धनकुटा । अत्याधिक वर्षाका कारण तमोर नदीमा आएको बाढीले गर्दा नदीका माछा बगाएर ल्याएपछि धनकुटाको मूलघाटस्थित तमोर नदीमा माछा मार्न स्थानीयवासीको घुइँचो लागेको छ ।
भारी वर्षाको कारण कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा जनधनको क्षति भए पनि धनकुटाको मूलघाट, याक्चाना, सदाम, छरुवा, रगुवालगायत आसपासको क्षेत्रमा भने माछा मार्नेहरूको भीड बढेको हो । आइतबार बिहानदेखि तमोर नदी आसपासका स्थानीयलाई माछा मार्न भ्याई–नभ्याई भएको थियो । उनीहरूले माछा डोकोमा लगेका थिए ।
तमोर तथा अरुण नदीमा भारी वर्षाको कारण बाढी आएपछि माछा बगाएर ल्याउने गरेका कारण माछा मार्नेको भीड लागेको हो । आइतबार बिहानै तमोर नदीमा लेदो पानीसँगै कत्ले, फाली, भ्याद्रो, (लिम्बुनी माछा), सहर, बुदुना, असला, काभ्रेलगायत विभिन्न प्रजातिका ठूला–ठूला माछाहरू बगरमा भेटिएका थिए ।
तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा मार्नेहरूको भीड बढ्न थालेपछि जोखिम पनि उत्तिकै बढेको छ । माछा मार्नेले २५ देखि ३० केजीसम्मको भ्याद्रो (लिम्बुनी) माछा फेला पारेका थिए । यसअघि २०७२ सालमा आएको बाढीले मूलघाट क्षेत्रमा एक सय केजीसम्मको माछा भेटिएको तमोर रिभरसाइड रिसोर्टका सञ्चालक मोहन बान्तावाले बताए ।
तमोरमा भेटिएको माछा अहिले प्रतिकिलो एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ठूला माछा भेटिएपछि स्थानीयको व्यापार फस्टाएको छ । आइतबार बिहानैदेखि तमोर नदीमा माछा मार्नेको भीड लागेको बान्तावाले बताए ।
आइतबार साँझसम्म पनि बाढी नरोकिएको राष्ट्रिय भूमि आयोग धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राईले बताए । उनले पनि एउटै माछा १५ किलोसम्मको भेटिएको बताए । उनले बाढीले बगाएर ल्याएको आलो माछा खाना नहुने बताए । यदि कोही कसैले बाढीले बगाएर ल्याएको आलो माछा खाए हैजा लाग्न सक्ने खतरा रहेको भन्दै सर्वसाधारणलाई सचेत गराएका थिए ।