सुनसरी । कोसी गाउँपालिका वडानम्बर १ लौकहीकी पार्वती सदा वर्षांैदेखि सुकुम्बासीजस्तै थिइन् । जग्गा भए पनि आफ्नो जीवनकालमा लालपुर्जा पाइएला भन्ने आशा नै मारिसकेकी थिइन् । तर, कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको हातबाट जग्गाधनी प्रमाण–पत्र पाएपछि उनी छक्क परिन् ।

कोसी गाउँपालिका वडानम्बर १ स्थित लौकहीमा रहेको कोसी गाउँपालिकाको सभाहलमा जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण समारोहका बीच कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव, कोशी गाउँपालिका वडानम्बर १ का अध्यक्ष शोभितनारायण यादवलगायतले सदाजस्तै ९१ घरपरिवारलाई शनिबार जग्गाधनी प्रमाणपुर्जा दिएका हुन् । कोसी गाउँपालिका वडानम्बर १ साविक लौकही गाविस वडानम्बर ६ को कित्ता नं. ५ र वडा नं. ८ को कित्ता नं. ५५ को गाउँ ब्लक अन्तर्गत शनिबार ९१ जनालाई लालपुर्जा वितरण गरेको नापी कार्यालय इनरुवा सुनसरीले जनाएको छ । कोसी गाउँपालिकाको सहयोगमा आयोजना गरेको जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण समारोहका बीच कोसी वडानम्बर १ का ९१ जनालाई लालपुर्जा वितरण गरिएपछि उनीहरूको परिवारमा खुसी छाएको हो ।

कोसी–१ लौकहीकै २८ जनालाई केही समयअगाडि नै जग्गाधनीको लालपुर्जा वितरण गरिएको कोसी गाउँपालिकाको कार्यालयले जनाएको छ । कोसी  गाउँपालिका वडानम्बर १ साविक लौकही गाविस वडानम्बर ६ को कित्ता नं. ५ को लालपुर्जा पाएका ५७ वर्षका राधा मण्डल ५४ वर्षपछि जग्गाधनी प्रमाणपत्र पाउँदा अचम्म लागेको बताउँछन् । आफ्नै जीवनकालमा लालपुर्जा पाइएला भन्ने आशा मारिसकेको बताउने उनी भन्छन्, ‘हातमा लालपुर्जा नहुँदा सुकुम्बासी भएर बस्नुपरेको थियो, बल्ल केही गर्न पाइएला भन्ने आश पलायो ।’ मण्डलजस्तै हाल कोसी गाउँपालिका वडानम्बर १ की आरती सदाको परिवारमा साविक लौकही गाविस वडा नं. ८ को कित्ता नं. ५५ को जग्गाधनी लालपुर्जा पाउँदा खुसी छाएको छ । ‘धेरै वर्षसम्म लालपुर्जा पाइने आशमा बितायौँ तर, पाइने हो, होइन विश्वास लागेकै थिएन’ ३८ वर्षीया उनले भनिन्, ‘हरेक चुनावका बेला सबैले लालपुर्जा दिन्छु भन्थे । यसपटक साँच्चै पाइयो ।’

कोसी गाउँपालिका वडा नम्बर १ साविक लौकही गाविस वडानम्बर ६ को कित्ता नं. ५ र वडा नं. ८ को कित्ता नं. ५५ को गाउँ ब्लकअन्तर्गत एक सय १९ जनालाई लालपुर्जा वितरण गर्न अहम् भूमिका निर्वाह गरेको भन्दै स्थानीय कुन्दन मण्डलले सबैलाई धन्यवाद दिए । भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणमा निस्सा वितरण गर्दै नापजाँच गरेर लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । ‘वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीले लालपुर्जा पाएपछि अब झन्झटबाट छुट्कारा पाउनेछन्’ उनले भने, ‘लालपुर्जा हुँदा अब उनीहरू व्यक्तिगत काम, बैङ्कबाट ऋण लिन, धितो राख्न, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट बञ्चित हुनुपर्ने छैन ।’ सुनसरीका १२ वटा स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी जम्मा ४० हजार ५० परिवारले निवेदन दर्ता गराएका थिए । निवेदन दिएकाहरूलाई स्थानीय तहको समन्वयमा भूमिहीन परिवारलाई लालपुर्जा र अव्यवस्थित बसोवासीलाई व्यवस्थित बनाउने प्रक्रिया अन्तर्गत निस्सा वितरण गर्दै नापजाँचपछि लालपुर्जा वितरण गर्न थालिएको हो ।