बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा निर्माणाधीन ‘सौर्य ऊर्जा परियोजना’ बाट उत्पादित विद्युत् असोज १ गतेदेखि मुख्य प्रसारण लाइनमा जडान गर्ने तयारी गरिएको छ ।

निर्माणकर्ता झापा इनर्जीले झन्झटिलो काम सकिएको भन्दै उत्पादित बिजुली असोजदेखि मुख्य प्रसारण लाइनमा जडान गर्ने तयारी गरिएको जनाएको छ । शिवसताक्षी नगरपालिका–४ मा निर्माण भइरहेको यस परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झापा इनर्जीले उक्त परियोजनाको काम ७० देखि ८० प्रतिशत पूरा भएको सञ्चालक सुवास भट्टराईले जानकारी दिए । नेपालकै ठूलो र नमुना परियोजनाका रूपमा रहेको सौर्य ऊर्जा उत्पादन परियोजना अन्तिम चरणमा पुगेको हो ।

असारबाट उत्पादन थाल्ने तयारी गरिरहेको परियोजनाले उत्पादनको समय सारेको छ । ‘साढे तीन वर्षअघि देखि निर्माण सुरु गरिएको परियोजनामा अहिले प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको छ । उक्त कार्य ९५ प्रतिशत सकिएको छ’ भट्टराईले भने, ‘अब प्यानल राख्ने काम मात्रै बाँकी छ ।’

२२ बिघा क्षेत्रफलमा उक्त परियोजना सञ्चालनमा रहेको छ । कोभिडका कारण केही ढिलाइ भएको बताउँदै सञ्चालक भट्टराईले ७९ करोडको लागतमा परियोजना निर्माण भइरहेको जानकारी दिए । बैङ्कको ६० करोड कर्जाबाट निर्माणाधीन उक्त परियोजनामा शेयरदाताहरूको २० करोड लगानी रहेको छ ।

झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । ‘असार मसान्तसम्ममा निर्माण सम्पन्न गरेर ऊर्जा उत्पादन तयारी गरिएको थियो’ भट्टराईले भने, ‘सामान आयातको प्रक्रियामा ढिलाइ भएकाले थप एक महिना पछाडि धकेलिएको छ ।’ परियोजनाका इन्जिनियर केशव चापागाईंले प्यानल स्टेण्ड राख्ने काम लगभग सकिएको जानकारी दिए । उनका अनुसार अब सोलार प्यानल जडान गर्न मात्रै बाँकी छ । त्यो काम धमाधम हुन्छ । उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसनको संरचनाहरूसमेत तयारी भइसकेको छ ।

इन्जिनियर चापागाईका अनुसार २१ हजार ८ सय ४० थान प्यानल स्टेण्ड (एमएमएस) जडान भइसकेको छ । सो स्टेण्डमा १ टेवल बराबर २८ प्यानलको टेवल बनाइनेछ भने आधा टेवलका लागि १४ वटा सोलार प्यानल जडान गरिनेछ । इनर्जीका सञ्चालक नारायण पोखरेलले परियोजना अन्तिम चरणमा पुगेकाले अब उत्पादनको समय नजिक आएको जानकारी दिए । उनले आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै नेपालमै ऊर्जाको क्षेत्रमा विशेष योगदान हुने प्रतिक्रिया दिएका छन् ।

यस्तै सञ्चालक पवित्रा महतारा प्रसाईंले उक्त परियोजनालाई सोलार टुरिजमको रूपमा विकास गरिने बताएकी छन् । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ । ‘पर्यटकहरूलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको छ’–उनले भनिन् । सो क्षेत्रमा दुईवटा सेल्फी टावरसमेत निर्माण गरिने प्रसाईंको भनाइ छ ।