देउराली । धरान उपमहानगरपालिका–५ स्थित मसाने खोलामा निर्माणाधीन पुल यस वर्ष पनि नबन्ने भएपछि स्थानीय चिन्तित बनेका छन् ।
नियामक निकाय मोरङस्थित पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनी झापाको वल्र्ड ट्रेड कन्स्ट्रक्सनलाई ताकेता गर्दापनि ठेकेदारले नटेरपछि  त्यसको मार स्थानीयले भोगिरहेका हुन् ।

सो खोलाका कारण धरान–५ को जरेआहाल, मुक्तिला, निशानडाँडाका स्थानीयले कृषिजन्य उत्पादनहरू धरान बजारसम्म ल्याउन नसक्ने स्थानीय अशोक मगरले बताए । यस खोलाको असर धरान–४ का केही क्षेत्रका बासिन्दामा पनि पर्दै आएको छ । तर, प्रत्यक्ष मार भने धरान–५ बासीलाई पर्ने गरेको मगर बताउँछन् ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा एक वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन १३ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालय मोरङका इन्जिनियर सुजन दाहालले बताए । उनका अनुसार पुलको पुनः डिजाइन परिवर्तन गर्नुपरेकाले एक वर्षको म्याद थप गरिएको थियो ।

काम सुरु गरे पनि ठेकेदार कम्पनी काम छाडेर सम्पर्कविहीन भएको थियो । उनले भने, ‘ठेकेदार लामो समयसम्म काम छाडेर सम्पर्कविहीन भयो, त्यसपछि हामीले सम्पर्कमा आउन पत्रिकामा सूचना प्रकाशन गरेका थियौँ ।’
उनले सूचना प्रकाशित गरेपछि ठेकेदार पशुपति बराल सम्पर्कमा आए पनि कामले गति लिन नसकेको बताए । स्थानीय मगरले पुल निर्माण गर्न खनिएको पिल्लरको खाडलबाट निस्किएको माटोले खोलाको बाटो थुनेपछि खोलाले बस्ती कटान गर्ने सम्भावना बढेको बताए । उनले भने, ‘खोला कुद्ने ठाउँ समथर भएको छ, पिल्लर खन्दा बस्तीपट्टि खाल्डो पारिएको छ । मैले पटक–पटक खाल्डो पुर्न भनेको थिएँ तर, ठेकेदारले पुरेन ।’

धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले नियामक निकायको कमजोरीको फाइदा ठेकेदारले उठाएको बताए । पटक–पटक दबावका लागि जाँदा उल्टै आफूहरूलाई नै सम्झाएर पठाउने गरेको उनले बताए । धरान–५ मा हाल दुईवटा पुल अलपत्र बनेको उनले बताए ।
तीन वर्षअघिबाट निर्माण सुरु गरेको पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन नसकेको धरान–५ की वडा सदस्य सुनिता राई बताउँछिन् । उनी भन्छिन्, ‘बर्खा लागेपछि विद्यार्थीहरू स्कुल जान सक्दैनन् ।

गाउँघरमा उत्पादित दूध र तरकारी बजारसम्म पु¥याउन सकिँदैन । बाढी आउँदा आठ–दश दिनसम्म बन्दी भएर बस्नुपर्ने बाध्यता छ ।’
मसाने खोलाको पुलका लागि ठेक्कापूर्व एक करोड ९२ लाख ६२ हजार ६ सय ६१ लागत स्टिमेट गरिएको थियो । तर, ठेकेदार बरालले स्टिमेट रकमभन्दा कममा ठेक्का सम्झौता गरेकाले घाटा भएर पनि सुस्त काम गरिरहेको हुनसक्ने पूर्वाधार विकास कार्यालयका इन्जिनियर माधव माझीले बताए । उनले भने, ‘सुरुदेखि नै ढिलासुस्ती भएपछि हामीले लिखित स्पष्टीकरण सोधेका थियौँ । चार दिनअघि मात्रै फिल्डमा काम गर्न मान्छे पठाए भनेर बुझेका छौँ । फिल्ड भिजिट गर्ने तयारी गरिरहेका छौँ ।’

चार दिनअघि फिल्डमा आएका ठेकेदारतर्फका कामदार विमल राउतले पर्याप्त सामग्री नपठाएकोले कामदार भए पनि काम रोकिएको बताए । उनले भने, ‘तीन दिन लगाएर सेटिङको काम गरिसकेका छौं । सिमेन्ट छैन, बालुवा छैन, गिट्टी छैन । ठेकेदारले फोन उठाएको छैन । कैले सामान ल्याउँछ र कति दिन काम नगरी बस्नुपर्ने हो, अन्योल भइरहेको छ ।’