भद्रपुर । वैदेशिक रोजगारका लागि झापा सबैभन्दा अगाडि रहेको पाइएको छ । गत आर्थिक वर्षमा झापाबाट २७ हजार ९ सय ६६ जना विदेशिएका थिए भने चालु आर्थिक वर्षको दश महिनामा २८ हजार ८ सय ३६ जना वैदेशिक रोजगारमा गएका छन् ।
स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रूपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी)को तथ्याङ्कले यस्तो देखाएको हो । सामीले आइतबार भद्रपुर नगरपालिकामा पत्रकारसँग गरेको छलफलमा यस्तो देखिएको थियो । यो तथ्याङ्कमा ९० प्रतिशत काम गर्नकै लागि विदेशिने गरेको पाइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ठगिमा परेपछि हालसम्म १६ लाख ९५ हजार रकम उठाइएको र आर्थिक सहायता तर्फ ८६ लाख प्रदान गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका झापा संयोजक फणिन्द्र दाहालले जनाएका छन् । ठगी दाबी रकम धेरै भए पनि सबैको पहलमा ठगी गर्नेहरूबाट उठाइएको उनले बताए । चालु आर्थिक वर्षको दश महिनामा १ सय १० वटा मुद्दा परेकोमा ३४ वटा समाधान भइसकेको र बाँकी प्रक्रियामा रहेको उनको भनाइ छ ।
झापामा २०७२ सालदेखि तत्कालीन जिल्ला विकास समिति अन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना २०७४ सालको स्थानीय तहको निर्वाचनपछि स्थानीय तहहरूले नै सो परियोजना सञ्चालन सुरु गरेका हुन् । २०७६ मङ्सिरदेखि भद्रपुर नगरपालिकाले परियोजना सञ्चालन गर्न बिर्तामोडको विराट सामुदायिक अध्ययन केन्द्रलाई जिम्मेवारी दिएको थियो । तर, यस आ.व.देखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भद्रपुर नगरपालिकाले आफै सञ्चालन गरिरहेको संयोजक दाहालले जनाएका छन् । सूचनाको पहुँच अन्तर्गत नै वैदेशिक रोजगारीबाट फर्केकाहरूबाटै स्वयम् सेवकहरू घरदैलोमा सूचना प्रवाह गर्ने, सम्भावित स्थानमै गएर सामुदायिक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिरहेको उनको भनाइ छ । गत आ.व.मा भद्रपुर न.पा.मा १५ वटा र चालु वर्षमा ३ वटा सामुदायिक अभिमुखीकरण कार्यक्रम रहेको बताइएको छ ।
सूचनाको पहुँच, न्यायिक सहजीकरण, सीपमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श यी शीर्षकले वैदेशिक रोजगारी सम्बन्धी सबै समस्या समाधान गर्ने संयोजक दाहालको भनाइ छ । सूचनाको पहुँच अन्तर्गत नै सम्भावित वैदेशिक रोजगारीमा जाने अर्थात् राहदानी लिएकाहरूलाई विशेष अभिमुखीकरण र पत्रकारहरूलाई समेत वैदेशिक रोजगारसम्बन्धीका समस्या समाधानमा सूचना प्रवाहको लागि अभिमुखीकरण रहेको दाहाल बताउँछन् ।
स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रूपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वैदेशिक रोजगारसम्बन्धी कुनै पनि समस्या समाधान नगरपालिकाबाटै हुने उनले बताए । वैदेशिक रोजगारमा जान राहदानी बनाउने बेलादेखि वैदेशिक रोजगारीबाट घर फर्कने बेलासम्म अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । अझ कतिजनाको त वैदेशिक रोजगारीकै सिलसिलामा मृत्यु हुँदा शव परिवारसम्म ल्याउनसमेत अनेकन समस्याको सामना गर्नुपर्ने हुन्छ । वैदेशिक रोजगारीमा रहेका समस्याहरूलाई सहजीकरण गरी नगरवासीको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भद्रपुर नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सञ्चालन गरेको हो । राहदानी बनाउने बेलादेखि वैदेशिक रोजगारीबाट घर फर्कने बेलासम्म र अझ घर फर्केर पनि श्रम स्वीकृति रहेको अवधिसम्ममा पर्ने कुनै पनि समस्या समाधान सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले गर्ने संयोजक दाहाल बताउँछन् ।
मुद्दा दर्ता गराउन सहयोग गर्ने, विदेशमा भएको अवस्थामा मृत्यु भएमा शव घरसम्म ल्याउन सहयोग गर्ने, मृतकको छोराछोरीलाई १२ कक्षासम्म छात्रावृत्ति उपलब्ध गराउन सहयोग गर्ने, वैदेशिक रोजगारमा रहेको बेलामा दुर्घटनामा परी अङ्गभङ्ग भएमा ७ लाखसम्म उपचार खर्च, श्रम स्वीकृति रहेको अवस्थामा तथा श्रम स्वीकृति सकिएको एक वर्षसम्म विदेशमा वा स्वदेशमा रहे पनि ७ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउन पहललगायतका कामहरू र क्षतिपूर्ति तथा बिमाको रकम उपलब्ध गराउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सहयोग गरिरहेको उनले जनाए । गत आ.व.मा भद्रपुर नगरपालिकाको तीनवटा वडामा १ सय १३ जनालाई र चालु आ.व.मा पनि तीनवटा वडामा गरी १ सय ३० जनालाई २१ हप्ते वित्तीय साक्षरता तालिम दिइएको उनले जनाए । त्यसैगरी भद्रपुर नगरपालिकाले वैदेशिक रोजगारमा रहेका व्यक्ति र उनका परिवारलाई मानसिक तनावबाट छुट्कारा दिन गत आ.व.मा १० वटा मनोसामाजिक परामर्श कार्यक्रम गरिएको थियो भने चालु आर्थिक वर्षमा ४ वटा कार्यक्रम रहेको कार्यक्रम संयोजक दाहालले बताएका छन् ।
सुरक्षित तहमा आप्रवासन (सामी) कार्यक्रम झापाको भद्रपुर, दमक, मेचीनगर र गौरीगञ्जमा सञ्चालनमा रहे पनि अन्य पालिकामासमेत निगरानी गरिरहेको जनाइएको छ । सामीले गरेको अनुसन्धानमा वैदैशिक रोजगारमा मुख्यतया सूचनामा कमी, न्यायको पहुँच नहुनु, सीप र तालिमको अभाव, वित्तीय साक्षरतामा कमी र मनोसामाजिक परामर्शमा कमी जस्ता समस्याले धेरैजसो रोजगारहरूले दुःख झेल्नु परिरहेको जनाइएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरूप २०६७ सालमा नेपालका पहिलो २ वटा खोटाङ र सर्लाही जिल्लामा सञ्चालित भएको थियो । जसको परिणाम राम्रो भएपछि अहिले ३८ वटा जिल्लाका १ सय ५६ स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको पनि दाहालले जानकारी गराए । १ जना कार्यक्रम संयोजक, २ जना परामर्शकर्ता (जिल्ला प्रशासन कार्यालयमा), सामाजिक परिचालन अधिकृत १ जना, वित्तीय साक्षरता सहजकर्ता १ जना, मनोसामाजिक परामर्शकर्ता १ जना र ३ रिटर्निङ स्वयम् सेवकहरू २ जनाको समूहले भद्रपुर नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेका छन् ।