पाँचथर । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले मुख्य ११ उपलब्धि सार्वजनिक गरेको छ । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको एक वर्षे अवधिमा ११ उपलब्धि सार्वजनिक गरेको हो ।
स्थानीय तहको चुनावमा नागरिकसँग गरेका प्रतिबद्धता अन्तर्गत शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै मुख्य उपलब्धि सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेका बुँदाहरूमा पालिका केन्द्र जोड्ने सिँधुवा–शुक्रबारे सडक कालोपत्रे कार्य सम्पन्न गरेको जनाएको छ । निर्माणाधीन छथर अस्पताल भवनको पहिलो तला ढलान, क्याम्पसको तीन तले भवन र विद्यालयहरूमा ४ कोठे ३ वटा पक्की भवन निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।
त्यस्तै विद्यालय कर्मचारी कार्यविधि स्वीकृत, एकीकृत पाठ्यक्रम र मूल्याङ्कन, वि.व्य.स क्षमता विकास आइ.टी मन्टेश्वरी तालिम सञ्चालन, दुई स्थानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना, ३ वटा स्वास्थ्य चौकी भवन उद्घाटनका साथै प्रयोगमा ल्याएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । एक स्थानमा ल्याव सेवा विस्तार, छथर अस्पतालमा भिडियो एक्स–रे मेसिन जडान, नवजात शिशु स्वागत उपहार कार्यक्रम लागू गरेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ ।
गाउँपालिकाले नयाँ र प्रभावकारी उपलब्धिको रूपमा छथरका ११ सय ज्येष्ठ नागरिकहरूलाई घर–घरमा निःशुल्क उपचार सेवा शिविरलगायत नियमित कार्यक्रमहरू सञ्चालन गरेको छ । पालिकाको ढाँडखोला खानेपानी १५ दिनमा सञ्चालन, छथरको भूगोलमा ५ वटा नयाँ खानेपानी योजना सूचीकृत गरी स्वीकृत, २ वटा पक्की सिंचाइ, ६ पक्की सिंचाइ सूचीकृत, १ लिफ्टिङ सिंचाइ योजना स्वीकृत गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।
रोजगारी र युवा उद्यमी उत्पादन गर्ने उद्देश्यले युवा उद्यमशीलता विकास तालिम, नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न गरेको छ भने युवामार्फत् विद्यालय जान नसकेका बालबालिकाहरू पहिचान गर्ने कार्य सम्पन्न गरेको छ । खेलकुद क्षेत्रमा पनि सफलता हासिल गरेको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छथर गाउँपालिका प्रथम हुन सफल भएको छ भने १ जना भलिबलको राष्ट्रिय खेलाडी सूचीकृत र धेरै स्थानमा छथर पालिकाको खेलाडी टिम प्रथम भएको उदाहरण प्रस्तुत गरेको छ ।
कृषि र पशुतर्फ मकै बिउ उत्पादन पकेट कार्यक्रम लागू, मकै बिउ ब्राण्डिङ, समयमै रासायनिक मल उपलब्धता, शाखामा बिएसिजी र थप कृषि तथा पशुपन्छी शाखामार्फत् वडा वडामा जनशक्ति व्यवस्थापन, दुग्ध प्रवद्र्धन विस्तार, पकेट ब्लग कार्यक्रमहरू परिचालन, लम्पी डिजिज रोकथामका लागि योजना कार्यान्वयनको चरणमा पुगेको जनाएको छ । त्यस्तै वडास्तरमा अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिक परिचय–पत्र शिविर सञ्चालन, विभिन्न दिवस, समारोह र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै अर्को महत्वपूर्ण र लोकप्रिय कार्य अन्तर्गत गाउँपालिकामा सरकारी सभा समारोहरूमा स्थानीय खाजा प्रयोग र लागू गर्ने, सामाजिक सुरक्षा भत्ता सहज उपलब्धता, १ स्थानमा साझा सुविधा केन्द्र स्थापना सुरुवात, ढाका, सिलाइ कटाइ, तरकारी तथा पशुपालन तालिमलगायतका क्षेत्रमा नागरिकलाई सेवा दिँदै आएको गाउँपालिकाले जनाएको छ ।