सुनसरी । कोसी गाउँपालिका क्षेत्रको कृषियोग्य जग्गामा दाना बनाउने भएपछि उत्पन्न विवाद समाधान गर्नुपर्ने भन्दै यहाँका किसान सङ्गठित भएका छन् ।
गौरीशङ्कर एग्रो इण्डष्ट्रिज प्रालि भरतपुर महानगरपालिका वडा नं. ३ चितवनले कोसी गाउँपालिकाको वडा नम्बर १ र ३ मा पर्ने ६ बिघा क्षेत्रफलमा निर्माण गर्न लागेको दाना उद्योगका कारण पानी निकासी गर्ने बाटो नहुँदा भविष्यमा समस्या हुने भन्दै किसानले विरोध गरिरहेका छन् । किसानहरूको माग जायज भएको भन्दै त्यसमा कोसी गाउँपालिका क्षेत्रका जनप्रतिनिधिले पनि समर्थन गरेका छन् ।
कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको अगुवाइमा बुधबार बिहान आयोजित किसानहरूको भेलाले वडानम्बर १ र ३ स्थित राजा पोखरीक्षेत्रको कृषियोग्य जग्गामा निर्माणाधीन दाना उद्योगबाट आफूहरूको जीवनयापनमा नै असर पर्ने भन्दै त्यसलाई मध्यनजर गरी पानी निकासी हुने पुल निर्माण गर्नुपर्ने बताएका छन् ।
निर्माण कम्पनीलाई दबाव दिने उद्देश्यले किसानहरूको भेलाबाट १७ सदस्यीय समस्या समाधान समिति गठन गरिएको छ । किसानहरूले ध्यानाकर्षण गराएपछि कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले यही वैशाख १९ गते गौरीशङ्कर एग्रो इण्डष्ट्रिज प्रा.लि. भरतपुर महानगरपालिका वडा नं. ३ चितवनलाई तत्काल निर्माण कार्य रोकेर छलफलमा आउन भन्दै पत्राचार गरेकोमा निर्माण कम्पनीले सुनुवाइ नगरेपछि गाउँपालिकाले वैशाख २४ गते आइतबार बाटो छेकेर काम रोकेको थियो । पछि निर्माण कम्पनीले किसानहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष अन्सारीसमक्ष गरेपछि तत्कालको लागि उक्त बाटो खोलिए पनि निर्माण कार्य सुरु हुन पाएको छैन ।
दाना उद्योग कृषिक्षेत्रको जग्गामा अवस्थित रहेको तथा वर्षाको बेला बाढीको पानी बगेर जाने मुहानलाई असर पर्ने र उक्त जग्गा धान पकेट क्षेत्रमा पर्ने भएकोले हजारौं बिगाहा धानको खेतीलाई समेत क्षति पु¥याउन सक्ने भन्दै किसानहरूले विरोध गरेका छन् । खेतीपाती गरी वर्षभर जीविकोपार्जन गर्ने गरिब निमुखा किसानहरूको पेटमा लात हान्ने गरी आफूखुसी दाना उद्योग निर्माण कार्य भइरहेको हुनाले किसानले आपत्ति जनाएको स्थानीय अगुवा रामचन्द्र यादवले बताए ।
उद्योग निर्माण कार्य बन्द गर्ने पक्षमा आफूहरू नभए पनि किसानहरूका माग सम्बोधन नभएसम्म काम अगाडि बढाउन नदिने उनको भनाइ छ । सो दाना उद्योग निर्माण कार्य गरे पनि पानी निकासी गर्ने बाटो मुहान बनाउनेदेखि अन्य कतिपय नियमअनुसार गर्नुपर्ने महत्वपूर्ण शर्त पूरा नगरेसम्म निर्माण कार्य अगाडि बढाउन नदिने अर्का किसान शिवनन्दन साह बताउँछन् ।
कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले भने कृषियोग्य जग्गामा दाना उद्योग खोल्ने भएपछि किसानहरूको चिन्ता स्वभाविक भएको बताएका छन् । जनताले निर्वाचित गराएर पठाएको हुनाले आफू जनभावनाअनुसार अगाडि बढ्नु स्वभाविक भएको बताउँदै अध्यक्ष अन्सारीले किसानहरू आक्रोसित भएकाले उनीहरूको माग सम्बोधन भएको अवस्थामा मात्रै निर्माण कार्य अगाडि बढाउन आफूले ध्यानाकर्षण गराएको बताउँछन् ।
यता गौरीशङ्कर एग्रो इण्डष्ट्रिज प्रा.लि. भरतपुर चितवनका साइड इन्चार्ज किरण पोखरेल भने दाना उद्योग निर्माण गर्ने क्रममा पानीको निकासाका सम्बन्धमा केही विवाद भए पनि किसानको मागअनुसार प्राविधिक टोली गठन गरेर समस्या समाधान गर्ने पक्षमा आफूहरू रहेको बताउँछन् । दाना उद्योग निर्माण भएपछि स्थानीय किसानले मकैको उचित मूल्य पाउनेदेखि स्थानीयले रोजगारीसमेत पाउने उनले दाबी गरे पनि किसानहरूले भने पानी निकासी गर्ने बाटो नबनेसम्म काम सुचारु गर्न नदिने अडान लिएका छन् ।