वराहक्षेत्र ५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोला अतिक्रमण गर्नेलाई नगरपालिकाले ठाउँ खाली गर्न उर्दी जारी गरेको समय घर्केको छ ।
पहिलो पटक जारी गरेको सूचना आज आइतबार सकिएको छ । वडाध्यक्ष रोहित काफ्लेका अनुसार पुनः दोस्रो पटक सूचना निकाल्ने नगरको तयारी छ । अतिक्रमण गर्ने घरधुरीलाई वर्षा अगाडि नै अतिक्रमित भूभाग खाली गराउने नगरको योजना धकेलिएको छ ।
खोला अतिक्रमण गरेर निर्माण भएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा समिति निर्माण भएको छ । समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला छन् । समितिले यस अघि तत्काल खोलाको नक्सा हेरेर खोला निकाल्ने तयारी गरेको छ ।
‘नम्बरी र नक्सा पास भएका संरचना रहन्छ, बाँकी कुरा हामी क्लियर गर्छौं, भन्ने निर्णय भएको छ, वडाध्यक्ष काफ्लेले भने, ‘हामीले स्थानीय सरोकारवालासँगको छलफलमा त्यही कुरा जानकारी गराएका छौं ।’
पुसमाघ सम्मको समय दिने अर्को वर्षा नलाग्दै संरचना हटाउने निर्णय भएको, र बिहीबारको छलफलमा स्थानीयलाई सुनाएको वडाध्यक्ष काफ्लेले बताए ।
बिहीबार नगर प्रमुख कार्कीसहित जनप्रतिनिधि र स्थानीय सरोकारवालाबीचमा भएको छलफलले पुनः नगरबाट सूचना निकाल्ने र आवश्यक कारवाही अघि बढाउने निर्णय सार्वजनिक गरेको हो ।
अतिक्रमण गर्ने घरधनीहरुले नभत्काइदिए हुने भन्ने याचना जनप्रतिनिधि समक्ष गरेका छन् । आफूहरु वर्षौंदेखि सो स्थानमा बसेको उनीहरुको जिकिर छ । जनता नभए कसरी राजनीति गर्नुहुन्छ ? स्थानीयले याचना गर्दै भने । नगरपालिकाले भने यो वर्षामा संरचना नहटाए पनि आगामी वर्षा सुरु हुनु अगावै अतिक्रमित क्षेत्र खाली गराउने छ ।
हैंटा खोला सरसफाइको नीतिगत योजना वराहक्षेत्र ५ को वडा कार्यालयले अघि सारे पनि स्थानीय अभियन्ता सूर्य बस्नेत, पहलमान बस्नेतलगायतको सक्रियतामा हैंटा खोला सरसफाइ अभियान सुरु गरिएको थियो । अभियानकै क्रममा वराहक्षेत्र सचेत समूह समेत निर्माण गरिएको छ । समूहको संयोजकत्व सूर्य बस्नेतले गरेका छन् भने सचिव पहलमान छन् ।
यो सरसफाइ अभियानमा नगर प्रमुख रमेश कार्कीसमेतले खोलाको सरसफाइ गरेका थिए । अभियानको प्रभावकारिताकै कारण खोलाको क्षेत्र निकाल्ने र अतिक्रमित भूभाग खाली गराउने निर्णयमा वराहक्षेत्र नगरपालिका पुगेको थियो ।