूले होल्डमा राख्ने गरेका छन् । ‘जुन दिन प्रशासनले अनलाइन खुलाउँछ । प्रशासनबाहिर बसेकाहरूले एक घण्टाभित्रमा उनीहरूले बढी पैसा लिएका व्यक्तिहरूको फर्म गरिदिने गरेका छन् । कम पैसा दिनेको ढिलो गरी लाइनमा हालिदिने गरेका छन् । ढिलो हुने भएकोले गर्दा पनि दलालले भने अनुसारको मनलाग्दी रकम तिर्न सेवाग्राही बाध्य छन्’–सेवा लिन आएका प्रवीणले भने ।
‘बढी रकम लिनेलाई कारबाही गर्छौ’
यता मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सेवा शुल्कको नाममा बढी पैसा असुल्नेलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘प्रशासनले तोकेको भन्दा बढी रकम कसैले पनि लिन पाउँदैन’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘यदि बढी रकम लिएको पाइए कारबाहीको दायरामा ल्याउनेछौं ।’ प्रशासनको नाम जोडेर पनि लेखापढी गर्नेहरूबाट सेवा शुल्कको नाममा बढी पैसा लिएको सूचना दिए तत्काल कारबाही गर्ने उनले बताए ।
‘जिल्ला प्रशासन कार्यालयबाहिर लेखापढी गर्ने व्यक्तिले यस कार्यालयको नाम जोडेर बढी सेवा शुल्क रकम लिन सक्छन् । त्यस्तो रकम नदिनुहोस् । कोही कसैले लिए दिएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही हुनेछ’ उनले भने, ‘कार्यालय परिसरभित्र र बाहिर सिसी क्यामेरामार्फत् गतिविधि निगरानी गरिएको हुँदा कोही कसैले कुनै पनि किसिमको गैरकानूनी क्रियालकाप गर्नु हँुदैन । यदि गरेको पाइए कारबाहीको भागीदार हुनुपर्दछ ।’
आधा दर्जन बढी दलाल कारबाहीमा
राहदानी बनाउन आउने सेवाग्राहीसँग बढी रकम लिने आधा दर्जन बढी दलाललाई प्रशासनले कारबाही गरेको छ । राहदानी बनाउन आउने सेवाग्राहीसँग मनलाग्दी रकम लिएको पाइएपछि आधा दर्जन बढीलाई कारबाही गरिसकेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले जानकारी दिए । ‘बढी रकम लिँदै राहदानीको फर्म भरिदिने गरेको पाइएपछि कारबाहीको दायरामा ल्याएका छौँ’ सहायक प्रमुख जिल्ला अधिकारी साहले भने, ‘पछिल्लो दुई महिनामा ८ जनालाई कारबाही गरिसकेका छौँ ।’ अहिले पनि बढी रकम असुल्दै सेवाग्राहीसँग रकम लिएको पाइए कारबाहीको दायरामा ल्याउने उनले बताए । ‘बढी रकम लिएको भनेर हामीलाई जानकारी दिनुहोस् । हामी तत्काल सुरक्षाकर्मी परिचालन गरेर कारबाहीको दायरामा ल्याउनेछौँ’–उनले भने ।
यसरी सेवाग्राहीसँग बढी रकम असुल्ने गिरोहलाई ठगी र अभद्र व्यवहारको मुद्दामा कारबाहीको दायरामा ल्याउने गरेको उनले सुनाए । ‘बढी रकम लिनेलाई कारबाही गरी धेरैजसो धरौटी रकम बुझाएर छुटेका छन्’ उनले भने, ‘सेवाग्राहीले बढी रकम लिएको गुनासो गरेपछि हामीले पक्राउ गरी धरौटीमा छोडेका छौँ ।’ अहिले पनि पुनः त्यस्तो क्रियाकलापमा संलग्न भएको पाइए कारबाहीको दायरामा ल्याउने उनले बताए ।