विजयपुर । वराहक्षेत्र नगरपालिका–१ स्थित भवानीथान मन्दिर गढीक्षेत्रमा रुख कटानको आरोप लागेका विपिन भनिने बिपेन मगरलाई पक्राउ गरे पनि वन कार्यालयले जनप्रतनिधिको रोहवरमा छाडेको छ ।
वराहक्षेत्र–१ खारखोलाका मगरले पर्यटन विकासका लागि भन्दै राष्ट्रिय वनक्षेत्रमा पर्ने धार्मिक वनको २३ वटा रुख २०७९ भदौमा काटेका थिए । तर, हालसम्म उक्त वन क्षेत्र धार्मिक वन क्षेत्रका रूपमा दर्ता नभएको भवानीथान मन्दिर गढीक्षेत्रका पुजारी एवम् वराहक्षेत्र–१ का सदस्य दीपक राईले जानकारी दिए । यस आधारमा उक्त क्षेत्र राष्ट्रिय वन क्षेत्रमा पर्ने देखिन्छ । रुख काटेको ८ महिनासम्म पनि सव–डिभिजन वन कार्यालय वराहक्षेत्र अनुसन्धान गरे पनि कारबाहीमा उदासिन बनेको थियो । ब्लाष्टमा ‘भवानीथान गढीको रुख कटान प्रकरणमा ८ महिनामा पनि सकिएन अनुसन्धान’ शीर्षकमा समाचार प्रकाशित भएपछि मगर पक्राउ परे पनि अन्ततः वन कार्यालयले वन ऐन २०४९ विपरीत जनप्रतिनिधिको रोहवरमा छाडेको छ ।
सव–डिभिजन वन कार्यालय वराहक्षेत्रका रेञ्जर तथा रुख कटान प्रकरणका अनुसन्धान अधिकृत शिशुराज झाका अनुसार मगर जेठ ४ गते पक्राउ परेका थिए । उनले भने, ‘सात दिनको म्याद थप गरेका छौँ । जेठ १० गते सरकारी वकिलको कार्यालयमा मिसिल पेश गर्छौं ।’ उनले आरोपित मगरले रुख काटेको पनि स्वीकार गरेको बताए । उनले भने, ‘रुख कटान गरेको स्वीकार गरेका छन् । बोलकबोल पनि गरेका छन् ।’ अनुसन्धान अधिकृत झाले मगर पक्राउ परेको विषय खुलाउन चाहेको थिएनन् । अधिकृत झाले रुख काटेको आरोप लागेका मगरलाई जनप्रतिनिधिको रोहवरमा छाडेको बताए । उनले भने, ‘१० गते हाजिर गराउने शर्तमा विपक्षी मगरलाई दुई जना वडासदस्यको रोहवरमा छाडिएको छ ।’ उनका अनुसार वराहक्षेत्र–१ का वडासदस्य दिलमाया सार्की र दीपक राईको रोहवरमा छाडिएको हो । पुजारीसमेत रहेका वडासदस्य राईले अनुसन्धानमा सजिलो होस् भनेर आफूहरू रोहवरमा बसेको बताए । आफूहरूले अनुसन्धानमा सहयोग गर्ने पनि बताएका छन् ।
हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भए पनि रोहवरमा छाडेको विषयमा ब्लाष्टकर्मीले अधिकृत झालाई जिज्ञासा राख्दा वकिललाई सोध्नू भन्दै पन्छिए । उनले थपे, ‘हिरासतमै राख्नुपर्छ भन्ने छैन । आवश्यक पर्दा राय लिने गरी छाडिएको हो ।’ उनले आरोपित आफै आएकाले अदालतको रायअनुसार छाडिएको बताए । उनले भने, ‘आरोपित आफै आएकाले छाडिएको हो ।’ जेठ १० गते अदालतमा वडासदस्यले नै हाजिर गराउने बताउँदै भने, ‘दण्ड, सजाय अदालतले तोकेअनुसार हुन्छ ।’ यस विषयमा एकजना पूर्व वन अधिकृतलाई बुझ्दा राष्ट्रिय वन क्षेत्रको रुख कटान गरे हिरासतमै राखेर कारबाही गर्नुपर्ने बताए । ‘अनुसन्धान अधिकारीलाई केही निश्चित अधिकार त छ तर, राष्ट्रिय वनमा पर्ने रुख कटान गर्दा भने हिरासतमै राखेर अनुसन्धान गर्नुपर्छ’ –अवकाशप्राप्त ती अधिकृतले भने । डिभिजन वन कार्यालय सुनसरीका निमित्त वन अधिकृत धर्मानन्द यादवले पक्राउ परेको पुष्टि गरे पनि छाडिएको विषयमा अनभिज्ञता प्रकट गरे । उनले भने, ‘छाडिएको विषयमा मलाई जानकारी आएको छैन । अनुसन्धान अधिकृतले जाँचबुझ गरेर अदालतमा पेश गर्नुपर्ने कानूनी प्रावधान छ । मुद्दा दायर गरेपछि छाड्यो भने अदालतको कुरा हो ।’ उनले अवैध काम गर्नेलाई कानूनअनुसार कारबाही गर्ने बताए । उनले भने, ‘अवैध काम गर्ने जो कोहीलाई मेरो कार्यकालमा छाड्दिनँ ।’ प्रभावकारी अनुसन्धान नगरेमा अनुसन्धान अधिकृतलाई कारबाही गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।
राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गरे पनि वन कार्यालयले अनुसन्धान गरे पनि ८ महिनासम्म प्रक्रिया अगाडि बढाएको थिएन । वन कार्यालयका कर्मचारी र राजनीतिक छत्रछायामा अनुसन्धान प्रक्रिया अघि नबढेको स्थानीयको दाबी छ । मगर नेपाली काङ्ग्र्रेस वराहक्षेत्र–१ नम्बर वडाका सचिव हुन् । राष्ट्रिय वन क्षेत्रमा पर्ने धार्मिक वन क्षेत्रको रुख काट्दा वन ऐन २०४९ को संशोधित २०७६ को परिच्छेद १५ मा कसूर र सजायसम्बन्धी व्यवस्था रहेको छ । ऐनको दफा ५० मा सजायसम्बन्धी व्यवस्था छ । दफा ५० को उपदफा ३ मा दफा ४९ को खण्ड (ग) अन्तर्गतको कसूर गर्नेलाई ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । दफा ४९ को (ग) मा राष्ट्रिय वन फाँड््ने वा वन क्षेत्रमा जग्गा जोत्ने, खन्ने, खनिज कार्य उत्खनन् गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने, घर वा छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा कसूर मानिने व्यवस्था छ ।
आरोपित मगरले दफा ४९ को खण्ड (ग) अनुसारको कसूर गरेको देखिन आएको अनुसन्धान अधिकृत बताउँछन् । यस्तै ऐनको दफा ५० को ४ मा दफा ४९ खण्ड (घ) अन्तर्गतको कसूर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।