विराटनगर । कोशी प्रदेशमा बर्सेनि ८० प्रतिशत सवारी दुर्घटना वृद्धि भएर जाँदा २६.६४ प्रतिशत मानिसको मृत्युदर बढेर गएको पाइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको चार वर्षको अभिलेखअनुसार १४ जिल्ला रहेको कोशी प्रदेशको विभिन्न स्थानमा ११ हजार सय ६५ वटा सवारी दुर्घटनामा परी १ हजार ७ सय १ जनाको मृत्यु भएको देखिएको हो । त्रि–वर्षीय दुर्घटनाको विश्लेषण गर्दा बर्सेनि औसत ८० प्रतिशतले दुर्घटना वृद्धि, २६.६४ प्रतिशतले मानिसको मृत्युमा वृद्धि र २९ प्रतिशतले गम्भीर घाइतेको सङ्ख्यामा वृद्धि भइरहेको अत्यासलाग्दो अवस्था देखिएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै यस प्रदेशमा ३ हजार ८ सय २० वटा सवारी दुर्घटनाबाट ५ सय ३१ जनाको मृत्यु, १ हजार १ सय १४ जना गम्भीर घाइते र ५ हजार ४ सय ४५ जना सामान्य घाइते भएको तथा करोडौंको भौतिक सम्पत्तिको क्षति भएको कहालीलाग्दो अवस्था रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३ सय २२ वटा सवारी दुर्घटनामा परी ३ सय ३२ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ७ सय ९१ र सामान्य घाइते २ हजार २ सय रहेको प्रहरीको अभिलेखमा देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार १ सय ३१ वटा सवारी दुर्घटनामा परी ४ सय ४४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १ हजार ८३ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।  चालु आर्थिक वर्ष २०७९/०८० को असार १७ गते सम्ममा ३ हजार ६ सय ६४ वटा सवारी दुर्घटनामा परी ३ सय ९४ जनाको मृत्यु भएको एसपी महतोले बताए ।

‘दुर्घटनाको कारणहरूबारे विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव गतिका कारण भएको देखिएको छ । १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा र ७ प्रतिशत दुर्घटना चालक अनुमति–पत्र नभएकाले सवारी चलाउँदा दुर्घटना भएको देखिएको छ’ उनले भने, ‘१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताहरूले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको छ ।’

दुर्घटनालाई नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, ई–रिक्सा तथा टेम्पो र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधनहरूको संलग्नता रहेको एसपी महतोले जानकारी गराए । ‘सवारी साधनका चालकहरू र सडक प्रयोगकर्ताले ट्राफिक नियमको पालना नगर्नु कानूनतः दण्डनीय कसूर हो भनी आत्मसात गरी ट्राफिक नियमको पालनामा पूर्ण प्रतिबद्धता हुन सकेको खण्डमा मात्र दुर्घटना न्यूनीकरणतर्फ आशातीत सफलता प्राप्त गर्न सकिन्छ’–एसपी महतोले भने ।

यसै अनुपातमा दुर्घटनामा वृद्धि भइरहने र न्यूनीकरणतर्फ सरोकारवाला निकायहरूले जिम्मेवारी बोध गरी ठोस कदम नचाल्ने हो भने भविष्यमा अझ भयावह स्थिति आउने ट्राफिक प्रहरीका अधिकारीहरू बताउँछन् ।

अधिकांश सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि प्रमुख कारणको एसपी महतोले बताए । आगामी दिनमा ट्राफिक प्रहरीलाई स्रोत साधन सम्पन्न बनाई सबै जिम्मेवार निकायहरूले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेको खण्डमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा सुधार हुने उनले बताए ।

यस आर्थिक वर्षमा ट्राफिक नियमको उल्लङ्घन गर्ने चालकहरूलाई कडाइका साथ कारबाही गर्दा हालसम्म २ लाख ८५ हजार भन्दा बढी चालकहरू कारबाहीमा परेका छन् । जुन सङ्ख्या गत आर्थिक वर्षकोे भन्दा ११ प्रतिशतले बढेको ट्राफिक प्रहरीले जनाएको छ । हालसम्म ट्राफिक कारबाहीबाट १९ करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ ।

विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा १ करोड ९५ लाखभन्दा बढीको ट्राफिक सामग्री तथा स्रोत साधनहरू जुटाइएको छ भने १ करोडभन्दा बढी लागतको भौतिक संरचना निर्माण गरिएको एसपी महतोले बताए । आगामी आर्थिक वर्षको लागि प्रदेश सरकार एवम् स्थानीय निकायहरूसँग ४ करोड मूल्य बराबरको ट्राफिक सामग्रीहरू उपलब्ध गराइदिन माग गर्ने जनाइएको छ ।

कोशी प्रदेशमा ट्राफिक सप्ताहको उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनले बताए । यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताए ।

सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताए । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा मङ्गलबार २६ लाख ५३ हजार बराबरको ट्राफिक सामग्रीहरू र १० लाख बराबरको पर्चा, पम्प्लेट एवम् सचेतना सामग्रीहरू हस्तान्तरण पनि गरिएको छ ।

durgata tahakna