सुनसरी । केही हप्तादेखि लगातार गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ । सुख्खा मौसममा अत्यधिक रूपमा बढेको गर्मीका कारण जनजीवन प्रभावित भएको हो । बढ्दै गएको गर्मीका कारण विद्यार्थी, बालबालिका, वृद्धावस्थाका तथा मजदुर वर्ग बढी प्रभावित भएका छन् । गर्मी बढ्दै गएकोले सर्वसाधारणहरू आवश्यक कामबाहेक घरबाहिर कमै निस्कने गरेका छन् । केही दिनयता तापक्रम बढेसँगै सुनसरीसहित तराईका जिल्लामा गर्मी बढेको हो । अत्यधिक गर्मी भएपछि जिल्लाका मुख्य बजारमा चहल–पहलसमेत घटेको छ ।
गर्मी छल्न कोसी कटान
यसैबीच अत्यधिक गर्मी बढेपछि कोसी कटानमा पौडी खेल्नेको भीड बढेको छ । इटहरी, झुम्का इनरुवा, लौकही, भण्टाबारीसहितका स्थानबाट युवाहरू गर्मी छल्न कोसी कटानमा आउने गरेका छन् । उनीहरूसँगै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले समेत कोसी सिपेच भएर बग्ने पानीमा घण्टौंसम्म पौडी खेल्ने गरेका छन् । अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको बताउँदै स्थानीय रोशन ठाकुरले कोसीको चिसो पानीमा पौडी खेलेर गर्मीको समय बिताउने गरेको बताए ।
अत्यधिक गर्मी बढेपछि सुनसरीका स्थानीय तहहरूले सरकारी बिद्यालय बिदा दिएका छन् । कोसी कटानमा नियमितरूपमा २ सयदेखि ३ सयको सङ्ख्यामा नुहाउन र पौडी खेल्न सर्वसाधारणहरू आउने गरेको स्थानीय बताउँछन् । बिदाको दिन कोसी कटानमा पौडी खेल्नेको भीड झनै बढ्ने गरेको छ । दिनहुँ यात्रामा हुने यात्रुदेखि लिएर परिवारसहित बिदाका दिन रमाइलो गर्न सयौंको सङ्ख्यामा सर्वसाधारण आउने गर्छन् ।
बढ्दो गर्मीसँगै चिसो पेयपदार्थ, आईसक्रिम र उखुको जुसको व्यापार बढेको छ । गर्मीले गर्दा फलफूल, पेयपदार्थको व्यापार बढेको छ भने बजारमा मेसिनबाट जुस बनाउने व्यवसाय फस्टाएको छ । गर्मी बढेसँगै बिहानैदेखि बजारमा जुस पिउने सर्वसाधारणको भीड देखिन थालेको छ । गर्मीबाट केही राहत मिल्ने भएकोले जुस तथा पेयपदार्थ पिउने उपभोक्ताको भीड हुँदा व्यापारसमेत बढेको हो । गर्मीको मौसममा जुस बेचेर दिनको ३ देखि ५ हजारसम्म आम्दानी गर्ने गरेको कोसी गाउँपालिका–८ स्थित भण्टाबारीका छोटकेन खत्वे बताउँछन् ।
२० रुपैयाँका दरले प्रतिगिलास उखुको जुस बेच्ने गरेको बताउँदै उनले घरपरिवार चलाउन सहज भएको बताए । जुसबाट प्राप्त आम्दानीले घरपरिवारको जीविका चलाउनुका साथै छोराछोरीलाई शिक्षादीक्षा दिन सकिएको उनको कथन छ । जुससँगै बजारमा चिसो पेयपदार्थको बिक्रीवितरणसमेत बढेको छ भने विभिन्न स्वादमा पाइने आइसक्रिम खानेहरू पनि बढेका छन् । मौसमी व्यापार भए पनि जुस, पेयपदार्थसहितका व्यवसायबाट साहजस्ता दर्जनौंले राम्रै आम्दानी गर्ने गरेका छन् । गर्मी बढेसँगै जिल्ला अस्पतालमा श्वास–प्रश्वास, ज्वरो आउने, टाउको दुख्ने, वाक्वाकी लाग्नेजस्ता बिरामीको चाप बढेको जिल्ला अस्पताल इनरुवाका प्रमुख देवराज घिमिरेले बताए ।
गर्मीले जनजीवन कष्टकर
मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ । बिहानैदेखि घरबाहिर हिँडडुल गर्न मुस्किल भएको छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभई पशुपन्छीले पनि छहारी खोज्न थालेका छन् । केही दिनदेखि विराटनगरको अधिकतम् तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । विद्यार्थी र मजदुर बढीजसो चर्काे घामको मारमा परेका छन् । गर्मीका कारण पठन–पाठन प्रभावित बनेको छ । केही स्थानीय तहले गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । विराटनगर–२ स्थित जनता नमुना माविकी आस्मिन खातुन घामबाट बच्न दैनिक छाता ओढेर विद्यालय जाने गरेको बताउँछिन् । ‘कक्षा कोठामा बसेर पढ्दा असिनपसिन भइन्छ’ उनले भनिन्, ‘गर्मीका कारण पसिना चुहिएर किताब कापी भिज्छ ।’
विराटनगर–५ स्थित किड्स भिलेजका प्राचार्य विजय दाहालले अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेको बताए । उनले भने, ‘गर्मीले विद्यार्थी कक्षामा बस्नै सक्दैनन् । कतिपय विद्यार्थीको नाथ्री फुटेर नाकबाट रगत बग्दा घरबाट अभिभावकलाई बोलाउनु परेको छ ।’ विराटनगर–२ स्थित पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले बढ्दो गर्मीका कारण विद्यालयमा पठन–पाठन असहज बन्दै गएको बताए । ‘विद्यालय आउने विद्यार्थीको सङ्ख्या दैनिक घट्दै गएको छ’–उनले भने ।
यस्तै विराटनगर–३ सुकन्या मार्गका विमल कोइराला गर्मीले सताएको बेलामा बिजुली जाँदा झन् समस्या हुने गरेको बताउँछन् । बेला–बेलामा विद्युत् अवरुद्ध हुँदा रातभर जाग्राम बस्नुपरेको उनको भनाइ छ । बर्जु गाउँपालिकाका रिक्सा चालक जयराम रायले गर्मीका कारण यात्रु भेटिन छाडेको बताए । गर्मीका कारण आम्दानी ह्वात्तै घटेको रायले बताए ।
कोसी अस्पताल आकस्मिक विभागका चिकित्सक डा. राकेश यादवले गर्मीका कारण बिरामीको चाप बढेको बताए । दैनिक एक सयदेखि दुई सयको हाराहारीमा झाडावान्ता, भाइरल ज्वरो, नाकबाट रगत बग्ने, एलर्जीलगायतका बिरामी आउने गरेको बताए । डा. यादवले गर्मीका बेला सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिए । बिरामीको बढ्दो चापका कारण एउटै बेडमा तीन जनासम्म बिरामी राख्नुपर्ने बाध्यता रहेको बताए । विराटनगर महानगरपालिकाले गर्मी बढेपछि यही जेठ १८ र १९ गते नगरक्षेत्रका सम्पूर्ण सामुदायिक एवम् संस्थागत विद्यालय बन्द गरेको थियो ।