सुनसरी । सुनसरी जिल्लाको कोसी गाउँपालिकामा अवस्थित भण्टाबारी नाकामा मानव बेचबिखनविरुद्ध सक्रियता बढाइएको छ ।

दैनिक हजारौं ओहोर–दोहोर गर्ने भण्टाबारी नाकामा निगरानी बढाइएपछि बेचबिखन अपराधमा संलग्न गिरोहले अर्कै बाटो प्रयोग गर्न थालेको बताइएको छ । कोसी गाउँपालिका वडानम्बर ८ स्थित भण्टाबारी नाकामा मानव बेचबिखन न्यूनीकरण एवम् रोकथाम गर्न निगरानी बढाएपछि महिला तथा बालबालिकालाई अवैधरूपमा भारत लैजाने गिरोहले बाटो परिवर्तन गरेको साझा सवालका लागि साझा मञ्च कोकन सुनसरी अध्यक्ष मन्जिता उपाध्याय बताउँछिन् । ‘कोसी गाउँपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा सीमामा सूचना केन्द्र स्थापना गरी कोकनले निरन्तर निगरानी गरिरहेको छ’ उनले भनिन्, ‘एउटा नाकामा कडाइ गर्दा बेचबिखन तथा ओसार–पसारमा संलग्न गिरोहले बाटो परिवर्तन गर्ने गरेको देखिन्छ ।’

भारतको बिहार राज्यसँग सीमा जोडिएको सुनसरी जिल्लाका भण्टाबारीबाहेक लौकही, घुस्की, उल्टी, श्रीपुर, लाहीलगायत नाका प्रयोग गरी भारत लैजाने कार्यमा संलग्न गिरोह सक्रिय हुन थालेको बुझिएको छ् । मुख्य राजमार्गसँग जोडिएको भण्टाबारी नाका मानव बेचबिखनका लागि प्रयोग हुँदै आएकोमा यस नाकामा निगरानी बढेपछि मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न गिरोहले बाटो परिवर्तन गरेको उपाध्यायको भनाइ छ ।

छ वर्षमा १६४ जनाको उद्धार
नेपालका कैयौं जिल्लाका किशोरी तथा बालबालिकालाई बेचबिखनमा संलग्न गिरोहले विभिन्न प्रलोभन देखाएर भण्टाबारी नाका हुँदै भारतका विभिन्न सहरसम्म पु¥याउँदै आएकोमा सूचना केन्द्र स्थापना भएपछि भने उल्लेख्य सुधार आएको देखिन्छ । २०७४ सालमा उक्त सूचना केन्द्र स्थापना भएदेखि २०८० वैशाख महिनासम्म विभिन्न प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले लाँदै गरेका विभिन्न १९ वटा जिल्लाका विभिन्न उमेर समूहका १ सय ६४ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सबैभन्दा बढी ५१ जना जनजाति समुदायका महिला तथा किशोरी छन् ।

यस्तै दलित समुदायका ४१ जना, मधेसी ४२ जना, ब्राह्मण–क्षेत्री १९ जना र मुस्लिम समुदायका ११ जनाको उद्धार गरिएको कोकन सुनसरीकी कर्मचारी बालकुमारी विकले जानकारी दिइन् । मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार उद्धार गरिएकामध्ये १४ वर्षसम्मका ६ जना, १५ देखि १८ वर्ष समूहका ८१ जना, १९ देखि २४ वर्ष समूहका ६४ जना र २५ वर्षमाथिका १३ जना छन् । ‘केही वर्षयता भण्टाबारी नाकामा कोसी गाउँपालिका र प्लान इन्टरनेसनल नेपालको  सहयोगमा कोकन नेपालसँगै सुरक्षाकर्मीले निगरानी गर्न थालेपछि मानव बेचबिखन तथा ओसार–पसार कार्य धेरैहदसम्म नियन्त्रणमा आएको देखिन्छ’ कोकन नेपालका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले भने, ‘हाम्रै निगरानीका कारण भण्टाबारी नाका मानव तस्करी नियन्त्रण उन्मुख देखिएको छ ।’

महिला तथा बालबालिकालाई बेचबिखन गर्ने प्रयोजनका लागि लाने क्रममा पक्राउ परेकामध्ये दुई जनामाथि मानव बेचबिखन र सात जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको पाइएको छ । मानव बेचबिखन रोकथाम गर्न अभिभावक अभिमुखीकरण कार्यक्रम, बेचबिखनविरुद्ध महिला र किशोरी समूह निर्माणसँगै सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूलाई बेचबिखन तथा ओसार–पसारविरुद्ध चेतनामूलक कार्यक्रम गर्दै आएकोले मानव बेचबिखनविरुद्ध सर्वसाधारण जागरुक बनेको कोसी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले बताइन् । चेलीबेटी तथा मानव बेचबिखन कार्य नियन्त्रणका लागि सरकारी तथा विभिन्न गैरसरकारी निकाय सीमाक्षेत्रमा केन्द्रित छन् ।

तर, छोटो समयमा अपरिचित व्यक्तिलाई विश्वास गर्ने, सम्बन्ध जोड्ने, नियमित सम्पर्कमा बस्ने, राम्रो जागिर दिने, प्रेम तथा विवाह गर्नेजस्ता प्रलोभन दिई युवतीलाई सीमा कटाउने गिरोह सक्रिय रहेकाले सतर्क रहनुपर्ने आवश्यकता रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नारायणप्रसाद चिमोरिया बताउँछन् । ‘उद्धार गरिएकामध्ये अधिकांश पीडितहरू कानूनी प्रक्रिया अगाडि बढाउन चाहँदैनन्’  कोशी प्रदेशका पूर्व कानूनमन्त्री तथा मोरङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सांसद् लीलावल्लभ अधिकारीले भने, ‘उनीहरूमा पीडकलाई कानूनी सजाय दिलाउनु पर्छ भन्ने चेतनाको अभाव भएको देखिन्छ ।’ कोसी गाउँपालिका, कोकन नेपाल, प्लान इन्टरनेसनल नेपालले सीमामा तैनाथ दुवै देशका सुरक्षाकर्मीसँग सहकार्य गरेर मानव बेचबिखन रोकथाम गर्न उल्लेखनीय भूमिका खेलेकोमा प्रशंसा गर्दै उनले सीमावर्ती क्षेत्रमा हुने यस्ता समस्या समाधान गर्न कानून कार्यान्वयनमा राज्यपक्ष इमानदार बन्नुपर्ने बताउँछन् ।