सुनसरी । सुनसरीमा मानव बेचबिखन रोकथाम गर्न सीमामा निगरानी बढाइएको छ । खुला सीमाका कारण विभिन्न प्रलोभन देखाएर नेपाली चेलीबेटीलाई भारतीय सहरमा बेचबिखनका लागि लाने क्रमलाई नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा तैनाथ नेपाली र भारतीय सुरक्षाकर्मी सक्रिय भएर लागेका छन् ।
सोही क्रममा सीमावर्ती क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बललाई मानव बेचबिखनबारे प्रशिक्षण दिइएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोग एवम् सशस्त्र सीमा बल (एसएसबी) ४५ औं बटालियनको सहकार्यमा कोकन नेपालको आयोजनामा भारतको वीरपुरमा मानव बेचबिखनसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा भारतीय ४५ औं, ५२ औं र ५६ औं बटालियनका गरी एसआई लेभलका २८ जना भारतीय एसएसबीको सहभागिता रहेको थियो भने सो कार्यक्रम सीमा सशस्त्र सीमा बल (एसएसबी) ४५ औं बटालियन वीरपुरका सेकेण्ड कमाण्डेण्ट आलोक कुमारको अध्यक्षतामा सम्पन्न भएको हो । सहभागी भारतीय सुरक्षाकर्मीलाई कोकन नेपालका कोषराज न्यौपाने, मञ्जिता उपाध्याय, हेमन्तराज पौडेललगायतले सीमामा भइरहेको मानव बेचबिखनको अवस्था, सीमामा बेचबिखन हुनुका कारण, कानूनी जटिलता, रोकथामका उपायलगायत यावत् विषयमा प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा बोल्दै सशस्त्र सीमा बल वीरपुरका सेकेण्ड कमाण्डेण्ट आलोक कुमारले पछिल्लो समय सीमावर्ती क्षेत्रमा विभिन्न उद्देश्यले मानव बेचबिखन भइरहेको पाइएको हुँदा त्यसलाई रोकथाम गर्नको लागि भारतीय एसएसबीलाई प्रशिक्षण दिएको बताए । मानव बेचबिखन रोकथाम गर्न लामो समयदेखि काम गर्दै आएका नेपाली र भारतीय विभिन्न सङ्घ–संस्थाहरूको सहयोगमा यस्ता सामाजिक विकृति अन्त्य गर्न आफूहरू पनि लागिपरेको उनको भनाइ थियो । यस्तै प्लान इन्टरनेसनल नेपालको सहयोगमा कोकन नेपालले सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग मानव बेचबिखनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा साझा सवालका लागि साझा मञ्च कोकनको आयोजनामा मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको कार्यक्रम सम्पन्न भएको कोसी गाउँपालिका वडानम्बर ८ का अध्यक्ष बलरामकुमार क्षेत्रीले जानकारी दिए । मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको अन्तरक्रिया कार्यक्रममा सीमा मानव बेचबिखन तथा ओसार–पसारको अवस्था र अनुभव आदान–प्रदान, वर्तमान अवस्था, भारतीय अधिकारीसँगको समन्वय बैठक, मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको रणनीतिलगायतका विषयमा छलफल गरिएको थियो । उक्त कार्यक्रम अधिवक्ता एवम् कोकन नेपालका सल्लाहकार तथा मानवअधिकारकर्मी कोषराज न्यौपानेले सहजीकरण गरेका थिए ।
मानवबेचबिखन रोकथाम गर्न अभिभावक अभिमुखीकरण कार्यक्रम, बेचबिखन विरुद्ध महिला र किशोरी समूह निर्माणसँगै सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूलाई बेचबिखन तथा ओसार–पसारविरुद्ध चेतनामूलक कार्यक्रम दिँदै आएकोले मानवबेचबिखन विरुद्ध सर्वसाधारण जागरुक भएको कोकन नेपालका हेमन्तराज पौडेलले दाबी गरे । खुला सीमा नाका, चेतनाको अभाव, गरिबी, बेरोजगारीलगायतका कारण मानव बेचबिखन तथा ओसार–पसारका घटना हुने गरेको सोही कार्यक्रममा बोल्दै साझा सवालका लागि साझा मञ्च कोकन इनरुवा सुनसरीकी अध्यक्ष मञ्जिता उपाध्यायले बताइन् । मानव बेचबिखन तथा ओसार–पसार न्यूनीकरण एवम् रोकथाम गर्न सबैको सामूहिक पहल र प्रयास आवश्यक रहेको बताउँदै उनले गरिबी, बेरोजगारी, मानसिक समस्या,वैदेशिक रोजगार, छिट्टै धनी हुने मोहलगायतका कारण मानवबेचबिखनजस्ता घटना हुने गरेको बताइन् ।
तुलनात्मक रूपमा पहिला भन्दा सर्वसाधारणमा चेतनाको स्तरमा वृद्धि भएको बताउँदै उपाध्यायले मानवबेचबिखन रोकथाम गर्न बालबालिका, युवापुस्ता, अभिभावक वर्गसँगै समाजका हरेक तह र तप्काका मान्छे जागरुक बन्नु आवश्यक रहेको उनले बताइन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने अभिभावक वर्ग र सुरक्षाकर्मीसँगै सूचना केन्द्रमा कार्यरत कर्मचारीहरूको सक्रियताका कारण पछिल्लो समय मानवबेचबिखनका घटनामा तुलनात्मक रूपमा कमी आएको उनको दाबी छ । उपाध्यायले कोसी गाउँपालिका, नेपाल प्रहरी र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा आफूहरूले भारतीय एसएसबीको सहयोगमा बेचबिखनमा परेका व्यक्तिको निरन्तर उद्धार गर्न सफल भएको जानकारी गराएकी थिइन् ।