विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले नेपाल प्रहरी प्रधान कार्यालयको सरुवा नीतिअनुसार सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो तोकिएको दरबन्दीमा अनिवार्य रूपमा रवाना गराएर अगाडि बढ्ने बताएका छन् ।
विराटनगरमा मङ्गलबार आयोजना गरिएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी गिरीले त्यस्तो बताएका हुन् । कोशी प्रदेशमा पावरको भरमा २५ सयभन्दा बढी प्रहरी काजमा रहेका छन् । काजमा रहने प्रहरी सिनियर अधिकृतभन्दा जुनियर प्रहरी बढी छन् । उनीहरूको दरबन्दी पहाडी र विकट ठाउँमा रहेको छ । तर, पावर लगाएर उनीहरू सुगम ठाउँमा काजमा बस्दै आएका छन् ।
कतिपय सिनियर अधिकृतहरू ‘क’ वर्गको प्रहरी कार्यालयहरूमा काजमा कार्यरत रहेका छन् । उनीहरूलाई लक्षित गर्दै डिआइजीमा बढुवा भएर कोशी प्रदेश आएका बास्तोलाले प्रहरी कर्मचारीहरूमा दरबन्दीमा गएर काम गर्नुपर्ने भन्ने भावनाको विकास गराउन लागिपर्ने बताए । ‘काज पद्दतिलाई व्यक्तिको आवश्यकतामा भन्दा कार्यालयको आवश्यकतामा गर्ने परिपाटीको थालनी गर्नेछु’ उनले भने, ‘ प्रधान कार्यालयको सरुवा नीतिअनुसार सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो तोकिएको दरबन्दीमा अनिवार्य रूपमा रवाना गराएर पठाउनेछु ।’
भष्टचारमा शून्यसहनशीलताको नीति कडाइका साथ अवलम्बन गरेर अगाडि बढ्ने उनले बताए । प्रहरी पोसाक, ड्युटी दुरुस्त गर्ने, नम्र र शिष्ट भई कडाइका साथ कानूनको पालना गराउन आफू लागिपर्ने उनले बताए । नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवा प्रवाह गरी पीडित, गरिब, असहाय हरूलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने उनले बताए । इलाका प्रहरी कार्यालय स्तरसम्म रहेका नागरिक सहायता कक्षलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लागिपर्ने डिआइजी बास्तोलाले बताए ।
‘सेवाग्राहीसँग नम्र, मृदुभाषा प्रयोग गर्ने, क्षमतावान प्रहरी कर्मचारीहरूलाई जिम्मेवारी दिइनेछ’–उनले भने । फरार अपराधी पक्राउ तथा पेण्डिङ मुद्दाको फलोअपलाई तीव्रता दिएर अगाडि बढ्ने डिआइजी बास्तोलाले बताए । ‘सम्मानित अदालतसँगको समन्वय र सहकार्यमा विशेष टोली गठन गरी फरार अपराधी पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने योजना रहेको छ’ उनले भने, ‘पेण्डिङ मुद्दाहरूको फछ्र्यौटको लागि सिनियर प्रहरी अधिकृतहरूलाई जिम्मेवार बनाई निरन्तर फलोअप गर्न लगाउनेछु ।’ हराएको व्यक्तिहरूका सम्बन्धमा चौकी स्तरसम्म फोटोसहितको अभिलेख व्यवस्थापन गरी खोजी कार्यलाई व्यवस्थित एवम् परिणाममुखी बनाउन लागिपर्ने उनले बताए ।
हराएका व्यक्तिहरू खोजतलास कार्यलाई अरू मुद्दा सरह अनुसन्धान एवम् खोजतसाल गर्ने उनको भनाइ छ । सीमावर्ती अपराध एवम् तस्करी नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गरेर अगाडि बढ्ने उनले बताए । ‘सीमाक्षेत्रमा रहेका प्रत्येक प्रहरी कार्यालयहरूले विशेष कार्ययोजना बनाई लागूऔषध ओसार–पसार, बिक्री वितरण, मानव तस्करी, राजश्व चुहावटलाई पूर्णरूपमा निस्तेज पार्नेछु’ उनले भने, ‘भन्सारसँग सम्बन्धित सरोकारवाला निकायहरूसँग राजस्व छलीको प्रवृत्तिलाई पूर्ण नियन्त्रण गर्ने, भारतीय काउन्टर पार्ट्ससँग समेत निरन्तर समन्वय र सहकार्य गरी राजस्व चुवाट रोक्न लागिपर्नेछौँ ।’
डिआइजी बास्तोलाले स्मार्ट प्रहरी कार्यालय निर्माणलाई प्राथमिकता दिने बताए । सङ्घीय सरकार तथा स्थानीय सरकारको सहयोगमा बन्ने नयाँ प्रहरी कार्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै, थप साधनस्रोतबाट सुसम्पन्न गर्न पहल गर्ने उनले बताए । यसअघि सञ्चालन भएको आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियान, लागूऔषध दुव्र्यसन विरुद्धको विशेष अभियानहरूलाई निरन्तरता दिएर अगाडि बढ्ने उनले बताए ।