धनकुटा । पत्रकारहरूले पेसागत आचरणमा सुधार ल्याउनु पर्ने शनिबार इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेश समितिको आयोजनामा शनिबार इटहरीमा सम्पन्न ‘मल्टिमिडिया र पत्रकारिता’ विषयक २ दिने अभिमुखीकरण गोष्ठीको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले पत्रकारहरूको पेसागत आचरणमा सुधार आउनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले पछिल्लो समयमा सामाजिक सञ्जाल र डिजिटल पत्रकारिताबीच के सत्य हो, के झुट हो भन्ने भ्रम चिर्न आवश्यक रहेको बताएका छन् । गोष्ठीको उद्घाटन गर्दै इटहरी उप(महानगरपालिकाका कार्यवाहक नगर प्रमुख दिवस पोख्रेलले पछिल्लो समयमा डिजिटल पत्रकारिताको विकास भैरहँदा पत्रकारहरूले सत्य–तथ्यलाई टेकेर पत्रकारिता गर्नु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोख्रेलले भने, ‘फोनिज प्रदेश समितिसँग पहिलो पटक सहकार्य गरेर ‘मल्टिमिडिया र पत्रकारिता’ सम्बन्धी गोष्ठीको लागि सहकार्य गर्न पाउँदा मलाई खुसी लागेको छ ।’ उपमहानगरको विकासको लागि ढुङ्गा, गिट्टी उत्खनन् गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय सुनसरीले टिपर नियन्त्रणमा लिएको घटना का.वा.नगरप्रमुख पोख्रेलले सार्वजनिक गरे ।

फोनिज सङ्घीय समितिका उपाध्यक्ष कमन देवानले पछिल्लो समयमा क्यामेरा बोकेर हिँडेको देख्योे भने युट्युबे, पत्रुकार र झोले आयो भन्ने आरोप पत्रकारहरूले खेप्नुपरेको औंल्याए । उनले पछिल्लो समयमा विकास हुँदै आएको डिजिटल पत्रकारिताभित्र पर्ने सामाजिक सञ्जाल, युट्युब र अनलाइनका कारण यस्तो आरोप खेप्नुपरेको जिकिर गरे । देवानले भर्खरै प्रदेश सरकारले पत्रकारहरूलाई प्रदान गरेको पुरस्कारको विषयलाई लक्षित गर्दै भने, ‘यो मुलुकमा आदिवासी जनजातिहरूलाई हेर्ने दृष्टिकोण दोस्रो दर्जाको छ ।’

त्यसैगरी राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश नं.१ की अध्यक्ष माया राईले आधुनिक सूचना प्रविधिमा आदिवासी जनजाति पत्रकारहरू पछि परेको भन्ने आफूलाई लागेको बताइन् । उनले समयअनुसार चल्नको लागि सोही अनरूपको क्रियाशील आदिवासी जनजाति पत्रकारहरूको लागि तालिम÷गोष्ठी आयोजना गर्नुपर्नेमा जोड दिइन् । उनले हाल १ नम्बर प्रदेशमा सञ्चालन भइरहेको पहिचानको आन्दोलनमा फोनिजले सशक्त ढङ्गले प्रचार–प्रसारमा सहयोग गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले सामाजिक सञ्जाल र युट्युबको कारण धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (सम्पाङ)सँग द्वन्द्व सिर्जना भइरहेको बताए । उनले पत्रकारिताको पेसागत मर्यादाभन्दा बाहिर गएर सामाजिक सञ्जाल, युट्युबहरूमा विषयवस्तु आफूखुसी जथाभावी पस्कने गरेको कारण मेयर सम्पाङ र स्थानीय पत्रकारहरूबीच द्वन्द्व भएको औंल्याए । उनले धरान नगरपालिकाका २० वटै वडाका २८ जना जनप्रतिनिधिहरूबीच मेयर साम्पाङले सच्चिनु पर्नेमा जोड दिए ।

फोनिजका प्रदेश सल्लाहकार एवम् ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले पत्रकारहरू कर्ममा इमान्दार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘पत्रकारहरू आफ्नो कर्ममा इमान्दार नहुँदा धरानमा सामाजिक सञ्जाल र पत्रकारहरूबीच द्वन्द्व भइरहेको हो कि भन्ने आम जनमानसमा देखिन्छ तर, म त्यसो भन्दिनँ, जसलाई जे लाग्छ, त्यही लेख्छ ।’ फेसबुकलगायतका सामाजिक सञ्जालमा लेखेर अर्कालाई चिढ्याउन नहुने भन्दै सल्लाहकार श्रेष्ठले भने, ‘लेख्ने नै हो भने पत्रकारहरूले आ–आफ्नै मिडियामा लेख्न सक्नु पर्दछ ।’ थारु पत्रकार एवम् कानून व्यवसायी शुकदेव चौधरीले आफू बचेर पत्रकारिता गर्नुपर्ने समय आएको बताए । पत्रकारले आफू नै समाचार बन्नेभन्दा पनि पाठकको लागि समाचार बनाउन सक्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश नं. १ का अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न २ दिने मल्टिमिडिया र पत्रकारिता तालिममा भिजुवल स्टोरी टेलिङ विराटनगरका सरोज कार्की र मल्टिमिडिया ट्रेनर एम.डी.जाकिर राजाले २ दिनसम्म सहजीकरण गरेका थिए । उनीहरूले पत्रकारिता र मल्टिमिडियाको महŒव, अक्षर र भिडियोको माध्यमबाट गरिने पत्रकारिताबीचको फरक, भिडियोको माध्यमबाट कथा कसरी भन्ने, भिडियोमार्फत् रिपोर्टिङ र प्रस्तुतीकरणको शैलीहरू, सामाजिक सञ्जाल र युट्युवहरूमा लाइभ गर्ने विषयमा जानकारी, साउण्ड रेकर्डिङमा ध्यान दिनुपर्ने विषयहरू, भिडियो र अडियो सामग्री तयार गर्ने सजिलो सफ्टवेयरहरूको जानकारी र इन्टरनेटमा सूचनाहरू कसरी खोज्ने आदिका बारेमा सहजीकरण गरेका थिए । गोष्ठीमा उदयपुर, सुनसरी, मोरङ, झापा र धनकुटाका ३० जनाभन्दा बढी क्रियाशील पत्रकारहरू सहभागी थिए ।