- निर्दोषलाई कारागार चलान गरेको भन्दै न्यायको माग
- घटनामा परिवार गुमाएका भन्छन्ः मान्छे मरिसक्यो अब न्याय मर्नु हुँदैन
हत्या आरोपमा २२ वर्षपछि निर्दोष व्यक्तिलाई कारागार चलान गरेको भन्दै धरान ६ स्थित पानमाराका एक परिवारले न्यायको माग गरेका छन् ।
हत्या आरोपमा फरार भएका व्यक्तिसँग थर मिलेको आरोपमा सोही व्यक्ति नै फरार हत्यारा भएको जनप्रतिनिधिले नै प्रमाणित गरिदिएको भन्दै फुलकुमारी सार्कीले न्यायका लागि अपील गरेकी छन् । मंगलबार धरान ६ स्थित वडा कार्यालयमा स्थानीयहरु भेला भएर वडाध्यक्ष भूपेन्द्र भट्टराईलाई न्यायका लागि ध्यानाकर्षण गराइएको छ ।
हत्या घटनामा असंलग्न व्यक्तिलाई २२ वर्षपछि पक्राउ गरी कारागार चलान गरेको भन्दै पीडित परिवारले न्याय दिलाइदिन माग गरेका हुन् । जेल चलान गरिएका लाखबहादुर सार्कीकी श्रीमती फूलकुमारी सार्कीले श्रीमान्लाई पक्राउ गरी जेल चलान गरेपछि परिवारमा विपत्ति आइलागेको बताइन् ।
मंगलबार वडाध्यक्षको ध्यानाकर्षण गराउने कार्यक्रमसँगै धरान ६ स्थित वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा फुलकुमारीले पीडा पोखिन् । उनले गत असार १९ गते मंगलबार साँझतिर प्रहरीले केही सोधपुछ गर्नुछ भनी आफ्ना श्रीमान्लाई पक्राउ गरेको र पक्राउ गरेको केही दिन नबित्दै कारागार चलान गरेको बताइन् ।
श्रीमान्लाई प्रहरीले पक्राउ गरी कारागार चलान गरिदिएपछि उनले चिनेजानेका छिमेकीलाई हारगुहार गर्न पुगिन् । हारगुहार गर्ने क्रममा गत असार २१ गते जनता समाजवादी पार्टीको शिल्पी/दलित विशेष समितिको कार्यालयमा आफ्नो पीडा सुनाएकी थिइन् ।
फुलकुमारीले पार्टीलाई लिखित निवेदन दिएपछि आज मंगलबार पार्टीको शिल्पी/दलित विशेष समितिले धरान ६ का वडाध्यक्षलाई घटनाबारे ध्यानाकर्षण गराउँदै पीडित भनिएकाको न्यायका लागि पहल गरिदिन आग्रह गरेको छ ।
समितिले वडा कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलनमा पानवारीका स्थानीयको ठूलो सङ्ख्यामा भेला भएको थियो । जुत्तासमेत राम्रो लगाउन नजान्ने खाली खुट्टा हिंड्ने निर्दोष व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको पीडित भनिएकाका छिमेकीले आपत्ति जनाएका थिए । स्थानीय सुरेन मुदेलले झुठो मुद्दामा सोझा र इमान्दार व्यक्तिलाई फसाएको बताए ।
पीडित भनिएकी फुलकुमारी सार्कीले परिवारलाई न्याय दिलाइदिन पत्रकार सम्मेलनमा आग्रह गरेकी छन् । उनले दिएको निवेदनमा साविक पाँचकन्या २ पानमारा हाल धरान उपमहानगरपालिका वडा नम्बर ६ बस्ने सीता थापाद्वारा २०५८ सालमा दिएको जाहेरी अनुसार कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको भनिएका सोही स्थानकी माया सार्कीका श्रीमान ‘सार्की कान्छा’ भनिने लालबहादुर सार्की फरार रहेको र अन्य प्रतिपावादीहरु पक्राउ पछि कानुनबमोजिम कैद भुक्तान समेत पूरा गरी छुटकारा पाइसकेको अवस्थामा आफ्ना निर्दोष श्रीमान् लाखबहादुर सार्कीलाई ‘फरार लालबहादुर सार्की र लाखबहादुर एउटै व्यक्ति हो’ भनी झुठो प्रमाण खडा गरी फसाइएको बताइन् ।
‘कर्तव्य ज्यान मुद्दामा प्रतिवादी फरार रहेको भनिएका माया सार्कीका श्रीमान, सार्की कान्छा भनिने लालबहादुर सार्कीलाई पक्राउ गर्ने बहानामा २२ वर्षदेखि कहीँकतै नगई सोही स्थानमा रहेर सामाजिक र परिवारिक रूपमा सौहार्दपूर्ण, इमानदार कार्य गर्दै बसेका लाखबहादुर सार्कीलाई हाल आएर फसाउने षडयन्त्र गरेर पक्राउ गरी कारागार चलान गरेको प्रष्ट देखिन्छ ।’ जनता समाजवादी पार्टी नेपालको शिल्पी विशेष प्रदेश समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निवेदक फूलकुमारीलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा फरार रहेका भनिएका सार्की कान्छा भनिने लालबहादुर सार्कीसँग कुनै पनि विवरण मिलेको नदेखिने, घटनाको मुचुल्का तथा कागजात अनुसार अभियुक्तको नाम सार्की कान्छा भनिने लालबहादुर सार्की र उनको श्रीमतिको नाम माया सार्की रहेको देखिने तर पक्राउ गरिएका निर्दोष व्यक्तिको नाम लाखबहादुर सार्की र निजको श्रीमतीको नाम फूलकुमारी सार्की रहेको उल्लेख छ ।
लाखबहादुरलाई फसाउने षडयन्त्रमा वादी सीता थापा, प्रहरी प्रशासन, तत्कालीन पाँचकन्या गाविस २ का वडाध्यक्ष विश्वराज कार्की, हाल धरान उपमहानगरपालिका ६ नं. वडा समितिका सदस्यहरु राजेन्द्र न्यौपाने र नारायण निरौला रहेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जनप्रतिनिधिले लाखबहादुर सार्की नै अभियुक्त लालबहादुर सार्की हुन् भनी प्रमाणित गरेको आरोप लागेको छ ।
जनप्रतिनिधिहरुलाई सत्ता र शक्तिको दुरुपयोग गरी कहीँकतै नमिल्ने कागजातलाई समेत मिलाई झुठो प्रमाणित गरी प्रहरीको जिम्मा लगाई कारागार चलान गर्न सहयोग गरेको आरोप छ ।
जसपाको शिल्पी विशेष समितिले अन्याय, अत्याचार, दमन, विभेद, बहिष्कार र बहिष्करणमा परेका र पारिएका निमुखा लाखबहादुर सार्की र उनको परिवारको न्याय र अधिकारका लागि धरान ६ नम्बर वडा कार्यालयलाई सरोकारवाला सबैलाई बोलाई न्यायका लागि छलफल गराउन आग्रह गरेको छ ।
छलफल बोलाउनका लागि शिल्पी विशेष समितिले वडा कार्यालयलाई १५ दिने अल्टिमेटम दिएको छ । अन्यथा संघर्षका चरणबद्ध कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ । समितिका अध्यक्ष नरेश विश्वकर्माद्वारा जारी विज्ञप्तिमा यो घटना सोझासिधा जनतालाई फसाउने र फसाउँदै आएको शृङ्खलाको पराकाष्टा भएको उल्लेख छ । समितिले घटनालाई सुनियोजित षडयन्त्र भएको ठहर समेत गरेको छ ।
निर्दोष व्यक्ति फस्नु भएन– वडाध्यक्ष भूपेन्द्र भट्टराई
धरान ६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले जसपाको शिल्पी विशेष समितिको ध्यानाकर्षण पत्र बुझ्दै निर्दोष व्यक्ति फस्न नहुने बताएका छन् ।
‘दोषी जो छन्, उसलाई हामी नछोडौं । निर्दोष व्यक्ति फस्नु भएन । यो २२ वर्ष अघि घटेको घटना हो । हामी पनि राम्ररी चाल पाउँदैनौं । के भएको सत्यतथ्य ? उहाँ निर्दोष व्यक्ति हुनुहुन्छ भने ६ नम्बर वडा हामी आफ्नै बलले न्याय दिलाउने पक्षमा छौं ।’ ध्यानाकर्षण पत्र बुझ्दै भट्टराईले भने, ‘कुनै पनि जनप्रतिनिधिले मरेको छ भने, झुण्डिएको छ भने अनिवार्य रुपमा साक्षी बस्नुपर्छ । वडासदस्यको यसमा केही पनि दोष छैन । किनकि जबरजस्ती पुलिस प्रशासनले सही गर्न लगाएको छ । मलाई बोलाएको ठाउँमा उहाँहरु (वडासदस्यहरु) जानु भयो ।’
वडाध्यक्ष भट्टराईले निर्दोष व्यक्तिलाई पक्राउ गरेको सन्दर्भमा आफू र वडाले पूर्ण रुपले साथ दिने बताए । ‘यो वडाकार्यालय र जनप्रतिनिधिले गल्ती गरे भनेर जानुभन्दा पनि अब हाम्रो व्यक्तिलाई कसरी छुटाउन सकिन्छ त भनेर कसैलाई लाञ्छना नलगाई अबका दिनमा अगाडि बढ्नुपर्छ । तपाईंहरुलाई हाम्रो साथ सहयोग छ ।’ वडाध्यक्ष भट्टराईले भने ।
‘हामीले फसाएको होइन, रोहबरमा सही गरेको हो’– वडासदस्य
निर्दोष भनिएका व्यक्तिलाई फसाएको आरोप लागेका धरान ६ का वडासदस्य राजेन्द्र न्यौपानेले आफूले कुनै व्यक्तिलाई हो वा होइन भनी प्रमाणित नगरेको बताएका छन् । आफूले रोहवरमा मात्र हस्ताक्षर गरेको दाबी गरेका छन् ।
वडासदस्य न्यौपानेका अनुसार असार १९ गते बेलुका सात बजे मृतकका छोरा भुवनसिंह राईले वडाध्यक्षज्यूलाई पटकपटक फोन गरे । वडाध्यक्ष त्यस दिन वडा बाहिर रहेकाले भुवनसिंहले वडासदस्य न्यौपानेलाई फोन सम्पर्क गरे । वडासदस्य न्यौपानेसँगै अर्का वडासदस्य नारायण निरौलासमेत इलाका प्रहरी कार्यालय धरान पुगे ।
‘केस के हो, मलाई थाहा थिएन । त्यो केस भएको समय २०५८ सालमा म वैदेशिक रोजगारमा थिएँ । त्यो घटनासम्बन्धी मलाई केही पनि थाहा छैन । जो अहिले पक्राउ परेर जेल चलान हुनुभएको छ, उहाँलाई म राम्ररी पनि चिन्दिनँ । त्यही कुरा इलाका प्रहरी कार्यालयमा चल्यो,’ वडासदस्य न्यौपानेले भने, ‘त्यस घटनामा मृतकका छोरा र घटना घटेका समयका साविक पाँचकन्या २ नम्बर वडाका वडाध्यक्ष विश्वराज कार्कीसँग पनि मैले परामर्श गरें । पेपर के हो ? घटना के हो ? हामी कुरा बुझ्न चाहान्छौं । जनप्रतिनिधिले हरेक रोहवरमा सिग्नेचर गर्नुपर्छ भन्ने कुरा हामीले बुझेका छौं । विभिन्न घटनामा पनि हामीले रोहवरमा सिग्नेचर गर्दै आएका छौं । घटनाका बारेमा हामीले केही बुझेका छैनौं । सिग्नेचर नगर्ने भनेर इलाका प्रहरी कार्यालयबाट निस्केर आइसकेपछि फेरि पटकपटक त्यहाँबाट फोन आयो ।’
वडासदस्य न्यौपानेका अनुसार पटकपटक फोन आएपछि उनीहरु पुनः इलाका प्रहरी कार्यालय पुगे । घटना घटेको विषयमा जनप्रतिनिधिको हैसियतले रोहवरमा हस्ताक्षर गर्नुपर्छ भनिएपछि वडासदस्यहरुले ‘हाम्रो दायित्व हो’ भन्ने सम्झेर हस्ताक्षर गरे ।
प्रहरीलाई घटनाको अनुसन्धान गर्नदिनुपर्छ भन्ने सम्झेर रोहवरमा सिग्नेचर गरेको वडासदस्य न्यौपानेले बताए । उनी भन्छन्, ‘घटनासम्बन्धी हामी जानकार पनि थिएनौं । तत्कालीन अध्यक्ष, साक्षीमा बस्ने व्यक्तिहरुले प्रस्तुत गरेको ‘पेपर’मा हामी जनप्रतिनिधि भएको हैसियतले अनुसन्धान अघि बढ्छ भनेर रोहवरमा सिग्नेचर गरेको हो ।’
वडासदस्य न्यौपानेले धरान उपमहानगरपालिकाका उपप्रमुखसँग समन्वय गरेर इलाका प्रहरी कार्यालय धरानका डिएसपीसँग समय माग गरेको बताए ।
‘पीडित र हामी जनप्रतिनिधि बसेर डिएसपी साबलाई पनि मैले यस विषयमा प्रश्न सोधेको छु । यदि अनुसन्धानमात्रै गर्ने भनेको हो भने कुन आधारले व्यक्तिलाई पक्राउ गरेर ल्याउनु भयो ? र, जनप्रतिनिधिलाई रोहवरमा किन साइन गराउनु भयो ?’ वडासदस्य न्यौपानेले भने, ‘हामी दुई जनाले साइन गरेको अवस्थामा उहाँ पीडित पक्षले जनप्रतिनिधिका कारणले श्रीमान् जेलचलान भएको छ भनेर भन्नु भएको छ । यसमा हामीलाई पनि चित्त दुखेको छ ।’
यदि पीडित भनिएको पक्षले गल्ती गरेको छैन भने वडा कार्यालय र जनप्रतिनिधिका हैसियतले जहाँ गएर पनि बोल्ने वडासदस्य न्यौपानेले बताए । उनले लेख्नु पर्ने कुरामा र हस्ताक्षर गर्नुपर्ने कुरामा पीडितको पक्षमा काम गर्न तयार रहेको बताए । उनले भने, ‘हामीले मात्र रोहवरमा साइन गरेको हौं ।’
‘के थियो घटना ?’
जानकारका अनुसार २०५८ साल कार्तिकमा साविक पाँचकन्या ३ की मुद्दाकी वादी सीता थापाका श्रीमान्लाई घरमा बसिरहेको अवस्थामा आई केही व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । गोली प्रहार गर्ने क्रममा उनका बच्चालाई समेत गोली लागेको थियो । गोली लागेका बच्चाको अस्पतालमा उपचारपछि गोली निकालिएको थियो । गोली चलेको हल्लापछि छिमेकी स्थानीय भुवनसिंह राईका पिता हेर्न आउने क्रममा उनलाई बन्दुकको कुन्दाले समेत हिर्काएर हत्या गरिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा तत्कालीन अञ्चल प्रहरी कार्यालयले कुकुरसहित गरेको प्रहरी अनुसन्धानमा हत्याराहरुलाई घरैबाट पक्राउ गरिएको थियो । पक्राउ परेका ६ जना जन्मकैद भुक्तान गरी रिहा भइसकेका छन् । २ जना फरार रहेकामा एक जनालाई हालै प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई घटनामा संलग्न कसुरवार व्यक्तिले दिएको बयानका आधारमा प्रमाण पु¥याएर प्रहरीले कारागार चलान गरेको बुझिएको छ ।
घटनामा संलग्न भएका र फरार रहेका भनिएका माया सार्कीका पति सार्की कान्छो भनिने लालबहादुर सार्कीलाई सुनसरी जिल्ला अदालतले २०५८ साल पुष २ गते म्यादपुर्जी जारी गरेको थियो ।
घटनाका विषयमा तत्कालीन वडाध्यक्ष विश्वराज कार्कीलाई मोबाइल फोनमा सम्पर्क गर्दा व्यस्त भएको ‘रिङटोन’ आएको थियो ।
घटनामा आफ्ना पीता गुमाएका भुवनसिंह राईले आफू वैदेशिक रोजगारीमा हुँदाको घटना भएको बताए । उनले आफू स्वयम् नै पीडामा परेको र न्यायका लागि २२ वर्षसम्म पर्खिरहेको बताए ।
‘न्याय मर्दैन, मर्नुहुँदैन’
घटनामा आफ्ना पिता घरमुली गुमाएका भुवनसिंह राईले न्याय कसैका लागि पनि मर्न नहुने बताएका छन् । घटनाका बारेमा संवाददाताले प्रश्न गर्दा उनले पक्राउ परेका व्यक्तिलाई सप्रमाण सिआईबीले पक्राउ गरेकाले उनीहरुले अदालतबाटै निसाफ खोज्नु पर्ने बताउँछन् । पत्रकार सम्मेलन गरेर उन्मुक्ति नपाउने उनको भनाइ छ । संवाददाताले घटनाबारे बुझ्न उनलाई फोन सम्पर्क गरेको थियो । संवाददातासँग उनले घटनाबारे राखेको भनाइ यहाँ प्रस्तुत गरिएको छ ।
– मेरो बुवाको हत्या भएको सन् २००१ मा । यो केस म बाहिर (वैदेशिक रोजगारमा) हुँदा भएको हो । पहिला ब्लाष्टले नै प्रकाशित गरेको थियो घटना बारे । रियल कुरो चाहिं के हो भने, जम्मा ६ जना अपराधिहरु पक्राउ परे ।
पक्राउ पर्ने व्यक्तिले हत्याको घटनामा बन्दुक, खुकुरीहरुको प्रयोग गरेका थिए । ६ जनाले बयान दिएका छन् । दोषारोपण गरेको आधारमा फरार रहेका दुईजनामाथि पक्राउपुर्जी जारी भएको हो ।
पत्रकारहरुलाई म सोध्न चाहान्छु, अपराध गरेर पत्रकार सम्मेलन गर्दाखेरि उन्मूक्ति पाइन्छ कि ? कानुनबमोजिम सफाइतिर जानुपर्छ ?
उहाँहरुले सफाइ त अदालतबाट पाउने हो नि । आज ४ वर्ष भयो म बाहिरबाट आएको । उहाँहरुलाई त मात्र पक्राउ गरिएको छ । एउटा अपराधि भनेर पक्राउ गरिएको छ । खरानी त बनाएको छैन नि । मेरो बुवालाई त खरानी नै बनाइदिनु भयो । मेरो भाइबहिनी कस्ता थिए ? मेरो अवस्था कस्तो थियो ? तीन महिनामात्र भएको थियो म बाहिर गएको ।
पत्रकार सम्मेलन कसरी गर्नु भयो ? त्यो उहाँको अधिकार हो । तर न्याय पाउने कुरामा दलित भनेर वा अन्य केही भनेर हिंड्नु भन्दा पनि मानव भइसकेपछि मानवको अधिकार पाउनुपर्छ भनेर मैले फाइल खोल्न लगाएको हो । उहाँँहरुले (सिआईबी) अनुसन्धान गर्नुभयो । सबै प्रमाण पु¥याएर पक्राउ गरेर लानु भएको हो । हत्या आरोपमा पक्राउ परेकाहरुले अदालतबाट मात्रै सफाइ पाउनसक्छन् ।
मैले प्रष्ट भन्दाखेरी मैले न्याय पाउनुपर्छ । पाउनुपर्छ कि पर्दैन ? मेरो बुवा भनेको घरको मुली हुनुहुन्थ्यो । उहाँलाई ध्वस्त बनाइयो । खरानी बनाइदिनु भयो । मान्छे मरिसक्यो । मैले आफूले न्याय पाउनका लागि पनि त्यतिबेला गाडी रिजर्भ गरेर, एउटा चुरोट, एउटा खैनीसम्म किनेर प्रमाणका लागि मान्छेहरु लानुपर्ने अवस्था थियो ।
म मलेसियामा त्यस्तो ठाउँमा परें, फर्किंदा ४२ हजार ऋण थियो । म खाली हात आएको मान्छे । भनेपछि म कति ध्वस्त भएँ होला । मेरो बुवा त गुमिगयो । म ऋणमा थिएँ, कसरी उठें होला ? कसरी बाँचिरहेको छु होला । त्यो पनि पत्रकारहरुले हेर्दिनु, लेख्दिनुपर्छ होला ।
पत्रकार सम्मेलनमा आउँछु भनेको थिएँ । डेङ्गीको बिरामी लिएर धरान गएको थिएँ । धरानबाट पनि विराटनगर जानुपर्ने भयो । त्यसकारण आउन सकिनँ ।
रियल कुरा चाहिं के हो भने मेरो बुवा बित्नु भएको हो । उहाँहरुले ध्वस्त बनाउनु भयो । पत्रकार सम्मेलन गर्नु भन्दा पनि मेरो आत्माले भनेको कुरा के हो भने– उहाँहरु अन्यायमा पर्नु भएको हो भने न्यायालय छ । न्याय र न्यायालय त कहिले पनि मर्दैन नि । जाति पनि हेर्दैन । धर्म पनि हेर्दैन । त्यहाँबाट सफाइ पाउँदा चाहिं राम्रो हुन्छ कि जस्तो लाग्छ ।
सबै प्रमाणका आधारमा उहाँलाई पक्राउ गरिएको हो । प्रमाणभन्दा बाहिर उहाँहरुले पुष्टि गर्नु भयो भने केही छैन । उहाँहरु निस्कन सक्नुहुन्छ । प्रुफ बोल्नु प¥यो नि । न्याय त कसैको लागि मर्दैन नि न्याय मर्नु हुँदैन । अनि जातित्व, निच जाति, उँचो जाति भन्ने कुरा होइन । म सबै जातिलाई उत्तिकै सम्मान गर्छु ।
नाम फरक परेको भनेर त्यहीँबाटै उन्मूक्ति पाउन खोज्नु भएको होला । पत्रकारहरुले राम्रोसँग अध्ययन गर्नुहोस् । मैले पढ्दा र मेरो आफन्तले समाचार पढ्दाखेरि तपाईंहरुप्रतिको विश्वास नगुमोस् । साँच्चै नै पत्रकार हुनुहुँदो रहेछ भन्ने होस् । म पत्रकारिता र न्यायलयको सदैव आश, भरोसा गर्ने मान्छे हो ।
मेरो बुवालाई यस्तो ग¥यो, म कुट्छु, मार्छु भन्दै कहिल्यै हिंडिनँ । अझै पनि न्यायालयप्रतिको मेरो आशा छ । विदेशबाट फर्केर आए पनि न्यायका लागि ढोका ढक्ढक्याएँ । सत्य कुरा बाहिर आउनुपर्छ भन्ने मलाई लाग्छ । तपाईंहरुले खोज्दै जाँदा सबै प्रमाण पाउनुहुन्छ । मैले देखेको उहाँहरुले (सिआईबीले) प्रमाण पु¥याएर पक्राउ गर्नुभएको छ ।
पत्रकार सम्मेलन गर्नेहरुले जनप्रतिनिधिलाई रातारात साइन गरेर पक्राउ गर्नुभयो भन्ने आरोप लगाउनु भएछ । जनप्रतिनिधिले साइन नगरेको भए पनि अपराध गर्नेहरुले जेल जानुपथ्र्यो । त्यति हो मैले मात्रै गर्दा पनि हुन्थ्यो । मैले जनप्रतिनिधिलाई तपाईंहरु सही गर्नु हुन्न भने नगर्नुस् भनेकै हो । उहाँहरु मात्र रोहवरमा बस्नु भएको हो ।
तपाईंले यो कुरा रेकर्ड गर्नुहोला । रेकर्ड गर्नु न । यदि उहाँहरु निर्दोष भएर मैले उहाँहरुलाई जेलमा जाकेको छु भनेदेखि उहाँको २० वर्ष होला । त्यसको सट्टा म बस्न तयार छु । उहाँलाई मैले फसाएको हो भनेदेखि म बस्छु २० वर्ष जेल । केही छैन । न्यायका लागि जो कोही पनि तयार हुनुपर्छ । गल्ती गरेको खण्डमा मर्न पनि तयार हुनुपर्छ ।
पत्रकार सम्मेलन गर्दैमा उन्मुक्ति पाइन्छ भन्ने लाग्दैन । सिआईबीले गरेको अनुसन्धान तपाईंहरुलाई कत्तिको विश्वास लाग्छ ? उहाँहरुले गर्नु भएको हो ।
मेरो रेकर्ड सुनाइदिनु होला । म मर्नका लागि तयार छु । तर, यो दुनियाँ राजनीतिक दबाव अनि राजनीतिक संस्कार जसको प्रभावले अपराध मौलाउँछ भनेदेखि यो कत्तिको उचित हुन्छ ? मैले मेरो बाउलाई गुमाएँ । अपराधि खुल्लम खुल्ला हिंड्छ भने यो कत्तिको न्याय हो ? यसो गर्न पाइन्छ कि पाइँदैन ? यस्तो खाल्को संस्कार विकास भयो भने के होला ? यस्तो संस्कार विकास भयो भने हामी चाहिं कसरी बाँच्ने ? यो उचित हो ?
मेरो बाउलाई खरानी बनायो । मेरो आमा ४२ वर्षको हुनुहुन्थ्यो त्यतिबेला । अहिलेसम्म विधुवा बस्नु भएको छ । त्यो आमालाई अरुले पनि हेर्दाखेरि आमा भनेर हेरुन् । ४२ वर्षदेखि विधुवा बसेर अहिलेसम्म त्यतिकै बाँच्दा कस्तो हुन्छ ? त्यसरी पनि हेर्नुपर्छ ।
अनि फसाइयो, यताउति भन्नु गलत हो । उहाँहरुले प्रक्रिया पु¥याएर, मिलाएर नागरिकता बनाउनु भएको हो । हाम्रो ‘बाउ’ कात्तिक २७ गते बित्नु भएको हो । उहाँहरुले घटना घटाउनु भएको हो । तपाईंहरुले त्यो रेकर्ड हेर्नू । उहाँहरुले घटना घटाइसकेपछि संलग्न जो व्यक्ति थ्यो, उहाँले दुई महिनापछि नागरिकता बनाउनु भएको छ लेटाङबाट ।
दोस्रो कुरा फसाउन खोजेको भन्ने चाहिं, प्रमाण पु¥याएर सिआईबीले पक्राउ गरेको हो । हामीले जबरजस्ती पक्राउ गरिदिनू भनेर भनेको होइन । अदालतको प्रमाण त मान्नु प¥यो नि होइन ? सबै प्रमाण देखाएर पक्राउ गरिएको छ । तपाईंहरु पनि माग्न सक्नुहुन्छ । तर पत्रकारहरुले कसरी छाप्नु हुन्छ ? त्यही हो मेरो भनाइ मलाई चाहिं न्याय चाहिएको हो । मैले बुझेको मिडिया निष्पक्ष हुन्छ ।
तपाईंहरुले इन्भेस्टिगेसन गर्न सक्नुहुन्छ । सबै प्रमाण सिआईबीसँग पनि छ । उहाँहरुले जानकारी दिनुहुन्छ । म पीडित हो । मलाई चाहिं सिर्फ न्याय चाहिएको हो । मेरो बुवालाई ध्वस्त बनाइएको छ । मेरो उमेर कस्तो थियो । मेरो आमाको उमेर कस्तो थियो । मेरो पारिवारिक पृष्ठभूमि कस्तो थियो ? कहाँ पुग्यो ? त्यो चाहिं तपाईंहरुले पनि हेर्नु होला, बुझ्नु होला । कस्तो दर्दनाक घटना थियो ? हेर्नुहोला । त्यस्तो घटना कम्तिमात्रै हुन्छ होला । त्यसरी मेरो बुवालाई सकिदिएको छ । अहिले उहाँहरु (पत्रकार सम्मेलन गर्नेहरु) ले न्याय खोज्नु ठीक होला । मैले अदालतबाट खोजेंँ । उहाँहरुले पनि त्यहीँबाट खोज्नुपर्छ होला ।
६ जना पक्राउ परेर जेलबाट निस्किसकेको छ । तपाईंले सिआईबीको अनुसन्धान पनि हेर्नु होला । टोटल्ली ‘गन’ चलाउने र हातहतियार चलाउने अहिले दुई जना फरार भनिएका व्यक्तिहरु नै हो । एक जना अझै बाँकी छ । एक जना पक्राउ परेको छ । अपराध प्रमाणित होला न होला । तर सबैभन्दा अपराधको ठूलो दोष चाहिं उहाँहरु माथि छ । राजनीतिक संरक्षण हुनुहुँदैन । राजनीतिक संरक्षण हुने गरी अपराधलाई बल पुग्ने गरी मिडियाले पनि कलम चलाउनु हुँदैन ।
‘प्रहरीको बायसनेस छैन’
- नवराज मल्ल, डिएसपी इलाका प्रहरी कार्यालय धरान
अदालतले त्यही मान्छे हो भनेर कारागारमा गइसकेका छ । बीसौं वर्ष कैद जरिमाना निर्धारण भएको मान्छे हो । ऊ हो भन्न पाउने अधिकार कसलाई ? भनेदेखि देख्ने, सुन्ने थाहा पाउने । थाहा पाउने भनेको प्रत्यक्षदर्शी । पहिलो, ऊ हो सनाखत गर्न पाउने । अब त्यो बेला देख्ने, हो भन्ने, थाहा पाउने भन्या छ । दोस्रो भनेको मृतकबाहेक अन्य खालको घटनामा पीडितले सनाखत गर्छ । पीडितभन्दा बाहेक पीडितको नजिकको आफन्तले दाबी गर्छ । हो, भनेर सनाखत गर्छ । मृतकको छोराले हो, भनेको छ । त्यो बेला वडाध्यक्ष रहनु भएका, अनि जसले चाहिं निजको म्याद तामेल गर्न जानु भएको छ, उहाँले गर्नुभएको छ ।
प्रहरीलाई निर्दोषलाई दोषी बनाउन जरुरी छैन । पुलिसले लगिदिने माध्यममात्र हो । पुलिसले लग्या बुझायो, हो भनेर । होइन भन्ने उहाँहरुको आधार, प्रमाण, कागज यदि केही छ भने .. । आजै पनि म इनरुवा गएको थिएँ । यही विषय त उठान भएन तर .. । श्रीमान्को इजलाशमा पहुँच पु¥यान सकिन्छ । प्रशासनिक एक्सेसमा पुग्न सकिन्छ । सरकारी वकिलको कार्यालयमार्फत् पनि जानसकिन्छ । होइन नै भने मानवअधिकार आयोगसमक्ष पनि जान सकिन्छ । यो विषय मकहाँ मेरो अफिसमा दुईचार दिन अघि आको हो । हो भन्ने छ । हो भनेर नै लग्याछ ।
अर्को कुरा जनप्रतिनिधिलाई रातिराति साइन गराइयो भन्ने कुरा पनि आको छ । राति चाहिं हामीले पीडितको सुरक्षा गर्नुपर्ने जिम्मेवारी पनि हुन्छ । हो भन्ने मान्छे मुख्य, त्यो बेला म्याद तामेल गर्ने, देख्ने, थाहा पाउने र पीडितको मान्छेले हो भनिसकेपछि प्रतिनिधि चाहिं रोहवरमा बस्नु भएको हो । कानुनबमोजिम रोहवरको आवश्यक्ता थिएन । तर जसले हो भन्नु भाको थ्यो उहाँले नै तपाईंहरु पनि बस्दिनु होला, मलाई अलिक सजिलो हुन्छ भन्ने हिसाबले बस्नु भएको हो भन्ने मैले बुझ्या छु । राति किन गर्यो भन्दाबाहेक पुलिसको केही पनि छैन । हामीभन्दा माथि (मुद्दा) पुग्या छ । हाम्रो उहाँप्रतिको कुनै बायसनेस केही छैन ।