विजयपुर । ट्राफिक प्रहरीको एक अध्ययनले धरानमा सार्वजनिक यातायातका साधनका चालकमध्ये ६० प्रतिशतले लागूऔषध सेवन गर्ने गरेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरानका बस,  सिटी सफारी र टेम्पोका चालकहरूमा नमुना परीक्षण गर्दा ५ मध्ये ३ जनाले लागूऔषध सेवन गरेको पाइएको थियो ।

चालकहरूमध्ये धेरैले लागूऔषध सेवन गर्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले लापसे (लागूपदार्थ सेवन) गरे÷नगरेको परीक्षण सुरु गरेको छ । लापसे गरेर सवारी चलाउने चालकलाई जन्मकैदसम्म हुने कानूनी व्यवस्था रहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सञ्चालन गरेको ट्राफिक सप्ताहको छैठौं दिन (आइतबार) बाट कोशी प्रदेशमा पहिलो पटक लागूपदार्थ सेवन गरे÷नगरेको परीक्षण सुरु भएको छ । 

सुनसरी जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर श्यामकुमार बस्नेतले अब आवश्यकताअनुसार चालकहरूको परीक्षण गरिने र सेवन गरेको पाइए कानूनी कारबाही अघि बढाउने बताए ।

लागूऔषध सेवन गरे÷नगरेको परीक्षण मानिसको पिसाबबाट गरिन्छ । इन्स्पेक्टर बस्नेतले भने, ‘पिसाब टेष्ट गर्दा किटमा दुई वटा धर्सा आएमा नेगेटिभ अर्थात् लागूपदार्थ सेवन नगरेको बुझिन्छ । ६ वटा ठाउँमा कुनै एउटामा एक धर्सा मात्रै आएमा पोजेटिभ अर्थात् लागूपदार्थ सेवन गरेको बुझिन्छ ।’

किटले ६ प्रकारको लागूऔषध सेवन गरेको देखाउँछ । किटले गाँजा, इन्जेक्सन, ट्याब्लेट, कोकिन, मर्फिन, अफिम प्रयोग गरेको पत्ता लगाउँछ । लागूऔषध सेवन गरेर सवारी चलाउँदा के सजाय हुन्छ भन्ने जिज्ञासामा इन्स्पेक्टर बस्नेतले भने, ‘लागूऔषध (नियन्त्रण) ऐन २०३३ आकर्षित हुन्छ ।’

लागूऔषध (नियन्त्रण) ऐन २०३३, संशोधन २०७२ समेतको परिच्छेद ३ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था गरेको छ । दफा १४ को उपदफा १ मा निषेध गरिएका कार्य गर्ने व्यक्तिलाई अपराधको मात्राअनुसार सजाय हुने व्यवस्था गरेको छ । उपदफा १ को  (क) मा गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था छ । उपदफा १ को (ङ) मा अफिम, कोका वा सो बाट बनेको लागूऔषध सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजारसम्म जरिबानाको व्यवस्था छ ।

उपदफा १ को (छ) मा अफिम कोका वा सोबाट बनेको लागूऔषधको सेवन र खेती गर्ने कार्यबाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई अपराधको मात्रा हेरी कम्तिमा ५ वर्ष कैद, पाँच हजार जरिबाना र बढीमा पन्ध्र वर्षदेखि जन्मकैद र २५ लाख जरिबाना हुने व्यवस्था रहेको छ । (ज) मा नेपाल सरकारले समय–समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागूऔषध वा मनोद्दीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्यान्स) र तिनको लवण तथा अन्य पदार्थसमेतको दुव्र्यसन गर्ने व्यक्तिलाई दुई महिनासम्म कैद दुई हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

दफा १४ मा अपराधको मात्रा भन्नाले लागूऔषधको प्रकृति, परिमाण, सञ्चय, खरिद–बिक्री, ओसार–पसार वा निकासी – पैठारीलगायत पर्दछ । लागूऔषध सेवन गरे/नगरेको परीक्षण सुरुवात कार्यक्रममा धरान उमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले यसअघि मादकपदार्थ सेवन मात्रै चेक गर्ने गरेको ट्राफिक प्रहरीले अब लागूऔषध सेवन गरे/नगरेको पनि चेक गर्ने बताए । उनले भने, ‘ड्राइभर र यात्रुको सुरक्षाका लागि हो ।’

धरानका तीन पाङ्ग्रे सवारी साधनका धेरै चालकहरूले लागूपदार्थ सेवन गर्ने गरेको पाइन्छ । इन्स्पेक्टर बस्नेतले ‘ब्रेथलाइजर’ ले मादक पदार्थ सेवन गरे÷नगरेको चेक गर्दा कतिपयले ‘रेडबुल’ खाँदा पनि मादक पदार्थ सेवन गरेको देखाएको दाबी गर्ने गरेको बताए ।

कार्यक्रममा ‘रेडबुल’ नखाई र खुवाएर ‘ब्रेथ लाइजर’ ले मापसे परीक्षण गरिएको थियो । ब्रेथलाइजरले रेडबुल खाँदा पनि मादक पदार्थ सेवन गरेको देखाएन । उपप्रमुख बेघाले आफूलाई पनि रेडबुल खाँदा मापसे गरेको भन्दै पक्राउ गरेको गुनासो आउने गरेको बताउँदै भने, ‘प्रत्यक्ष हेरियो रेडबुल खाँदा मापसे देखाउँदैन रहेछ ।’