विजयपुर । बल्ला नामक सिलप्याक गरिएको एक लिटर पानीको बोतलमा अखाद्य वस्तु फेला परेको छ ।
तरहरास्थित दिव्याश्वरी उद्योगबाट उत्पादित ‘बल्ला’ नामक सिलप्याक एक लिटरको बोतलमा फोहोर देखिएको हो । धरान–८ बरगाछीस्थित एक किराना पसल (सन्तोष पान पसल) ले बिक्री गरेको बल्ला कम्पनीको पानीमा फोहोर फेला परेको पसल सञ्चालक अशेष पौडेलले जानकारी दिए । उनले यसबारे कम्पनीलाई बारम्बार फोन गर्दा पनि बेवास्ता गरेकाले बाध्य भएर मिडियामा आउनुपरेको बताए । उनका अनुसार पानीको बोतलभित्र किरा तथा साङ्लालगायतका फोहोर देखिएको बताए । उनले भने, ‘मलाई पनि थाहा थिएन, बिक्री गरेको थिएँ, ग्राहकले फिर्ता ल्याएपछि पो थाहा भयो, कम्पनीलाई त्योबारेमा जानकारी गराएँ । त्यसपछि फोन नै उठाइरहेको छैन ।’
उनी प्रशोधित पानीमा फोहोर देखिएपछि सिलप्याक बोतलसहित ब्लाष्ट कार्यालयमा आएका थिए । उनले भने, ‘चिनेकै ग्राहक भएकाले केही गरेन, नभए मलाई नै अप्ठ्यारो हुन्थ्यो ।’ उनले फोहोर पानी फेला परेपछि कम्पनीमा सम्पर्क गरेको बताउँदै भने, ‘एक पटक फोन उठाए । मैले जानकारी गराएँ । कहीँ नजानू भन्यो । छलफल गरौँ भन्यो । त्यसपछि फोन नै उठाउन छाड्यो ।’ बल्ला पानी इटहरी–२० तरहराबाट दिव्याश्वरी उद्योगले उत्पादन गर्दै आएको छ । सञ्चालक पौडेलले दिव्याश्वरीले अन्य नामको पानी पनि उत्पादन गर्दै आएको बताए । कम्पनीलाई फोहोर फेला परेको पानीको बोतलको फोटोसमेत पठाए पनि कुनै प्रत्युत्तर नदिएकाले पनि बाध्य भएर मिडियामा आएको बताए ।
पानी उत्पादक कम्पनी दिव्याश्वरी उद्योगका सञ्चालक दिनेश भट्टराईले पानी आधिकारिक आफ्नो कम्पनीको भए नभएको पुष्टि गर्नुपर्ने बताए । उनले भने, ‘खुट्टा तान्ने धेरै छन् । आधिकारिक हो, होइन । कतिपयले बदनाम गर्न बल्लाको बोतलमा, अर्कै कम्पनीको पानी सिलप्याक गरेर पनि दिन्छन् ।’ उनले ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा फोटोबाट पनि आधिकारिक पानी भए÷नभएको चिन्न सक्ने बताएपछि वाट्सएपमार्फत् फोटो पठाएपश्चात् कुनै प्रतिक्रिया दिएनन् । बजारमा यस्ता पिउन अयोग्य पानी बिक्री भइरहे पनि नियामक निकाय भने बेखबर छन् । बजारको अनुगमन गर्ने अधिकार धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई छ ।
इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेले सरोकारवाला निकायसँग समन्वय गरेर अनुगमन गर्ने बताए । ‘पिउन अयोग्य पानी बिक्री गरेको भए कानूनी रूपमा दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्छौँ’ उनले भने, ‘पटक–पटक भेटिएमा उद्योग नै बन्द गर्न पनि सक्छौँ ।’ त्यसका लागि सम्बन्धित अन्य निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ । यता धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत बेदप्रकाश सापकोटाले उत्पादनस्थलका आधारमा इटहरी उपमहानगरपालिकासँग पानीको विषयमा समन्वय गर्दै जिल्ला प्रशासनलाई पनि सूचित गरिने बताए ।