सुनसरी । लगभग १५ वर्षअगाडि सप्तकोसीको बाँध भत्किएपछि आएको बाढीबाट बगरमा परिणत भएको ठाउँमा तरबुजा तथा तरकारी खेती गर्दै कोसीक्षेत्रका किसानले राम्रो आम्दानी गरिरहेका छन् ।

यही खेतीबाट किसानहरूको जीवनस्तरमा सुधार मात्रै आएको छैन, बगरखेतीबाटै आर्थिकरूपमा सफल भएका उनीहरूमा ठूलो जोस, जाँगर पलाएको छ । २०६५ सालमा आएको बाढीपश्चात् बगरमा परिणत भएको साविक श्रीपुर गाविस हाल कोसी गाउँपालिका–४, ५ र ६ नम्बर वडाको जमिनमा अहिले हरियाली छाएको छ । कोसी गाउँपालिका–६ का जयनारायण मेहताले यसवर्ष ५ बिघा जमिनमा तरबुजा र फर्सी खेती लगाएका छन् । उनी यतिबेला बिहानैदेखि बगरमा जाने र तरबुजा टिपेर व्यापारीलाई बेच्ने काममा व्यस्त हुन्छन् । आफ्नै प्रयासमा गरिएको खेतीबाट उनी बर्सेनि लाखौं रुपैयाँ आम्दानी गर्छन् । ‘कोसीको बाढीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई बिचल्ली नै पा¥यो’ मेहता भन्छन्, ‘अहिले त्यही जग्गामा तरबुजा र फर्सीलगायत तरकारी खेती गरेर परिवार पाल्ने, घरखर्च चलाउने मात्रै नभएर छोराछोरी पढाएर केही मात्रामा बचत पनि गर्न सफल भएको छु । मेहताले चैत महिनादेखि तरबुजा बेच्न सुरु गरेकोमा जेठ महिनासम्म ५ लाख रुपैयाँको तरबुजा बिक्री हुने अनुमान गरेका छन् ।’

स्वदेशमै व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवाहरू विदेशिने क्रम रोकिएको छैन । तर, विदेशबाट फर्केर कोसीको बगरमा मेहताजस्तै कोसी गाउँपालिका–५ का सहाबुद्दिन हक कृषि कर्ममा लागेका छन् । सन् २०१० देखि २०१९ सम्म कतारमा बसेका उनी त्यहाँबाट प्राप्त आम्दानी र श्रमबाट सन्तुष्ट नभएपछि गाउँमै आएर कागती खेती गरिरहेका छन् । अर्काको भूमिमा पसिना बगाउनुको साटो स्वदेशमै केही गरौं भन्ने ध्येयले गाउँमा एकबिघा जग्गामा कागती खेती सुरु गरेका उनले वार्षिक ८ देखि १२ लाखसम्म कमाउने गरेका छन् । चारवर्ष अघिबाट कागती खेती सुरु गरेका सहाबुद्दिन पुनः विदेश जानेबारे सम्झिनसमेत चाहँदैनन् भने अन्य रोजगार नपाएका युवाहरूलाई विदेशिनेभन्दा गाउँमै केही गर्न सुझाव दिने गर्दछन् । ‘विदेशमा अरूको आदेशविना केही पनि गर्न पाइँदैन’ कतारमा बस्दा भोगेको दुःख पोख्दै उनले भने, ‘त्यसैले पुनः विदेश जानेबारे सोच्नसमेत मन लाग्दैन  र अरूलाई पनि त्यस्तै कुरा सम्झाउने गरेको छु ।’ गाउँमा काम छैन भनेर उता जाने साथीहरूलाई विदेशमा गरेको मेहनत यहीँ गरे पनि राम्रो पैसा कमाउन सकिने सुझाव दिने गरेको उनी बताउँछन् ।

२०६५ साल भदौ २ गते आएको बाढीले हजारौं किसान प्रभावित भएपछि बालुवामय जग्गामा कागती खेती थालिएको हो । १५ वर्षअघि आएको बाढीले ३१ सय बिघा क्षेत्रफल बालुवामय भएकोमा उल्लेखनीय सुधार आएको थिएन । राजस्थान मोडेलको खेतीसमेत भनिएको उक्त बालुवामय जग्गामा सहाबुद्दिनसँगै कोसी गाउँपालिका–५ का स्थानीय किसान असगर अलीले दुई बिघामा, मोहम्मद युसुफले १० कठ्ठामा, मजहरुल मियाँले १ बिघामा, अशोक अलीले १० कठ्ठामा र ऐनामुल हकले ५ कठ्ठा जग्गामा नमुना कागती खेती गरिरहेका छन् । बालुवामय जग्गामा स्थानीय तह र जिल्ला कृषि ज्ञान केन्द्रको सहयोगमा नमुना कागती खेती सुरु गरिएको हो । बालुवामय जग्गा सदुपयोग गर्ने उद्देश्यले गरिएको राजस्थान अवलोकन भ्रमण उपलब्धिमूलक भएको किसान असगर अलीको कथन छ । कोसी गाउँपालिका क्षेत्रका जग्गा बालुवामय भएको अवस्थामा राजस्थानका कृषिविज्ञहरूले माटो परीक्षणपश्चात् अनार, लौका, कागती, बदाम, बयर खेती हुनेबारे जानकारी गराएपछि स्थानीय किसानरूले कागतीसँगै विभिन्न स्थानमा त्यस्तो खेती गरेका छन् ।

भारत राजस्थानका कृषिविज्ञहरूले दिएका सुझावअनुसार कम लगानीमा कागती खेती गरिएकाले किसानहरूको जीवनस्तर उकास्न सहज भएको कोसी गाउँपालिका कृषि शाखा प्रमुख सुनिल यादव बताउँछन् । कोसी क्षेत्रका किसानले कृषि आधुनिकीकरण योजना अन्तर्गत गरेको कागती खेती प्रभावकारी बन्दै गएको उनले  बताए ।  सुनसरीको साविक श्रीपुर, हरिपुर, पश्चिम कुशाहा र लौकही गरी चार गाविसका ३५ हजार घरपरिवार बाढीबाट प्रभावित भएका थिए । ती क्षेत्रमा अहिले पनि सयौं बिघा जग्गा बाँझो छ ।
घर खर्चसँगै बचत

कागती खेती सुरु गर्दा कोसी गाउँपालिका–५ का अशोक अलीलाई त्यतिबेला कागती बिक्री हुँदैन कि भन्ने चिन्ता लागेको थियो । तर, आजभोलि उनलाई पु¥याउन नै मुस्किल भएको छ । अघिल्लो वर्ष उनले कागती बेचेर १० लाख आम्दानी गरे । त्यसमध्ये ६ लाख खर्च कटाएर ४ लाख बचत गरेको अलीले बताए । तरकारी र खाद्य बालीभन्दा बढी फाइदा हुँदा पछिल्लो समय कागती खेतीतर्फ स्थानीय आकर्षित भएका छन् । असारदेखि साउन, कात्तिकदेखि मङ्सिर र माघदेखि चैतसम्म कागती टिप्ने गरिएको किसान अलीले बताए । डेढबिघा जग्गामा कागती खेती गरेका सहाबुद्दिनले गतवर्ष कागती बेचेर १२ लाख आम्दानी गरेपछि घरपरिवार चलाउनेदेखि अन्य खर्च टार्न समस्या नभएको बताउँछन् । ‘विदेशमा जति दुःख गरेपनि मुस्किलले २० देखि २५ हजारसम्म कमाइ हुन्थ्यो’ उनले भने, ‘त्यति पैसाले न घरखर्च पुग्थ्यो, न त अन्य खर्च । तर, गाउँमै कागती खेती सुरु गरेपछि मासिक ८० हजारदेखि १ लाखसम्म आम्दानी हुने गरेको छ । जसले गर्दा खर्चसँगै बचतसमेत गरिरहेको छु ।’

khab