विराटनगर । पाँच वर्षदेखि आङ खस्ने समस्याबाट पीडित सुनसरी चक्रघट्टीकी ३६ वर्षीया कल्पना भारतीले बल्ल शरीर हलुङ्गो भएको महसुस गरेकी छन् । 

विराटनगरस्थित विराट नर्सिङ होममा पाठेघरको शल्यक्रियापश्चात् उनलाई वर्षौंको रोग फालेकामा मन शान्त छ । ‘अहिले स्वास्थ्य हलुका भएको महसुस भएको छ’ उनले भनिन् । लाज मान्ने बानीले गर्दा समस्याबारे उाले न परिवारलाई भनेकी थिइन्, न त श्रीमान्लाई नै । गाउँघरमै पटक–पटक स्वास्थ्यकर्मी पुगे पनि उनी जाँच गराउन लजाउँथिन् । तर, समस्याले थला पार्दै लगेपछि भने बाध्य भइन् । ‘पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो’–उनले भनिन् । सुनसरी इनरुवा–७ की ६४ वर्षीया जलेश्वरीदेवी खत्रीको समस्या पनि उस्तै थियो । उनले पनि वैशाख २४ मा पाठेघरको शल्यक्रिया गराइन् । 

१६ वर्षकै उमेरमा विहे गरेकी उनले बर्सेनिजस्तो सन्तानलाई जन्म दिइन् । त्यसको असर पछि देखा प¥यो । पाठेघर खस्ने समस्याले आजित बनेकी उनले पनि वर्षौंदेखिको कष्टपूर्ण जीवनबाट बल्ल आनन्दको श्वास फेरेकी छन् । पाँच सन्तानकी आमा खत्रीलाई पनि विराट नर्सिङ होमले नै पुनर्जीवन दिएको हो । खत्री र कल्पनाजस्तै सुनसरी भोक्राहाकी ८५ वर्षीया खुसीदेवी मेहताको पीडा झनै भयावह छ । गाउँघरको लाज, सामाजिक संरचनाका कारण उनी बाहिर खुल्न सकिनन् ।

स्वास्थ्य संस्थामा गए गाउँभरि कुरा काट्ने भएकाले पीडालाई मनभित्रै दबाइन् । तर, त्यो पीडालाई यो उमेरमा आएर भने फाल्न सफल भएकी छन् । गाउँनजिकै स्वास्थ्य शिविर आएपछि चेकजाँच गराइन् । १६ वर्षकै उमेरमा विवाह गरेर १८ वर्षको उमेरमा बच्चा जन्माएकी मेहता ५ सन्तानकी आमा हुन् । ‘लाजले गर्दा कसैसँग आफ्नो समस्या सुनाइनँ’ उनले भनिन्, ‘पीडा सहेरै बसेकी थिएँ ।’ डाक्टरले रिङ प्रेसरी राखिदिएका कारण केही जाती भएको उनले बताइन् । 

यस्ता आमाहरू समाजमा थुप्रै भेटिने उपचारमा संलग्न चिकित्सक बताउँछन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रेरणा दाहालले ‘आङ खस्ने’ रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रौँ काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने आदि कारणले देखा पर्छ ।

‘पति, सासू, ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज, डर होला ?’–डा. दाहालले भनिन् । पाठेघर खस्ने समस्या भएका बिरामीको हकमा तीन चरणमा परामर्श तथा उपचार गरिँदै आएको उनले बताइन् । पहिलोमा अभ्यास सिकाइने, दोस्रो रिङ प्रेसरी राख्ने गरिएको छ । यी दुईवटा विकल्पले पनि ठीक नभएको हकमा मात्रै शल्यक्रिया गरिने उनले बताइन् । पाठेघर बाहिर निस्केपछि फोहोर तथा घर्षणले फुल्न गई सङ्क्रमण हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता हुने उनले बताइन् । 

तराई र पडाडी जिल्लाका ग्रामीण क्षेत्रमा यस्ता समस्या धेरै हुने गरेको छ । कोशी प्रदेश सरकारले विराट नर्सिङसँग वैशाख २२ गते सम्झौता गरी आङ खस्ने महिलाहरूको निःशुल्क शल्यक्रिया सुरु गरेको विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम बिनाडीले बताए ।

स्वास्थ्य प्रदेश निर्देशानलयसँग सम्झौता गरेपछि विराट नर्सिङ होमका स्वास्थ्यकर्मीहरू गाउँ–गाउँमा गएर स्क्रिनिङ गर्ने र आङ खस्ने समस्या भएका बिरामीलाई हस्पिटलमा ल्याएर निःशुल्क शल्यक्रिया गरिरहेको उनले बताए । ‘प्रदेश सरकारसँगको सहकार्यमा यो अभियान सुरु भएको हो’ उनले भने, ‘अबको एक वर्षसम्म आङ खस्ने महिलाहरूको निःशुल्क उपचार गरिनेछ ।’ विराटमा आङ खस्ने महिलाहरूको उपचार गर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीसहितको १० जनाको टिम रहेको छ ।  

एक जना बिरामीको उपचार गरेको १२ हजार ५ सय रुपैयाँ विराटले पाउने प्रदेश स्वास्थ्य निर्देशालनयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । शल्यक्रिया गरेपछि डिस्चार्ज हुने हिमाली जिल्लाका महिलाले १ हजार पाँचसय, पहाडी जिल्लाकाले १ हजार र तराईलाई पाँच सय रुपैयाँ यातायात खर्च पाउने उनले बताए । विराटबाहेक धनकुटा, तेह्रथुम, उदययुर र मेची अस्पतालमा पनि आङ खस्ने बिरामीको निःशुल्क उपचार गर्ने गरी एक वर्षे सम्झौता गरेको उनले बताए ।