विराटनगर । युपिभिसीको छानासहित ट्रस लगाएर बनाएको दुई वटा टहरा । पश्चिमतिर दुईवटा सटर लगाएको पक्की घर । टहराको दक्षिण साइडमा बङ्गुरको फार्म । बीचमा चरनक्षेत्र । यो दृश्य हो, मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी चोकदेखि उत्तरपट्टि पर्ने जनजागृति सामुदायिक वनको जग्गा अतिक्रमण गरिएको क्षेत्रको ।

वनको करिब ४ कठ्ठा जग्गा अतिक्रमण गरी कानेपोखरी गाउँपालिकाले कृषिबजारको लागि दोस्रो चरणको संरचना बनाउन सुरु गरेको छ । गाउँपालिकाले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गतको बजेटमार्फत् ४९ लाख ८४ हजार रुपैयाँ लागतमा कृषिबजारको लागि संरचना निर्माण सुरु गरेको छ । पहिलो चरणमा आर्थिक वर्ष २०७८÷०७९ मा एसएनए निर्माण सेवा दुहबी सुनसरीले २५ लाख ३ हजार ६३ रुपैयाँमा ४३.५ वर्गमिटरको दुईवटा टहरा निर्माण गरेको छ । युपिभिजीको छानासहित ट्रस २०७९ असार मसान्तमा सम्पन्न भएको छ ।

क्रमागत बजेट आएपछि २०७९÷०८० मा पनि कृषि बजारको अधुरो संरचना निर्माणको लागि २४ लाख ८४ हजार २ सय ३८ रुपैयाँमा एसएनए निर्माण सेवा दुहबीले पुनः ठेक्का पाएको छ । वैशाख २६ गते सम्झौता भएपछि निर्माणको काम सुरु गरेको थियो ।

जङ्गल अतिक्रमण गरेर गाउँपालिकाले संरचना बनाउन थालेपछि सव–डिभिजन वन कार्यालय कानेपोखरीले निर्माण कार्य अहिले रोकेको छ । सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख मोहम्मद अलाउद्दिनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचनाहरू निर्माण गर्न थालेपछि शुक्रबारदेखि काम रोकिएको बताए । ‘हामीलाई जानकारी नदिइकन सामुदायिक वन अतिक्रमण गरेर कृषिबजारको नाममा टहरा बनाउन थालेको पाइएपछि हामीले निर्माण कार्य रोकेका छौँ’ उनले भने, ‘यस विषयमा माथिल्लो निकाय डिभिजन वन कार्यालय मोरङमा पनि जाहेर गरेको छु ।’

गाउँपालिकाले कृषिबजार भनेर निर्माण गरिएको स्थान जङ्गलको छेउमा पर्दछ । कानेपोखरीका कृषकहरूको लागि यो पायक पर्ने स्थान पनि होइन । तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको पालामा कृषिबजार निर्माण गर्ने भन्दै जंगल अतिक्रमण गरेर संरचना बनाउन लाग्दा स्थानीयले आलोचना पनि गरेका थिए । तर, नेतृत्वले स्थानीयको कुरा नसुनी संरचना बनाउन सुरु गरेका थिए । यदि यहाँ संरचना बनाए पनि कृषिबजारमा व्यापारीहरू नआउने यहाँका स्थानीय बताउँछन् । ‘सडकदेखि उत्तरपट्टि जङ्गलको बीचमा कृषिबजार बनाएको छ । यो कृषिबजारको लागि पायकपर्ने ठाउँ पनि होइन’ स्थानीय जनक तामाङले भने, ‘विकासको नाममा यो विनाश हो । बजेट सक्न गाउँपालिकाले जङ्गलको बीचमा कृषिबजार बनाउने भनेको छ । यो बन्यो भने यहाँ कृषिजन्य उत्पादन बिक्री वितरणको लागि यो स्थलमा व्यापारी नआउन सक्छन् ।’

वन अतिक्रमण गरेर गाउँपालिकाले संरचना बनाउँदा पनि जनजागृति सामुदायिक वनका पदाधिकारीहरू चुप लागेर बसेका छन् । सामुदायिक वनको सीमा मिच्दै अतिक्रमण गर्नेहरूलाई राजनीतिक दल र जनप्रतिनिधिकोे संरक्षण रहेको बताइन्छ ।

राजनीतिक दल, सामुदायिक वनका पदाधिकारीकोे मिलेमतोमा नै वन अतिक्रमण भइरहेको स्थानीयको आरोप छ । जनजागृति सामुदायिक वनका अध्यक्ष भोजराज श्रेष्ठले उपभोक्तालाई हित हुने भएकाले मौन बसेको बताए । ‘हामीले स्थानीय सरकारलाई समन्वय गरेको हो । दोस्रो पटक बनाउँदा जानकारी छैन । हामीले जानकारी गराउनू भनेका छौं, तर हामीलाई जानकारी अहिलेसम्म गराएको छैन’–उनले भने ।

कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले स्थानीयको मागअनुसार कृषिबजारको लागि संरचना निर्माण गरेको बताइन् । ‘सङ्घीय सरकारबाट आएको बजेटले यहाँका कृषकहरूले उत्पादन गरेको कृषिजन्य वस्तुको बिक्री वितरणको लागि कृषिबजारको संरचना त्यसबेला स्थानीयको सल्लाहअनुसार कानेपोखरी छनौट गरिएको हो’ अध्यक्ष इङ्नामले भनिन्, ‘पहिलो पटक काम भएर संरचनाहरू पनि बनेको थियो । अहिले आएर किन निर्माण रोकियो ? यसमा म आफै पनि अनभिज्ञ छु ।’