- दैनिक खर्च कटाएर एक हजारदेखि दुई हजार कमाइ हुने बताउँछिन् ।
- ‘दुईदेखि तीन घण्टा यहाँ बसेर सेलरोटी पकाउँछु, एक भाँडा पिठो सबै सकिन्छ’–शशी तुम्याहाङ ।
- दैनिक ८ देखि १२ पोका दूधको चिया बनाउँछिन् निर्मला ।
- विगत १८ वर्षदेखि भानुुचोकको बिहानीलाई स्फूर्ति दिँदै आएकी छन् निर्मलाले ।
देउराली । भोजपुरको डाँडागाउँकी निर्मला भुजेलको निन्द्रा त्यतिबेला छुट्छ, जतिबेला सिङ्गो धरानको निन्द्रा आधा अझै बाँकी हुन्छ ।
माछाभौडीस्थित भाडाको कोठामा बस्दै आएकी निर्मला बिहान ३ बजे तन्द्रामै भानुचोक आइपुग्छिन् । भानुभक्तको सालिकअगाडि रहेको चौतारोमा निर्मलाको स्टोभ जल्न थाल्छ । स्टोभको भ्यारारा सुनेपछि वरपर छरिएका यातायात मजदुर, चालक, सह–चालक र यात्रुहरू चौतारोमा भेला हुन्छन् ।
उनले बनाएको चियाको सुरुप्प चुस्की लिएपछि मात्रै यातायात मजदुर भानुचोकका मोटर गाडी प्याँप्याँ पुँपुँ पार्न थाल्छन् । घाम नआई सवारीसाधन गन्तव्यतर्फ लाग्छन् । विगत १८ वर्षदेखि भानुुचोकको बिहानीलाई यसरी नै स्फूर्ति दिँदै आएकी छन् निर्मलाले ।
बिहान ३ बजेबाट सुरु भएको उनको चियाको व्यापार बिहान ७ बजेसम्म चल्छ । उनी यात्रु र यातायात मजदुरलाई चिया, चमेना बिक्री गर्छिन् ।
‘श्रीमान् नेपाल प्रहरीमा हुनुहुन्छ, एउटी छोरी छे’ एक छोरीकी आमा निर्मलाले भनिन्, ‘काम नगरी बस्न सकिँदैन, केही न केही त गर्नै पर्यो, अनि यही व्यापार सुरु गरेकी छु । ’
व्यापार लकडाउन हुनुभन्दा अगाडिसम्म राम्रै चल्थ्यो । उतिबेला राम्रो व्यापार हुने गरेको भए पनि अहिले खासै छैन । ‘बिहानै आउनु पर्छ गाह्रो छ, अहिले त कोठाभाडा तिर्नमात्र ठिक्क हुन्छ । ’
दैनिक ८ देखि १२ पोका दूधको चिया बनाउँछिन् निर्मला । ‘कति कप बेचियो भनेर ठ्याक्कै भन्न सकिँदैन’–निर्मला भन्छिन् ।
‘पहिला–पहिला बिहानभरिमा ४–५ हजारको कारोबार हुन्थ्यो । अहिले दुई हजार २५ सय मात्र हुन्छ । तीन घण्टा जति व्यापार गर्न पाइन्छ, पहिलेको जस्तो चहलपहल पनि छैन’–निर्मला भन्छिन् ।
भानुचोकमा चिया बेचेरै घरखर्च धान्ने र जीविकोपार्जन गर्ने १० भन्दा बढी व्यापारी भेटिन्छन् । धरानको भानुचोकमा बिहान २ बजेदेखि झण्डै ६ बजेसम्म चिया फिट्ने र नास्ता बेच्नेहरू देखिन्छन् ।
यातायात मजदुर, यात्रु साथै धरानमा रातिको समयमा ड्युटी गर्नेहरू, मर्निङवाक हिँड्नेहरू चिया पिउन भानुचोक पुग्ने गर्दछन् ।
‘बिहानभरि यहाँ बसेर चिया बेच्छु, दिउँसो अरू काम गर्छु ।’
भानुचोककै पहाड जाने बस स्टेण्डअगाडि घण्टाघरकै कम्पाउण्डमा त्रिपाल टाँगेर चिया, अण्डा, पाउरोटी, सेलरोटी बनाएर पनि बिक्री गर्दै आएका छन् । मीनाकुमारी चौधरी त्यहीँ बसेर चिया बेच्छिन् । उनको चिया पसलमा बस स्टेण्डका यात्रु, चालक, सह–चालक मात्र नभएर मर्निङ वाक गर्ने, विभिन्न संस्थामा रातको समयमा ड्युटी गर्ने पनि चिया पिउन आउने मीना बताउँछिन् ।
मीना भन्छिन्, ‘मैले भानुचोकमा बसेर चिया बेच्न थालेको १४ वर्ष भयो । बिहानभरि यहाँ बसेर चिया बेच्छु, दिउँसो अरू काम गर्छु ।’
शान्तिपथमा कोठा भाडामा बस्दै आएकी उनका दुुई छोरामध्ये एक फरक क्षमताका छन् । मीनाको साथमा उनका श्रीमान् छैनन् । एक्लै छोराहरूको लालन–पालन गर्दै आएकी उनी भन्छिन्, ‘दैनिक ५ देखि ६ हजारको कारोबार हुन्छ, बिहान साहुबाट उधारो ल्याएर बेच्छु, बेलुकी साहुलाई बुझाउनु पर्छ ।’ उनी सबै खर्च कटाएर छ सयदेखि १५ सयसम्म दैनिक कमाइ हुने बताउँछिन् ।
बिहानभरि भानुचोकमा चिया बेच्ने गरेकी उनी दिउँसो घरायसी काम गर्न जान्छिन् । ‘बिहानै उठ्नुपर्छ, गाह्रो छ, गाह्रो मानेरै बस्यो भने झन् गाह्रो हुन्छ’ मीना भन्छिन्, ‘काम गर्न लाज मान्नु हुँदैन, लाज माने मुखमा माड लाग्दैन ।’
कोठा भाडामा बस्ने मीनाले मासिक ६ हजार रुपैयाँ भाडा बुझाउनु पर्छ । घरखर्च चलाउन, औषधि-उपचार गर्न पनि बचत गर्नैपर्छ । ‘कहिलेकाहीँ काम गरेअनुसारको कमाइ हुँदैन अनि दुःख लाग्छ’–मीना दुःखेसो पोख्छिन् ।
२० रुपैयाँ कपमा बिक्री हुने भानुचोककोे चिया पिउँदा पैसा असुल हुने, स्वाद र सन्तुष्टि पाइने भोजपुर घर भएका अमृत राई बताउँछन् ।
‘महिनामा २–३ पटक भोजपुर आउजाउ हुन्छ, जतिपटक आउजाउ गर्छु, त्यति नै पटक यहाँ बसेर चिया पिउँछु’ राई भन्छन्, ‘भानुचोकको चिया निकै मीठो छ, शरीरमा पनि फूर्ति आउँछ ।’
दैनिक तीनदेखि चार हजारको कारोबार हुने गरेको बताउने उनी खर्च कटाएर एक हजारदेखि दुई हजार कमाइ हुने बताउँछिन् ।
त्रिपालको अर्को कुनामा धनकुटा स्याउलेकी शशी तुम्याहाङ सेलरोटी बनाउँछिन् । उनले सेलरोटी पकाउन थालेको ३ महिना भयो । यसअघि उनकी आमा त्यहाँ बसेर सेलरोटी पकाउँथिन् । धरान–१५ श्यामचोकमा कोठा भाडामा बस्ने उनी २५ रुपैयाँ प्रतिगोटा सेलरोटी बेच्छिन् । शशी भन्छिन्, ‘दुईदेखि तीन घण्टा यहाँ बसेर सेलरोटी पकाउँछु, एक भाँडा पिठो सबै सकिन्छ ।’ दैनिक तीनदेखि चार हजारको कारोबार हुने गरेको बताउने उनी खर्च कटाएर एक हजारदेखि दुई हजार कमाइ हुने बताउँछिन् ।
यात्रु र यातायात मजदुरसँगै बिहान व्यायाम गर्नेदेखि बीपी प्रतिष्ठानमा रातिको ड्युटी गर्ने पनि भानुचोक पुग्ने गरेको शशी बताउँछिन् । उनी भन्छिन्, ‘बिहान पसल खोल्नेहरूले पनि खाजाको लागि सेलरोटी खानुहुन्छ, मर्निङवाक गर्नेहरू पनि आउनुहुन्छ, यहाँ पनि खानुहुन्छ, घरमा खाजा खाने गरी पनि लानुहुन्छ ।’
मर्निङवाक गर्दै धरान–१० बाट भानुचोक आएका निमा थेवे भन्छन्, ‘सेलरोटी हाम्रो मैलिक खाजा हो । मर्निङवाकमा यता आएको बेला प्रायः सेलरोटी खाने गर्छु ।’
पूर्वी पहाडी जिल्ला छिर्ने नाकाको रूपमा रहेको भानुचोकमा बिहानको समय धनकुटा, पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुरलगायतका पूर्वी पहाडी जिल्लाका साथै काठमाडौँ जाने र आउने यात्रुहरूको आवागमन हुन्छ । भानुचोकमा अन्य पसल नखुलेको समय बिहानको राति भानुचोक क्षेत्रमा यस्ता व्यवसाय सञ्चालन गर्ने व्यवसायीले चिया, चुरोट, अण्डा, सेलरोटी तथा सुख्खा रोटी बिक्री गर्ने गरेका छन् । यसबाहेक थर्मसमा चिया बोकेर बिक्री गर्ने घुमुवा व्यापारी पनि उत्तिकै छन् ।